खाली पोस्टमा गोल गरी २–२ को बराबरी गर्ने इङ्ल्यान्डको प्रयास यसरी भयो असफल
मस्को : २८ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको इङ्ल्यान्ड बुधबार भएको खेलमा क्रोएसियासँग अतिरिक्त समयमा २–१ गोलले पराजित हुँदै उपाधि होडबाट बाहिरियो । इङ्ल्यान्डले अब तेस्रो स्थानका लागि बेल्जियमसँग खेल्नेछ । क्रोएसियाविरुद्धको सेमिफाइनल खेलमा पराजय टार्न इङ्ल्यान्डले एउटा गजबको प्रयास गरेको थियो ।
खेल सुरु भएको पाँच मिनेटमै अग्रता बनाएको इङ्ल्यान्डले दोस्रो हाफमा बराबरी गोल खायो । त्यसपछि १०९औं मिनेटमा इङ्ल्यान्डले अर्को गोल खाएको थियो । खेलमा आफ्नो टोलीलाई पराजयबाट टार्न इङ्ल्यान्डका खेलाडीले एउटा गजबको प्रयास गरे पनि त्यसमा सफलता भने हात पार्न सकेनन् । जारी विश्वकपमा एउटा नयाँ नियम लागू गरिएको छ । उक्त नियमअनुसार, गोल गरेपछि खुसीयाली मनाउने क्रममा कुनै टोलीका सबै खेलाडी मैदान बाहिर रहेको अवस्थामा अर्काे टोलीले खेल पुनः सुरु गरी बल अघि बढाउँदै खाली पोस्टमा गोल गर्न पाउँछ ।
यसका लागि दुुईवटा कुरा हुन जरुरी छ, पहिलो विपक्षी टोलीका सबै खेलाडी मैदान बाहिर हुनुपर्छ र त्यो अवस्थामा बल अघि बढाएको जानकारी रेफ्रीलाई हुनुपर्छ ।
इङ्ल्यान्डका खेलाडीले बुधबारको सेमिफाइनलमा दोस्रो गोल खाएपछि त्यस्तो प्रयास पनि गरेका थिए । इङ्ल्यान्डका खेलाडीले गरेको त्यो प्रयासलाई प्रत्यक्ष प्रसारण भइरहेको टेलिभिजनमा त देखाइएन तर, रंगशालामा रहेका समर्थकले मोबाइलबाट खिचेको भिडियोमा त्यो दृश्य देखिएको छ ।
क्रोएसियाका खेलाडीहरू मारियो मान्जुकिचको गोलको खुसीयाली मनाउन मैदान बाहिर रहेको अवस्थामा इङ्ल्यान्डका तीनजना खेलाडी खेल पुनः सुरु गर्दै मैदानको मध्य भागबाट बल लिएर अघि बढेको उक्त भिडियोमा देखिन्छ । इङ्ल्यान्डका खेलाडी बल अघि बढाउँदै क्रोएसियाको डीबक्स नजिक पुगेपछि भने टर्किस रेफ्री कुनिट काकिरले इङ्ल्यान्डका खेलाडीलाई रोकेका छन् ।
यसमा नियमअनुसार इङ्ल्यान्डका खेलाडीले दुईवटै कुरा पुरा गरेको देखिँदैन । पहिलो कुरा उनीहरूले रेफ्री काकिरको जानकारीबिना नै बल अघि बढाएको देखिन्छ । यसैगरी अन्य खेलाडी खुसी मनाउने क्रममा मैदानबाट बाहिर रहे पनि क्रोएसियाका गोलरक्षक ड्यानियल सुबासिच भने आफ्नै पोस्टमा देखिन्छन् । यदि गोलरक्षक सुबासिच पनि मैदान बाहिर रहेको र इङ्ल्यान्डका खेलाडीले बल अगाडि बढाएको जानकारी पनि रेफ्री कुकिरलाई भएको भए इङ्ल्यान्डले लगत्तै खेल २–२ को बराबरीमा ल्याउने पक्का थियो ।
यसरी गोल गर्न खोजेका थिए इङ्ल्यान्डका खेलाडीले (भिडियो)