विश्वकप : 'महिलामाथि धेर आँखा नलगाऊ'
मस्को : विश्वकप फुटबल सुरु हुनुअघि खेलाडीमाथि हुने रंगभेदी दुर्व्यवहारका घटनामा विशेष सतर्कता अनपाउन आयोजक रुसलाई आग्रह गरिएको थियो। त्यतिबेला विश्वकप तयारीमा रहेका देशका खेलाडीमाथि रुसमा रंगभेदी व्यवहार गरिएको गुनासो पनि व्यापक थियो। अभ्यास खेलका क्रममा कतिपय देशका खेलाडी र समर्थकले प्रतिपक्षी खेलाडीमाथि रंगभेदी दुर्व्यवहार गरेको भन्दै विश्व फुटबल महासंघ (फिफा) ले कतिपय राष्ट्र फुटबल संघलाई जरिबाना पनि तिराएको थियो।
समग्रमा रुस विश्वकपमा रंगभेदको विषय उत्कर्षमा पुग्ने र त्यसलाई समाधान गर्न आयोजकसँगै फिफालाई पनि हम्मेहम्मे पर्ने अनुमान गरिएको थियो। तर, फिफा र आयोजकले आकलन गरेजस्तो रुस विश्वकपका क्रममा रंगभेदका घटना खासै सतहमा आएनन्। त्यसको विपरीत महिला दर्शक र समर्थकमाथि यौन दुर्व्यवहार गरिएका घटनाले भने जारी विश्वकपमा निकै चर्चा पायो।
जारी विश्वकपमा महिलामाथि दुर्व्यवहारका घटना बढेको ठहर फिफाअन्तर्गत रहेको भेदभावविरुद्ध सल्लाहकार समितिले पनि गरेको छ। ‘विश्वकपका क्रममा अधिकांश पुरुष समर्थक र ब्रोडकास्ट च्यानलहरूले महिलामाथि अस्वाभाविक क्रियाकलाप गरिरहेका छन्। रंगशाला र सडकमा मात्र ३० जना महिलामाथि यौन दुर्व्यवहारका घटना भएका छन्। समर्थकले महिलालाई हेप्ने र यौनजन्य क्रियाकलाप गर्ने गरेको पाइएको छ। टेलिभिजन च्यानलले पनि आकर्षक महिलालाई फोकस गर्दै बारम्बार तस्बिर खिच्ने र उनीहरूलाई मात्र देखाउने काम गरिरहेका छन्,’ समितिका संयोजक फेड्रिको अडैचीले भने।
फिफाले यस विषयमा रुसको राष्ट्रिय ब्रोडकास्ट र टेलिभिजन टोलीसँग छलफल गर्ने तयारी गरिरहेको जानकारी पनि फेड्रिकोले दिए। महिला दुर्व्यवहारको घटना मौलाउँदै जाँदा रुसको फुटबल मात्र नभई अन्य युरोपियन मुलुकलाई समेत पिरोल्नेमा सजक हुनुपर्ने फिफाको ठहर छ। फिफाले विश्वकपमा महिला सञ्चारकर्मीमाथि समेत दुर्व्यवहार बढेको उल्लेख गरेको छ। कतिपय मिडियाले सन्दर्भभन्दा बाहिर गएर रुसी महिलालाई लक्षित गरी लगातार कार्यक्रम बनाइरहेको पनि फिफाले जनाएको छ।
विश्वकपमा संसारभरका दर्शक आउने भएकाले पनि उनीहरूको स्वभाव र लक्ष्य थाहा पाउन आयोजकलाई गाह्रो छ। विश्वकपकै क्रममा सर्विया, रुस र पोल्यान्डका समर्थकले रंगभेदलाई प्रोत्साहन गर्ने खालको ब्यानर देखाएका कारण फिफाले १० हजार स्विस फ्याङ्क जरिबाना पनि गरेको थियो। फिफाका अनुसार सन् २०१४ को ब्राजिल विश्वकपमा पनि महिलामाथि दुर्व्यवहार र रंगभेदका घटना भएका थिए। त्यतिबेलैदेखि नै फिफा यस विषयमा चनाखो बन्दै आएको छ। यसपटक महिलामाथिको दुर्व्यवहार निकै बढेकाले आफूहरू सजग भएको फिफाले जनाएको छ। आगामी दिनमा आयोजकलाई समेत यस विषयमा थप जिम्मेवार बनाइने फिफाको दाबी छ।
यसैगरी जारी विश्वकप उत्तरार्धतर्फ बढिरहँदा रंगशालामा मिडिया र दर्शकको चाप पनि बढ्दै गएको छ। तर, मिडिया र समर्थकको ध्यान फुटबल र खेलाडीको प्रदर्शनभन्दा पनि सुन्दरी महिला समर्थकमाथि बढी गएको देखिन्छ। ब्रोडकास्ट च्यानलहरूले क्यामराको जुम तन्काउँदै सुन्दरी महिलाको फोटो र भिडियो खिच्ने र त्यसलाई बारम्बार देखाउने क्रम बढेपछि फिफाले त्यसो नगर्न सचेत गराएको छ।
‘नाम चलेका च्यानलले समेत युवती र सुन्दरी महिला समर्थकको फोटो र भिडियो खिच्ने क्रम बढेको छ। खेललाई छाडेर यस्तो कुरामा ध्यान केन्द्रित गर्नु गलत परम्परा हो’, फिफाले भनेको छ, ‘फ्रोटोग्राफी एजेन्सी गेट्टी इमेजले पनि लगातार युवती र सुन्दर महिला समर्थकको फोटो फिचर दिइरहेको छ। त्यसैले हामीले युवती र सुन्दरी महिला समर्थकमाथि आँखा नलगाउन र धेरै फोटो नखिच्न सार्वजनिक अनुरोध गर्नु परेको हो।’