‘मेरो प्यारो रामेछाप’ को भिडियो
काठमाडौं : रामेछापको विविध पक्ष समावेश गरेर निर्माण गरिएको मेरो प्यारो रामेछाप बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । रामेछापको ऐतिहासिक, सांस्कृतिक धार्मिक एवं गाउँ ठाउँ समावेश गरेर निर्माण गरिएको गीत र सोही गीतको भिडियो बुधबार सार्वजनिक गरिएको हो । रामेछाप लिखु तामाकोसी गाउँपालिका १ दुरागाउँ निवासी चम्पक गुरुङ र विकास गुरुङले रामेछापको आठवटै स्थानीय तहलाई समावेश गरी गीत निर्माण गरेका हुन् । चम्पक गुरुङले लेखेको गीतमा फूलकुमार बम्जनको संगीत रहेको छ भने स्वरुपराज आचार्य र जुनु रिजालले स्वर दिएका छन् ।
भिडियोमा विकास गुरुङ र नम्रता सापकोटाको अभिनय छ । रामेछापका प्रतिनिधिसभा सदस्य श्यामकुमार श्रेष्ठले गीत र म्युजिक भिडियोले रामेछापको प्रचार प्रसारमा ठूलो योगदान पुग्ने बताए । उक्त कार्यक्रममा पूर्वसभासदद्वय लक्ष्मी गुरुङ, आङटावा शेर्पा, युवा संघका केन्द्रीय सदस्य जय गुरुङ, रामेछाप नगरपालिका ८ का वडाअध्यक्ष केदार कार्कीलगायतको सहभागिता थियो ।