रोहिंज्या शरणार्थीलाई सहयोग गर्न आह्वान
कोक्स बजार : संयुक्त राष्ट्रसंघका महासचिव एन्तोनियो गुतेरेसले विस्थापन हुनु मानिसको बाध्यता भएको भन्दै अप्ठेरोमा परेका नागरिकलाई आवश्यक सहयोग गर्न आग्रह गरेका छन्। रोहिंज्या शरणार्थीको अवस्था निकै दयनीय रहेको भन्दै उनीहरूलाई आधारभूत आवश्यकता परिपूर्तिका लागि उनले आर्थिक सहयोग आवश्यक रहेको बताएका छन्। उनले उनले एक अर्ब अमेरिकी डलर सहयोग प्राप्त हुँदा पनि त्यो रकम अपर्याप्त रहेको भन्दै ठूलो रकम आर्थिक सहायताका लागि आग्रह गरेका हुन्।
हालका लागि एक अर्ब अमेरिकी डलरले पनि त्यहाँको समस्याको २६ प्रतिशत मात्र हल हुने गुतेरेसको भनाइ छ। उनले भने, ‘निकै दह्रो मुटु बनाएर मात्र यो शरणार्थी शिविर भ्रमण गर्नुपर्छ, उनीहरूको अवस्था अत्यन्तै दयनीय छ।’
उनले म्यान्माका यी शरणार्थीलाई आतिथ्य प्रदान गरेकोमा बंगलादेश सरकारलाई भने धन्यवाद ज्ञापन गरे। राष्ट्रसंघीय मुख्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा उनले यस्तो आग्रह गरेका हुन्। गुतेरेसले ती शरणार्थीले खाना, आवास र शुद्ध खानेपानीजस्तो आधारभूत आवश्यकता पनि नपाउनु अत्यन्तै दुःखद भएको बताएका छन्। म्यान्माको सेनाबाट गत वर्षको अगस्त महिनादेखि नै त्यहाँका अल्पसंख्यक रोहिंज्या मुसलमानमाथि भएको आक्रमणमा सात लाखभन्दा बढी रोहिंज्या मुस्लिम भागेर बंगलादेश पुगेका थिए।
म्यान्माको रखाइन राज्यमा रहेका अति अल्पसंख्यक हिन्दु धर्मावलम्बीको रोहिंज्या मुस्लिमले नरसंहार गरेका थिए। कैयौं गाउँका हिन्दु बस्ती उनीहरूले उजाड पारेका थिए। गत अगस्तमा सशस्त्र रोहिंज्याले सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि म्यान्माको सेनाले भीषण कारबाही शुरु गरेको थियो। सेनाको आक्रमणपछि उनीहरू बंगलादेशतर्फ पलायन भएका थिए। त्यसपछि विश्वको ध्यान रोहिंज्याप्रति आकर्षित भएको हो।
बंगलादेशमा शरणार्थीको रूपमा रहेका उनीहरूलाई घर फर्काउने बारेमा अझै पनि उचित पहल हुन सकिरहेको छैन। उता बंगलादेशमा पनि उनीहरूको अवस्थामा सुधार आउन सकेको छैन। म्यान्माको सरकारले मानवाधिकारको ठाडै उल्लंघन गरेको अधिकारवादी र राष्ट्रसंघकै पनि दाबी रही आएको छ। म्यान्मामा जातीय तथा धार्मिक अल्पसंख्यक रोहिंज्या मुसलमानविरुद्धको हिंसा, दमन र भेदभाव नहटेकोप्रति विश्व समुदायले नै समय समयमा म्यान्मार सरकारको विरोध गरी आएको छ।
यस्ता गतिविधि गर्ने व्यक्ति, समुदाय र संघ संस्थालाई कानुनी कारबाहीको दायरामा ल्याउन म्यान्मा सरकारले कुनै कदम पनि नचालेको विश्व समुदायको भनाइ छ। रोहिंज्या शरणार्थीलाई सुरक्षित, स्वेच्छिक र सम्मानजनक रूपमा स्वदेश फर्काउने बारेमा म्यान्मा र बंगलादेशका सरकारी अधिकारीबीच समय समयमा छलफल हुने गरेको छ। तैपनि यस्तो छलफल कुनै टुंगोमा पुग्न सकेको छैन।
नक्कली भिसावाहक ५ हिरासतमा
नक्कली राहदानी र भिसा बनाएर भारत प्रवेश गर्न खोजेका ५ रोहिंज्या युवक पक्राउ परेका छन्। उनीहरूलाई बंगलादेशको सीमा चौकीले हिरासतमा लिएको छ। ढाका ट्रिब्यूनका अनुसार शुक्रबार ती युवकहरूलाई दरशना सीमा चौकीमा नियन्त्रणमा लिइएको थियो। उनीहरूका कागजात र भनाइमा शंका लागेपछि अध्यागमनले उनीहरूलाई प्रहरीको जिम्मा लगाएको थियो। रोहिंज्या युवकले बंगलादेशका नागरिकको राहदानी लिएर यस्तै अवैध काम गर्ने गरेका छन्। उनीहरू बंगलादेशबाट भारत जाने गरेका छन्। कैयौं रोहिंज्या भारतीय सीमा पार गरेर नेपाल छिर्ने गरेका छन्। नेपाल र भारतबीचको खुला सिमानाको फाइदा उठाउँदै उनीहरू नेपालको राजधानी काठमाडौंमा पनि बसोवास गर्न थालेका छन्।