सुनुवारका मौलिक खाना
आदिवासी जनजाति मध्येका एक कोइँच अर्थात् सुनुवार जाति नेपालको पूर्वी पहाडी जिल्लामा बसोबास गर्छन्। किरात धर्म मान्ने यो जातिका विभिन्न पर्वमा खाने खानाको परिकार पनि मौलिक छ।
श्याम सुनुवारले लामो समयदेखि सुनुवारी खानाको परिकार बनाएर बेच्दै आएका छन्। ललितपुरको ताल्चिखेलमा सुनुवारको सेकुवाघर छ। उनले बंगुरको सेकुवा बनाउनुका साथै सुनुवारी खानालाई पनि पहिचान दिन खोजेका छन्। उनी भन्छन्, ‘जातीय पहिचान जोगाउन खानेकुराको पहिचान पनि जोगाउनुपर्छ।’
सुनुवारी परिकार थुप्रै छन्। यिनमा गोर्माली, ऐरी, बटुक, दरौलाजस्ता खानेकुरा पर्छन्। यी खानेकुरा विभिन्न चाडपर्व र विशेष समारोहमा बनाइन्छ।
गोर्माली÷दूध रोटी
चामल र गहुँको रोटी यो परिकारमा पर्छन्। सुनुवारहरूले उभौली पर्व र माघेसंक्रान्तिमा खाने परिकार हो गोर्माली। यो परिकार बनाउने तरिका अलि फरक छ। चामल आधा पाकेपछि गहुँको पीठो डल्लो बनाएर त्यसलाई तोड्काभित्र पसाएर फरक स्वादमा गोर्माली परिकार बनाइन्छ।
प्लेयत÷ऐरी
खस भाषाबाट ऐरी र सुनुवार भाषामा प्लेयत भनिने परिकार गहुँबाट बन्छ। सुनुवारहरू साउने संक्रान्तिमा यो परिकार खान्छन्।
बटुक
बटुक फापरको पीठोले बनाइन्छ। फापरको सुक्खा पीठो पोलेर या भुटेर बटुक खान सकिन्छ।
दरौला
दरौला मिठाई फापरबाट बनेको तीनतले रोटी हो। यो साउने संक्रान्तिमा खाइन्छ। यसलाई तरकारीको झोलसँग चोपेर खान सकिन्छ।
चाम्रे
चाम्रे अर्थात् पहेँलो भात। भातलाई बेसार दलेर घिउमा भुटेपछि चाम्रे बन्छ। यो भातलाई बेसार दलेर पहेँलो बनाउनुको कारण भने भूतप्रेत, पिचास नलागोस् भन्ने हुँदो रहेछ सुनुवार जातिमा। सुनुवारहरूले विभिन्न चाडपर्वमा यो परिकार बनाउँछन्।
भुजुरी अचार
लेकतिर पाइने गान्टे मुलालाई कोरेसोले भुजुरी बनाएर यो अचार बनाइन्छ। मावलीमा र सासूससुरालाई कोसेली पठाउन सुनुवारहरू यो परिकार बनाउँछन्। यसलाई पनि बेसार लगाएर पहेँलो बनाइन्छ।
रेब काल्सो
रेब काल्सो अर्थात् आलुको साँधेको अचार। आलु उसिनेर साँधेपछि रेब काल्सो तयार हुन्छ।
गुन्द्रुक अचार
गुन्दु्रकमा तेल, नुन र मसला हाली साँधेर यो परिकार बनाइन्छ।
पो से वाल्सो
पो अर्थात् बंगुरको मासुको परिकार। यसका धेरै परिकार बन्न सक्छन्। यसलाई साँधेर, पोलेर र पकाएर खान सकिन्छ। पूजाआजा गर्दा, बिहे व्रतबन्ध आदिमा यो परिकार बनाएर खाइन्छ।
अवाँ फ्राँ चोसो
सुनुवार जातिले कुखुराको पखेटाको मात्र पनि विभिन्न परिकार बनाउँछन्। अवाँ फ्राँ चोसो पनि यस्तै परिकार हो। यो परिकार पोलेर बनाइन्छ। पूजाआजा सकाएर पुसको अन्त्यतिर माघेसंक्रान्ति आउने समयमा यो परिकार खाइन्छ।
कार्रस अचार
गाउँतिर पाइने पहेँलो फूल फुल्ने एक प्रकारको झुसे घाँसलाई कार्रस भनिन्छ। अचार बनाउँदा यसलाई छोपका रूपमा पनि प्रयोग गरिन्छ। तर, यसको स्वाद तिलको जस्तो हुँदैन। केही अमिलो हुने यसको स्वाद बदामको जस्तो हुन्छ।
पो के खोइल अचार
बुंगुरको खुट्टा गालेर बनाइएको अचारलाई पो के खोइल भनिन्छ। यसलाई १० महिनासम्म सुरक्षित राख्न सकिन्छ। विशेषगरी चाडपर्वमा र कोसेली पठाउँदा यसको प्रयोग बढी हुन्छ।
चिअर्स के स्यम
चिअर्स भनेको कोदो र स्यम भनेको कोदोको छ्याङ हो। धान रोप्नुभन्दा पाँचछ महिनाअगाडि नै छ्याङ बनाएर राखिन्छ। सुनुवारहरू सुत्केरी हुँदा, धान रोप्दा र चाडपर्वमा छ्याङ खाने गर्छन्। चिअर्स के स्यम भन्नाले कोदोको रक्सी भन्ने बुझिन्छ।