तालिबानले बम हानेको बुद्ध मूर्ति ६ वर्षमा दुरुस्तै बनाइयो
इस्लामावाद: पाकिस्तानको स्वात उपत्यकामा तालिबानले डाइनामाइट राखेर उडाएको भगवान गौतम बुद्धको प्रतिमा ६ वर्ष लामो प्रयासपछि दुरुस्त बनाइएको छ । यस प्रतिमालाई बनाउन इटलीको सरकारले आर्थिक सहयोग गरेको हो ।
करिब ११ वर्षअघि पाकिस्तानको स्वात उपत्यकामा तालिबानले डाइनामाइट राखेर उडाएको गौतम बुद्धको प्रतिमा लामो प्रयासपछि स्थापित गरिएको हो ।
यो बुद्ध प्रतिमा स्थापित गर्नका लागि स्थानीयबासिन्दाले नै अग्रसरता देखाएका हुन् । यसमा लगानी भने इटाली सरकारले गरेको हो । चट्टानसँगै जोडिएको २१ फिट अग्लो र १२ फिट चौडाईको यो प्रतिमा करिब १३०० वर्ष पुरानो थियो ।
सन् २००७ मा स्वात उपत्यकामा तहरिक ए तालिबान (पाकिस्तानी तालिबान) को बाक्लो प्रभाव थियो। त्यही क्रममा तालिबानले बुद्धको प्रतिमालाई 'इस्लाम विरोधी' घोषणा गरेको थियो । सन् २००७ मा केही आतंकवादीहरुले प्रतिमामाथि चढेर डाइनामाइटले उडाउने कोशिश गरेका थिए । तर त्यो बेला केबल प्रतिमाको अनुहारमा मात्रै क्षति पुगेको थियो ।
सन् २००९ मा स्वात उपत्यकामा पाकिस्तानी तालिबानको असर कम भएपछि फेरि यस प्रतिमाको निर्माणको कुरा सुरु भएको थियो ।
सन् २०१२ मा इटाली सरकारले स्वात उपत्यकमा रहेका पुरातात्विक महत्वका स्थलको संरक्षणमा ध्यान दिएको थियो । यसै क्रममा इटाली सरकारले पाँच वर्षभित्र २५ लाख युरो (करिब ३२ करोड नेपाली रुपैयाँ) खर्च गरेको थियो । इटाली सरकारले यसै अभियानका क्रममा प्रतिमाका लागि पनि रकम उपलब्ध गराएको थियो ।
तालिबानका आतंकवादीरुले सन् २००१ मा गौतम बुद्धका दुई प्रतिमालाई डाइनामाइटले उडाएर तोडिदिएका थिए। यी मूर्ति तोड्न महिनौ लागेको थियो । अफगानी तालिबानलाई पछ्याउँदै पाकिस्तानमा पनि यस प्रतिमालाई भत्काउने कोशिश गरिएको थियो ।