पशुपतिको आरतीमा युवा क्रेज
भुवन चालिसे (२७) दिनभरिको अन्य काम सकाएर हरेक साँझ पशुपति आउँछन्। लगाएको पाइन्ट, टिसर्ट सर्लक्क खोलेर ब्यागमा कोच्छन् र धोती, दुपट्टा, भोटोमा सजिन्छन्। उनी स्पोर्ट्स सुज र मोजा फुकालेर खाली खुट्टा आरतीमा बस्छन्।
सपना महर्जन
पाशुपत क्षेत्रमा प्रवेश गरेपछि सबै उमेरसमूहका मान्छेहरू भक्तजन बन्छन्। यस क्षेत्रमा बिहान बेलुकी भक्तजनहरूको घुइँचो हुन्छ। दशकपहिले साँझ ढल्कँदै जाँदा पाशुपत क्षेत्रमा युवायुवतीहरूको जमघट बाक्लिँदै गयो। तर युवाहरू त्यहाँ शिवको दर्शन गर्न आउँथे या अरू नै केही कारण ? यो फरक बहसको पाटो थियो। साँझको समय युवा तथा आगन्तुकहरूलाई पशुपति परिसरमै कसरी रोक्ने, यो विषय महत्वपूर्ण थियो।
यसैबीच केही पुजारीहरूको समूहले साँझपख भगवान् शिवको आरती राख्ने योजना बनाए। आरतीको समय भजन कृतन, पूजापाठ, हवनजस्ता कार्य हुने भएपछि आगन्तुकहरूलाई आनन्दित बनाउन कठिन भएन। त्यो आरतीको सुरुवात १२ वर्षअघि युवा पुजारीहरूबाट भएको थियो। हाल आरती गर्ने पुजारीदेखि तबलावादक र भजन गाउनेसम्म सबै युवाहरू नै छन्।
मोडर्न पुजारी
भुवन चालिसे (२७) दिनभर पाइन्ट, टिसर्टमा हुन्छन्। हिन्दी, अंग्रेजी गीत सुन्न मन पराउँछन्। तर बेलुका उनको रुटिन फरक छ। दिनभरको अन्य काम सकाएर उनी हरेक साँझ पशुपति आउँछन्। लगाएको पाइन्ट, टिसर्ट सर्लक्क खोलेर ब्यागमा कोच्छन् र धोती, दुपट्टा, भोटोमा सजिन्छन्। उनी स्पोर्ट्स सुज र मोजा फुकालेर खाली खुट्टा आरतीमा बस्छन्।
मदन भण्डारीबाट बीबीएसको बिहानी कक्षा सकाएर दिउँसोको समय पशुपति क्षेत्रकै एक कार्यालयमा एकाउन्टेन्टको जागिर खाँदै आएका भुवनलाई एकाएक पण्डितको रूपमा देख्दा अचम्म लाग्छ। पण्डित बन्दाको रूपलाई उनी आफैं एक फरक अवतार मान्दा रहेछन्। आरती मण्डलीका एक युवा सदस्य उनी विगत पाँच वर्षदेखि पशुपतिमा आरती गर्दै आएका छन्।
पशुपतिनाथ वागमती गंगा आरतीको लागि वागमती पारिको माथिल्लो मण्डलामा धुप, फूल, टीका, अगरबत्ती राखिन्छ। साथै पूजा थाली, आरती गर्न बनाइएको सहस्र, हवनकुण्ड, मयुर पंखा पनि साथै राखिन्छ। एक अधबैंसे महिला झारमा बत्तीहरू बाल्न थाल्छिन्। शिवको आरती गर्न तीन पुजारीहरू लहरै बस्छन् र शंख फुकेर आरतीको सुरुवात गर्छन्।
भुवन भन्छन्, ‘आरती गर्ने काम त्यति सजिलो छैन।’ माथामा चन्दन लगाएर मण्डलामा उभिँदै जब उनी चार पाँच किलोको झार (सहस्र) उचालेर घुमाउँछन्, उनको पाखुरामा निकै बल पर्दो रहेछ। लगभग एक घन्टासम्म चल्ने आरती यस्तै विधि र प्रक्रियाका कारण उमेर ढल्केकाहरूले गर्न सक्दो रहेनछन्। भुवन भन्छन्, ‘आरती गर्ने पण्डितहरूले कपाल खौरेर टुप्पी पाल्नैपर्ने नियम छैन। यो नियमित कार्य हो र घरमा साँझ बिहान गरिने पूजापाठजस्तै हो।’
उनले यस्तो जानकारी दिइरहँदा पशुपति आर्यघाटमा गरिने आरतीलाई भक्तजनले भने बेग्लै रूपमा ग्रहण गरिरहेका थिए। आरती सुरु भएसँगै बज्न थालेका भजन, हार्मोनियम र तबलाले आर्यघाटको सन्नाटा संगीतमय भएको थियो। शव जलाउन आएका आफन्त र मलामीलाई पनि शिवभक्तिमा लीन गराउन सक्ने उक्त आरती साधारण पूजापाठ मात्र बिल्कुल थिएन। भुवनका अनुसार आरती हेर्नकै लागि भन्दै सयौं युवाहरू साँझ पशुपति पुग्छन्। जन्मेपछिको सांसारिक भोगाइ र मृत्युलाई एकै ठाउँमा हेर्न सायद ती युवाहरू पशुपति पुग्दा हुन्।
आरती सुरु हुनुभन्दा पहिले यजमानहरूबाट पशुपति वागमती किनारामा संकल्प पूजा गराउने चलन छ। जन्मदिनको अवसरमा विनिता खत्री संकल्प पूजा गराउन श्रीमान्को साथमा पशुपति आएकी थिइन्। उनी हाँस्दै आफ्नो नाम भुवनलाई टिपाउँछिन्। उता त्यही समय आर्यघाटमा लास लिएर मलामीको ताँती रुँदै चिच्याउँदै आउँछन्। हरेक दिन जन्मको हाँसो र मृत्युको रोदन एकै चोटि सुन्नु भुवनका लागि सामान्य भइसकेको छ।
भुवनसँगै आरतीमा बस्ने अर्का युवा पण्डित हुन्, नवीन रेग्मी। उनी पनि पाँच वर्षदेखि निरन्तर आरती गर्दै आएका छन्। स्नातकसम्म अंगे्रजी र संस्कृत पढेका नवीन आरती मण्डलीमा सामेल हुनुभन्दा पहिले मुख्य पशुपति मन्दिरसँगैको अर्को सानो मन्दिरमा पुजारी थिए। एसएलसीपछि नुवाकोटबाट काठमाडौं पसेका नवीनको पशुपति क्षेत्रको एक कार्यालयमा काम गर्न थालेको १० वर्ष भइसकेछ। नवीन भन्छन्, ‘आरती गर्न संस्कृतको धेरथोर ज्ञान हुनैपर्छ।’ दिउँसो युनिलिभरमा सुपरभाइजरको काम गर्दै आएका नवीन साँझको समय आरतीमा बिताउँछन्।
उनी भन्छन् , ‘आरतीको काम हेर्दाहेर्दै सिकियो। अहिले सबै काम गर्न सक्छु।’ भुवन र नवीन दुवै दिनभरि काममा खटिएर आएको थकित अनुहारमा थिए। तर आरती गर्न बस्दा दुवैको अनुहारमा गज्जबको शान्ति देखिन्थ्यो। नवीन भन्छन्, ‘आरती हुने समयमा कताकताबाट युवाहरूको हूल आउँदा खुसी लाग्छ। हाम्रो उद्देश्य नै हामी जस्तै युवाहरूलाई धर्मप्रति आस्था जगाउनु हो।’ प्रत्येक साँझ तीन जना पुजारीले पशुपतिनाथको आरती गर्छन्।
आरती हेर्न आउने युवा
आशा, निराशा, भविष्यप्रतिको चिन्ता र उल्झिएको वर्तमान लिएर हरेक सन्ध्या आरतीमा सयौं युवाहरू पुग्छन्। कोही जोडी बाँधेर र कोही एक्लै पशुपति पुग्छन्। कोही भने साथीभाई र परिवारसँग आरती हेर्न आउँछन््। पशुपतिको आरती हेर्न युवा सुवास निरौला (२४) पनि कहिलेकाहीँ समय निकाल्छन्। पशुपति प्रांगण छिर्नेबित्तिकै उनको मस्तिष्क शून्य हुन्छ रे। सन्ध्या आरतीमा बस्दा त झन् मन त्यसै चंगा हुँदो रहेछ उनको। उनी भन्छन्, ‘हरेक पल्ट यहाँ आएपछि दिनभर म केका लागि कुदिरहेको थिएँ भन्ने आफैंसँग प्रश्न गर्न मन लाग्छ।’ बारम्बार गरिएको प्रयासमा असफल हुँदा, चाहेको कुरा नपाउँदा, मन अशान्त हुँदा र एक्लोपन हटाउन सुवास आरती हेर्न पशुपति पुग्दा रहेछन्। सुवासलाई पशुपतिको युवा पुजारीहरूको आरती हेर्न मज्जा लाग्दोरहेछ। कपनमा डेरा गरी बसेका सुवास घरको याद आउँदा पनि पशुपति नै पुग्ने गरेका छन्। आरतीमा बज्ने तबला, हार्मोनियम र भजनमा उनी मनको शान्ति खोज्छन्।
मन्त्रमुग्ध बनाउने भजन
सन्ध्या आरतीमा मन्त्रोच्चारण गर्नेमध्ये अर्को युवा राजन खतिवडा (२९) छन्। युवाहरूलाई आरतीमा ध्यानमग्न बनाएर राख्न सक्ने सुमधुर आवाज छ, उनको। पाँच वर्षदेखि पशुपतिको आरतीमा भजन गाउँदै आएका राजनले संगीतमा नै ललित कला क्याम्पसबाट ब्याचलर अफ म्युजिक गरेका छन्। सानैदेखि भजनकीर्तन गर्दै आएका राजन भन्छन्, ‘पशुपतिको आरतीमा विशेषगरी मन्त्रहरू पढिन्छ। जसमा रुद्रास्त्र, स्तुत्त्र, शिव ताण्डप, आरती गर्दै भोलेनाथको महिमा गाइन्छ।’ संस्कृतको ज्ञान भएकै कारण उनले यी सब भजनकीर्तन गर्न सकेका हुन्। उनी भन्छन्, ‘आआफ्नो धर्मप्रति आस्था राख्नु आवश्यक छ, धर्मको संरक्षण गर्नु युवाहरूको दायित्व हो।’ युवाहरूमा धर्मप्रतिको आस्था कम हुँदै गएको छ। त्यसलाई जगाउने काम गर्नुपर्ने राजनको धारणा छ। भजन गाउने समयमा पनि उनी पाइन्ट र टिसर्टमै हुन्छन्। उनको आवाजले युवाहरूलाई अझै बढी आकर्षित गर्छ। उनले ‘भोलेनाथकी जय’ भन्दा सबै भक्तजन उनीसँगै दाहोे¥याउँछन्। र, साँझको पशुपति परिसर त्यसै त्यसै गुञ्जयमान हुन्छ।
नचाउने तबला
पशुपतिको आरतीमा तबलावादक ब्यङ्कटेस ढकाल पनि छन्। भारतको भातखोण्डे विश्वविद्यालयबाट तबलामा मास्टर गरेका ब्यङ्कटेसको प्रस्तुतिले आरती अझै सुन्नलायक बनाउँछ। उनले बजाउने तबलाको धुनमा ताण्डव गर्नेको भीड लाग्छ, पशुपतिमा। आरती हेर्न आउनेहरू उनको तबलाको ताका..धीँ..धीँ.. सँगै नाच्छन्, गाउँछन्। ६ वर्षसम्म भारतको लखनउमा तबलासम्बन्धी कोर्स गरेका ब्यङ्कटेस हाल ललितकलामा स्नातकका विद्यार्थीलाई तबला सिकाउँछन्।
काभ्रेपलाञ्चोक घर भई हाल गौरीघाट बस्दै आएका ब्यङ्कटेस तबला बजाएरै रोजीरोटीको जोहो गर्छन्। भजन, फिल्म संगीत, सुगम संगीत, शास्त्रीय संगीत, गजल, ज्याज, ब्लुज, कत्थक आदिमा तबलाको प्रयोग हुने उनी बताउँछन्। उनी सात महिनादेखि पुनः पशुपतिमा तबला बजाउँदै छन्।
शान्त, सौम्य र भगवान् शिवको पवित्रस्थलमा आएर वि श्राम लिन पाउँदाको अनुभव नै बेग्लै हुन्छ। त्यसमाथि आरतीमा रमाउँदा मन हलुंगो हुनु त स्वाभाविक नै हो। युवाहरूलाई धर्मप्रति आकर्षित गर्न युवा पुजारीहरूको प्रयास सार्थक सावित भएको छ। हरेक साँझ हुने युवाहरूको आरती मण्डलीको गुञ्जन सुनेर कान पवित्र पार्न तपाईं पनि जाने कि ?