एक लेजेन्डको रहस्यमय मृत्यु
४७ वर्ष पहिले। सन् १९७१ जुलाई ३ मा पेरिसस्थित आफ्नै अपार्टमेन्टमा जिम मोरिसनको मृत शरीर भेटियो।जिम मोरिसनको मृत्युको सन्दर्भमा अनेकन आकलन गरिएको छ। धेरैले उनको मृत्युलाई ड्रग्ससँग जोड्छन्। हार्टअट्याकका कारण मोरिसनको मृत्यु भएको हो भन्नेहरू पनि छन्। पुलिस रिपोर्टले उनको मृत्युको कारण एउटा देखाउँछ भने उनका नजिकका मानिसको ठम्याइँ अर्कै छ।
पेरिसस्थित एक अपार्टमेन्टको तेस्रो तलामा जिम मोरिसन र पामेला कर्सनले रुम ‘सेयर’ गरेर बसेका थिए। पामेला र मोरिसन लामो समयदेखि प्रेमसम्बन्धमै थिए। मोरिसनको मृत्यु भएको जानकारी पहिलोपटक उनकै प्रेमिका पामेलाले थाहा पाइन्। मोरिसनको मृत्युमा तयार पारिएको पुलिस रिपोर्टमा भनियो, ‘मोरिसनको मृत्यु हुनु अघिल्लो साँझ पामेला र मोरिसन फिल्म हरेर अबेर मात्रै कोठा फर्केका थिए। मध्यरातमा मोरिसनलाई बेस्सरी खोकी लाग्यो। अलि ठीक होला कि भनेर उनी नुहाउन गए।’ रिपोर्टअनुसार मृत्यु हुनु केही घन्टाअघि मोरिसनले बिताएका क्षणहरू लगभग यति नै थिए। नुहाउन गएका मोरिसनलाई उनकी प्रेमिकाले त्यसपछि कहिल्यै जीवित पाइनन्।
सन् २००७ मा मोरिसनका साथी तथा ‘द न्युयोर्क टाइम्स’ का पूर्वसंवाददाता साम बेर्नेटले आफ्नो पुस्तक ‘द इन्ड- जिम मोरिसन’मा लेखे, ‘मोरिसनको मृत्यु हेरोइनको ‘ओभरडोज’ले भएको हो। मृत्यु हुनु अघिल्लो दिन ‘लेफ्टब्याङ्क नाइट क्लब’मा उनले अत्यधिक हेरोइनको सेवन गरेका थिए।’
पुलिसको रिपार्टलाई आधिकारिक मानेर उनको मृत्यु हार्टअट्याककै कारण भएको एकथरीको बुझाइ छ। ड्रग्स र ड्रिङ्कको अत्यधिक सेवनले उनको मृत्युमा सघाउ पर्याएको बताउनेहरू पनि धेरै छन्। मृत्युको अघिल्लो साँझ मोरिसन र कर्सन दुवै मिलेर अत्यधिक हेरोइन सेवन गरे। गीत गाए, सुने। अबेरसम्म प्रेमीप्रेमिका गीत÷संगीतमा झुमे। ‘स्ट्रङ’ हेराइनको सेवनमा मोरिसनका क्रियाकलाप फेरिन थाल्यो। उनले असामान्य व्यवहार देखाउन थाले। व्यवहारमा परिवर्तन आएपछि कर्सनले उनलाई तातो पानीमा नुहाउन बाथरुम पठाइन्। तर, उनको मृत्युको कारण त्यही ओभरडोज हेरोइन बनिदियो।
जिम मोरिसनको मृत्युको सन्दर्भमा अनेकन आकलन गरिएको छ। पुलिस रिपोर्टले उनको मृत्युको कारण एउटा देखाउँछ भने उनका नजिकका मानिसहरूको ठम्याइँ अर्कै छ।
गायिका मारियन फेथफुलले पनि मोरिसनको मृत्युको ब्याकग्राउन्ड तयार पारेकी छिन्। उनले भनेकी छिन्, ‘ड्रग डिलर जिन डि ब्रेइटेउली मोरिसनको मृत्युको प्रमुख दोषी हुन्। उनले नै मोरिसनको अपार्टमेन्ट अघि आएर ड्रग थमाएर गएका थिए। ‘स्ट्रङ’ ड्रगले मोरिसनको मृत्यु निम्त्यायो।’
मृत्यु माथिका हल्लाहरू अनेक छन्। अनुमानहरू अनेक छन्। अड्कलबाजीहरू फरकफरक छन्। यथार्थ, उनको मृत्यु हो।
मृत्यु भएको तीन दिनपछि मोरिसनलाई पेरिसस्थित ‘पेर लासेस’ मा गाडियो। टाइम म्यागजिनले उनै मोरिसन माथि लेख्यो, ‘सन् १८०४ मा नेपोलियन बोनापार्टले स्थापना गरेका थिए ‘पेर लासेस’। ओस्कर वाइल्ड, म्याक्स अर्नेष्ट, एडिथ पियफजस्ता हजारौं सेलिब्रिटीको चिहान हो यो। पेरिसमा यो ठाउँलाई टुरिस्ट एरियाको रूपमा चिनिन्छ।’
पुलिसले मोरिसनको मृत्युको कारण ‘हार्ट फेलर’ मानेको थियो। तर, पर्याप्त अध्ययन÷अनुसन्धान चाहिँ भएको छैन। यसरी उनको मृत्युको कारणमा अहिलेसम्म रहस्य लुकेको छ।
वासिङ्टन पोस्ट्का लागि सारोन वाक्सम्यानले ९ डिसेम्बर १९९३ मा लेख्यो, ‘मोरिसनको मृत्यु भएको २० वर्षसम्म पनि उनको चिहान वरिपरि हरेक दिन मान्छे झुम्मिन्थे, विशेषगरी युवायुवती। उनको चिहानमा गुलाब चढाउने, फोटो खिच्ने, म्यासेज लेख्ने काम हुन्थ्यो। ह्विस्कीका बोतलहरू पनि राखिएको हुन्थ्यो। मोरिसनको टाउको पर्ने ठाउँमा क्यान्डल बालिन्थ्यो। त्यहाँ भेट्टाइएको एउटा नोटमा लेखिएको थियो, ‘हामी तपाईंलाई अहिले पनि प्रेम गर्छौं।’
०००
मोरिसनमाथि पुस्तक लेखेका जेरी हप्किन्सले भनेका छन्- ‘मैले भेटेकाहरूमध्ये मोरिसन सबैभन्दा रमाइला गायक हुन्। किनकि उनी मानिसहरूसँग कुराकानी गर्न रुचाउँछन्।’
सन् १८४३ डिसेम्बर ८ का दिन फ्लोरिडामा जन्मिएका थिए, मोरिसन। अमेरिकन ‘रक सिङ्गर’ तथा ‘सङ राइटर’ मोरिसनले बच्चा हुँदै देखेको एउटा घटना खुबै चर्चामा आउँछ। मोरिसनको कुरा गर्दा उनले देखेको त्यो घटना हत्तपत्त छुट्दैन। घटना न्यु मेक्सिको ‘डेजर्ट’ को हो। चार वर्षको छँदा उनले कार दुर्घटनालाई नजिकैबाट नियाले। मरुभूमिमा भएको त्यो दुर्घटनानमा थुप्रै मानिस मरेका थिए। मान्छेका अंगहरू छरिएको थियो, हात एकातिर ज्यान अर्काेतिर। रगतको आहाल देखे उनले। मान्छेको चिच्याहट उनको कानमा ठोकियो। मोरिसन यो घटनाबाट विक्षिप्त बने। आफूले देखेको यो घटनालाई मोरिसनले ‘पिस फ्रग’ गीतमा उल्लेख गरेका छन्। ‘मोरिसन होटल’ एल्बममा पनि यो गीत सग्रृंहीत छ। उनले आफ्ना गीत, कविता, अन्तर्वार्ताहरूमा समेत त्यस दुर्घटनाको चर्चा गरेका छन्। कतिपयले त्यो दुर्घटनामाथि मोरिसनको व्याख्या ‘इक्ज्याजरेट’ भएको पनि बताउँछन्। बायोग्राफीडटकमले लेखेको छ, ‘त्यो दुर्घटनाले आफूलाई त्रसित तुल्याएको बताउँछन् मोरिसन। तर, पिस फ्रगमा बताए जसरी दुर्घटनाको प्रभाव मोरिसनलाई नपरेको उनको परिवारले बताउँछ।’
मोरिसन सानैदेखि आफ्नो काममा जिम्मेवार थिए। ‘ट्यालेन्ट’ उनको जीवनमा थपिएको ‘प्लस पोइन्ट’ थियो। हरेक दिन स्कुल जान्थे। अध्ययन गर्नु, चित्र बनाउनु र लेख्नुमा उनको विशेष रुचि देखिन्थ्यो। कक्षाका अन्य विद्यार्थीभन्दा उनी धेरै पढ्थे। ‘अफबिट’ पुस्तकले उनलाई बढी आकर्षित गथ्र्याे। पुस्तकालय पनि धाइरहन्थे। अध्ययन सँगसँगै म्युजिकमा पनि उनको चासो बढ्यो। किनकि घरमा सांगीतिक वातावरण थियो। उनका बुवा पियानो बजाउन सिपालु थिए।
संगीतसँगसँगै साहित्यमा पनि मोरिसनको रुचि थियो। फ्रेडेरिक नित्से उनलाई मन पर्ने दार्शनिक थिए। आर्थर रिम्बन्ड, एलेन गिन्सबर्ग, फ्रान्ज काफ्का, अल्वेर कामुजस्ता साहित्यकार र अन्य ‘एक्जिस्टेन्सियालिष्ट’ दार्शनिकबाट खुबै प्रभावित थिए उनी।
फिल्म निर्माता समेत हुन्, मोरिसन्। सन् १९६४ पछिका केही वर्ष उनलाई फिल्मले अल्झायो। नाटक र फिल्ममा रमाउन थाले। ‘युनिभर्सिटी अफ क्यालिफोर्निया, लस एन्जलस’ मा साहित्य विषयमा भर्ना भएपछि उनको चाख नाटक र फिल्ममा बढ्न थाल्यो। त्यहाँ उनले ज्याक हिर्सम्यान र एन्तोनियो आर्टौडको क्लास लिने मौका पाए। ‘यूसीएलए’ मा फिल्मको कक्षा लिन थालेपछि उनको ध्यान फिल्म बनाउनेतिर गयो। उनले ‘फस्र्ट लभ’ नामक फिल्म बनाए। त्यस्तै, साथीसँग मिलेर मोरिसनले ‘अब्सक्युरा’ नामक अर्काे फिल्म बनाएका छन्।
०००
मोरिसनले सन् १९६५ मा ‘युसिएलए’बाट ग्य्राजुएट गरे। त्यसपछि उनको जिन्दगीको बाटो बदलियो। फिल्मप्रतिको उनको लगाबमा ब्रेक लाग्यो, म्युजिकमा ब्रेक थु्र भयो। उनी फिल्म र नाटक बनाउनेतिर होइन, म्युजिकतिर लागे। मोरिसन र सँगै पढेको एक साथी रे मान्जारेकले ब्यान्ड खोले, द डोर्स। पछि ड्रमर जोन डेन्समोर पनि ब्यान्डमै मिसिन आइपुगे। ब्यान्डको नाम दु डोर्सचाहिँ एल्डस हक्सलेको पुस्तक ‘द डोर्स अफ पर्सेप्सन’बाट राखिएको थियो। र, द डोर्सको सांगीतिक यात्रा सन् १९६५ देखि सुरु भयो।
जिम मोरिसनलाई यस ब्यान्डको प्रमुख पात्रको रूपमा लिइन्छ। ब्यान्डका लागि चर्चित र धेरै गीत उनैले लेखेका छन्।
सन् १९६६ मा ब्यान्डले आफ्नो पहिलो गीत गायो, ‘ह्विस्की अ गो गो’( क्यालिफोर्नियाको नाइट क्लब) मा। ब्यान्डले यस्तै क्लबतिर गीत गाउँदै थियो। क्लब खासै चर्चित थिएन। सन् १९६७ मा ‘एलेक्ट्रा रेकर्ड’ सँग जोडिएपछि डोर्स ब्यान्डलाई धेरैले चिन्न थाले। ‘लाइट माइ सङ’ त १९६७ को जुलाइ÷अगस्टमा ‘विलबोर्ड हट-१००’ को चार्टमा पर्न सफल भयो। ब्यान्डले १९६७ मा ‘स्ट्रेन्ज डेज’ नामक दोस्रो एल्बम निकाल्यो। सन् १९६८ मा ‘वेटिङ फरक द सन’ नामको तेस्रो एल्बम निकाल्यो। यी सबै एल्बममा मोरिसनको देन छ।
डोर्सको अन्तिम एल्बम ‘एलए वुमन’ १९७० मा रेकर्ड गरियो। एल ए वुमन रेकर्ड गरेर मोरिसन पेरिसतिर हानिए। उनलाई आफ्ना केही बानीहरू परिवर्तन गर्न मन थियो। उनी कविता लेख्न चाहान्थे। ड्रिङस कम गर्न चाहन्थे। प्रेमिका पामलाई लिएर युरोप घुम्ने उनको इच्छा थियो। केही इच्छा पूरा गरे, धेरै इच्छा पुरा गर्नुअगाबै उनको मृत्यु भयो।
०००
मोरिसनको बुवा आफ्ना छोरालाई अलि बढी रेखदेख गर्थे। छोरालाई यताउता हिँड्न दिँदैनथिए। किशोरवस्थामा हुँदै मोरिसन बुवालाई छल्दै मदिरामा मस्त हुन्थे। युवतीहरूसँग बरालिन्थे। उनलाई मन नपरेपछि कक्षामा बस्दैनथे। धेरै पटक उनले कक्षा छोडेर हिँडेका थिए। यद्यपि उनी राम्रा विद्यार्थी हुन् भन्नेमा शंका गर्ने ठाउँ छैन। १९६१ मा उनले हाइस्कुल सके। त्यतिबेला नै उनले नित्सेका धेरै पुस्तक पढिसकेका थिए।
मोरिसनको बारेमा एउटा हल्ला छ। उनी ‘जोक्स’का पारखी हुन्। साथीहरूसँग बस्दा उनी खबै जोक्स भन्थे, हसाउँथे। गाडीमा यात्रा गर्दा उनलाई जोक्स सुनाउन साथी चाहिँदैनथ्यो, नजिक जो छ उसैलाई सुनाइहाल्थे।