अर्गानिक अनुहार
भारतको उडिसामा जन्मी हुर्केकी हुन्, अभिनेत्री चाँदनी मोक्तान। उडिसाकै जेम्स एकेडमीमा उनले आर्ट र थिएटरमा स्नातक गरिन्। पुरानो थातथलो रामेछाप रहेको चाँदनी जब नेपाल आइन्, त्यसयता डेढ दर्जन तामाङ फिल्ममा देखिइन्।
नेपाली सेनामा जागिरे छँदै सिन्धुलीका फूलकुमार बम्जन बेलाबेला गीत गाउने र लेख्ने पनि गर्थे। रिटायर्ड भएपछि उनी पूर्णरूपमा गीतसंगीतमा समर्पित छन्, तामाङ सेलोमा उनको छवि भिन्न छ। ‘परदेशीको मन’ र ‘मावर सेलो’ गरी दुई गीति एल्बम ल्याइसकेका उनका झन्डै सयको संख्यामा फुटकर गीत बजारमा आइसकेको छ। साहित्य लेखनमा समेत सक्रिय उनले डेढ दर्जन सिर्जनामा संगीत पनि भरेका छन्।
काभ्रेका सुशन लामासँग सेलो संगीतको मात्रै हैन, नेपाली, जापानी, तिब्बती र भुटिया गीतमा संगीत गरेको अनुभव छ। झन्डै १२ सय गीतका यी स्रष्टा मन्त्रहरू पनि लेख्छन्, हालै भुटिया भाषाका विभिन्न मन्त्रमा संगीत भरेका छन्।
अभिनेत्री शान्ति वाइबाले जब पहिलोपटक गुरुकुलमा नर्वेली रंगकर्मी मोर्टन क्रोगको नाटक ‘ताराबाजी लै लै’ हेरिन्, त्यसै दिनदेखि मनमा भिन्न सपना रोप्न थालिन्- तामाङ समुदायमा केन्द्रित रहेर ‘अर्गानिक थिएटर ग्रुप’ निर्माण गर्ने। छोटो फिल्म ‘सेलफोन’ हुँदै ‘नीरफूल’सम्म आइपुगेकी उनले सपना पूरा गरेरै छाडिन, सेलो थिएटर नामक सानो नाट्य समूह बनाएर।
चार वर्षअघिको एक दिन सेलो थिएटरकै नाटक ‘म्हेन्दोमाया’ हेर्न पुगेका थिए सिन्धुलीका सोनाम मोक्तान। घिमिरे युवराजको निर्देशन र फूलमान वलको लेखन रहेको यो नाटक हेरेपछि उनी यत्ति प्रभावित भए कि लगत्तै शिल्पी थिएटरको रंगमञ्च कोर्समा आफूलाई सामेल गराए, शिल्पीकै आधा दर्जन नाटक खेले। यतिबेला निर्देशनमा हात हालेका छन्।
यी पाँच अर्गानिक अनुहार बितेका दुई साता बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा निकै व्यस्त देखिए। उनीहरूसँग १७ जनाको जम्बो रंगकर्मी टोली पनि थियो। यी सबैलाई एउटै थलोमा भेला गराएको हो, तत्कालीन श्री ३ जंगबहादुरको रहस्यमय मृत्युकथा माथि लेखिएको नाटक ‘सोनाम ग्याल्मो’ले।
फूलमान वलले लेखेको यो नाटक जंगबहादुरलाई जारले काटेको तामाङ किंवदन्तीको नाटकीय प्रस्तुति हो। यो नाटकले तामाङ समुदायको फरक क्षेत्र र विधामा नाम कमाइसकेका प्रतिभाहरूलाई पनि एकै ठाउँमा जोडिदिएको छ। पहिलोपटक रंगमञ्चमा काम गर्दा कस्तो अनुभव भयो ? ‘रोचक तर चुनौतीपूर्ण’ चाँदनी गफिइन्, ‘अभिनय नै भए पनि रंगमञ्चको अनुभव भिन्न हुँदो रहेछ।’
जयनन्द लामाको फिल्मबाट सुरु भएको उनको अभिनय यात्रा दर्जनभन्दा बढी तामाङ फिल्म, पारिजातको चर्चित उपन्यासमाथि जापानी निर्देशक डा. तोसिआकी इतोहले बनाएको ‘शिरीषको फूल’ हुँदै पछिल्लो तामाङ फिल्म ‘सेर्कु’सम्म आइपुग्दा थुप्रै टेक खाए, रिटेक लिए। ‘रि-टेकको सजिलो बानीबाट आएको मान्छेलाई’ उनले भनिन्, ‘रंगमञ्चको लाइभ एक्टिङ निकै चुनौतीपूर्ण लाग्दोरहेछ।’
तैपनि ‘सोनाम ग्याल्मो’ आफैंमा ऐतिहासिक विषयवस्तुमा आधारित भएकोले सुरुमै आफू निकै उत्साहित बनेको र त्यही उत्साह ऊर्जामा बदलिएको उनले बताइन्। ‘बल्ल अभिनयको भोक मेटिए जस्तो भएको छ’, उनले भनिन्।
उनलाई अभिनयको भोक मेटाउने नाटकको कथा भने यस्तो छ- सर्लाहीको पत्थर घट्ट। एक सुन्दर जोडी छ सोनाम र ग्याल्मोको। भर्खरै बिहे भएको। तामाङ समुदायमा प्रचलित किंवदन्तीअनुसार सिकार खेल्न पत्थर घट्टामा पुगेको तत्कालीन श्री ३ जंगबहादुरले ग्याल्मोलाई जंगलमा दाउरा बटुल्दै गरेको समय देख्छ। र, जर्बजस्ती रखौटी बनाउँछ।
त्यो बेला जंगबहादुरले जार काट्न पाउने जंगे कानुन घोषणा गरेका थिए। केही समयपछि एकदिन सिकार क्याम्पको अस्थायी दरबारमा एक युवक भेष बदलेर जंगबहादुरको अघिल्तिर ‘सरकार जार काट्न पाउँ’ भन्दै बिन्ती बिसाउँछन्। जंगबहादुरले सगौरव भन्छ, ‘जाऊ अहिल्यै गएर काट।’ लगत्तै युवकले जंगबहादुर माथि खुकुरी प्रहार गर्छ।
त्यसो त इतिहासमा जंगबहादुरको मृत्युसम्वन्धी तथ्य र कथ्यहरू रहस्यमय नै छन्। कतै सेतो बाघले झम्टेको त कतै रगत छादेर र कतै जारले काटेको सन्दर्भहरू छन्। लेखक वलले भने तामाङ समुदायमा प्रचलित मिथलाई समातेर सांस्कृतिक सघनतासहित नाटक तयार पारेका हुन्। नाटकका सबै अनुहारहरू सहरका अन्य नाटकहरूमा देखिने नियमितभन्दा भिन्न र अर्गानिक छन्। यिनै अर्गानिक अनुहारमध्ये हुन्, गायक फूलकुमार बम्जन।
नाटकमा पहिलोपटक अभिनय गरेका उनी ‘सोनाम ग्याल्मो’मा ताम्बा र चोहोको भूमिकामा छन्। उनका अनुसार तामाङ समुदायमा ताम्बालाई संस्कृतिविद् तथा मौखिक इतिहासकारको रूपमा मानिन्छ। चोहो भनेको चाहिँ गाउँको सभाअध्यक्ष। सिन्धुलीका यिनले पनि सानैदेखि जंगबहादुरलाई जारले काटेको कथा सुन्दै आएका थिए। पछि वलमार्फत नाटकको स्क्रिप्ट नै हात परेपछि उनी मक्ख भए अनि अभिनयका लागि आफूलाई तयार पारे।
‘गीत संगीत र म्युजिक भिडियोमा हल्लिए जस्तो नहुँदो रहेछ रंगमञ्च’, उनले अनुभव सुनाए, ‘यसको लागि ठूलो साधना, धैर्य र ऊर्जा चाहिँदो रहेछ।’ कलाकारिता र अभिनय तिखार्ने हो भने रंगमञ्चले राम्रो मौका दिने रहेछ भन्ने पनि उनले सिकेका छन्। ‘तर, म निकै उत्साहित छु’ उनले भने, ‘यो नाटकले ठूलो अनुभव दियो।’
ताम्बा र कथावाचकको भूमिकामा छन्, सेलो गायक तथा संगीतकारसुशन लामा पनि। रसुवाको तामाङ समुदायमा प्रचलित टोपी लाएर उनैले कथा सुनाउँछन् नाटकमा। उनका अनुसार, तामाङ गाउँघरमा अझै पनि बिहे र व्रतबन्धतिर ताम्बाहरूले गीत गाउँदै कथा सुनाउँछन्। पहिलो पटक तामाङ भाषाको नाटकमा अभिनय गरेका सुशन अभिनयमा भने २० वर्षपछि फर्किएका हुन्। तीनवटा गीतिएल्बम बजारमा ल्याएका उनी कत्थक डान्सर पनि हुन्।
विसं २०५३ मै भारतीय दूतावासवाट छात्रवृत्ति पाएर उनी कत्थक सिक्न श्रीराम भारतीय कला केन्द्र दिल्ली पुगेका थिए। त्यहीँ उनले संगीत पनि सिके। कत्थक नृत्यमा स्नातक गरे। ‘बाहिर जे सिके पनि आफ्नो समुदायको मौलिकपनको भिन्नै ओज हुँदोरहेछ,’ नाटक खेलेपछिको उनको अनुभव छ, ‘यो नाटक मेरो लागि पनि पाठ बन्यो। तामाङ समुदायभित्र यस्ता थुप्रै मौलिक कथाहरू छन्, तिनलाई बाहिर ल्याउन सके भने अरूका लागि नौलो हुनेछन्।’
नाटकको मुख्य पात्र ग्याल्मो बनेकी छन् शान्ति वाइबा। ‘ग्याल्मो’को अर्थ तामाङ समुदायमा ‘रानी’ हुन्छ। नाटक जंगबहादुरलाई जारले काटेको सन्दर्भमाथि भए पनि यो एक वियोगान्त प्रेमकथा हो। सोनाम र ग्याल्मोको जोडीले नाटकमा गर्ने बिछोडको यात्राले दर्शकलाई रुवाउँछ। ग्याल्मोको रूपमा वाइबाले राम्रो काम गरेकी छन्। ‘सानु छँदा ल्होछार र दसैंको बेला ठुल्दाइ (गणेश)ले गाउँमा नाटक लेखेरे निर्देशन गर्नुहुन्थ्यो, हामी खेल्थ्यौं’, नगरकोट बतासेकी वाइबाले अनुभव सुनाइन्, ‘तर त्यो व्यवस्थित रंगकर्म थिएन।’
पछि उनकै संयोजनमा सेलो थियटर बनेपछि ‘म्हेन्दोमाया’ नाटक गरिन्। त्यसअघि नै उनले सत्यमोहन जोशीको लेखन र राजन खतिवडाको निर्देशन रहेको मण्डला थिएटरको नाटक ‘सुनकेशरी’मा सानो भूमिका गरेकी थिइन्। सेलोबाट भने शिल्पीसँग मिलेर ‘त्रिपाल’, ‘ठि थान थान’ (कुर्सी खाली छ) जस्ता फोरम नाटक र आधा दर्जन सडक नाटकमा पनि सामेल भइन् उनी। राष्ट्रिय नाटक महोत्सव २०७३ का लागि तामाङ मिथमै आधारित नाटक ‘पेङदोर्जे’ निर्देशन समेत गरिन्।
२०६६ सालमै वाइबाले उदय लामा, अविसन टुवा, सन्तोष तामाङ (गोले बोन्बो), विजय टुबालगायतका कलाकार बटुलेर सेलो समूह बनाएकी थिइन्। ‘लामो समयदेखि नेपाली रंगमञ्चमा तामाङ मौलिकता भित्र्याउने चाहना थियो’, प्रदर्शनको पर्खाइमा रहेको फिल्म ‘नीरफूल’मा दयाहाङ राइसँग स्क्रिन सेयर गरेकी वाइबाले भनिन्, ‘अब लगभग टिम पूर्ण बन्दैछ। ऊर्जा थप्दै गएको छ।’ उनका अनुसार ‘अभिनयमै केही गर्छु भनेर लाग्नेहरूको लागी रंगमञ्च ठूलो सम्भावनाको थलो हो।’ तर यसमा साधना र धर्य चाहिने उनको सुझाव छ।
उनकै विचारसँग सहमत छन् सोनाम मोक्तान। उनी ‘सोनाम ग्याल्मो’को निर्देशक मात्रै हैनन्, ग्याल्मो पति सोनामको भूमिकामा पनि छन्। यो उनको पहिलो निर्देशन हो। यहाँसम्म आइपुग्न उनले शिल्पी थियटरमा लगभग तीन वर्ष बिताए। थुप्रै नाटक खेले। विभिन्न स्कुलमा रंगमञ्चसमेत पढाउने उनले नाटकको स्क्रिप्ट मन परेर निर्देशनको लागि ‘मरिहत्ते’ गरेको सुनाए। ‘दुई वर्ष अघि नै स्क्रिप्ट पढेको थिएँ। सानैदेखि सुन्दै आएको कथा भएर पनि होला, त्यतिबेला फूलमान दाइले मेरै लागि लेख्नुभएको हो कि जस्तो लागेको थियो’, उनले भने, ‘बल्ल मञ्चनमा ल्याउन सक्यौं।’
पहिलो पटक नाटकको निर्देशन गरेकाले पनि उनमा बेग्लै खालको उत्साह छ। उनी भन्छन्, ‘सुरुसुरुमा अभिनय र निर्देशन दुवै एकैपटक गर्नुपर्दा ठूलो रिस्क महसुस भएको थियो। ठीकसँग पूरा गर्न सक्दिनँ कि भन्ने थियो। यो सबै टिमवर्कले सम्भव भयो।’
नाटककार वलका अनुसार जंगबहादुरलाई जारले काटेको कथा मगर समुदायमा पनि प्रचलित छ। सर्लाहीको पत्थरघट्ट आसपास तामाङ र मगर दुवै समुदाय भएकोले श्रुति परम्पराबाट इतिहास सर्दै आउँदा यस्तो भएको हुन सक्ने उनले दाबी गरे। पुरानो समयको कथा भन्नुअघि भने वलले नाटकमा तामाङ समुदायको बिहेमा प्रचलित चारलदाम संस्कृति पस्केका छन्। यो संस्कारअन्तर्गत बेहुला- बेहुलीले आ-आफ्ना पक्ष साक्षी राखेर ‘सँगै जिउने, सँगै मर्ने’ कसम खाएपछि अन्तिममा घरको ढोकाको संघारमा जारको प्रतीकस्वरूप कुखुराको भाले काटिन्छ। ‘यो चाहिँ संस्कृतिको पाटो भयो’ वलले भने, ‘तर मूलकथा चाहिँ सोनाम-ग्याल्मो र जंगबहादुरबीचको संघर्ष नै हो।’
थिचिएकाहरूको नलेखिएको इतिहास समाजमा ‘समानान्तर इतिहास’, लोककथा वा किंबदन्तीको रूपमा रहिरहने तर्क गर्दै तिनलाई नयाँ ढंगले साहित्यमा ल्याउनुपर्ने वलले तर्क गरे। यसअघि पनि उनले सन् २०१३ मा तामाङ समुदायमा प्रचलित गोले झाँक्रीको मिथमाथि नाटक ‘म्हेन्दोमाया’ लेखेका थिए। ‘मिथकभित्र भिन्न रहस्यमय शक्ति लुकिबसेको’ महसुस गर्ने वल कविता र कथामा पनि मिथकीय प्रयोग गर्छन्। ‘महाभारतकी मैच्याङ’ कवितासंग्रह र ‘काजोल खातुन’ कथा संग्रहका यी स्रष्टाले ‘इतिहासको एउटा दमित पाटोलाई अभिव्यक्त गर्न’ नाटक माध्यमको छानेको बताए। बिहीबार नियमित सोको समापन गरेको ‘सोनाम ग्याल्मो’ भने यही साउनको १९ र २० गते शिल्पीमै विशेष सो हुने निर्देशक मोक्तानले बताए।