बिजुक्छेंको फोटो अब स्थानीय पाठ्यक्रममा
![बिजुक्छेंको फोटो अब स्थानीय पाठ्यक्रममा](https://annapurnapost.prixacdn.net/media/albums/narayan--bijhukche-_20180713101629_SbMzaFvGyS.jpg)
भक्तपुर : भक्तपुर नगरपालिकाले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंको फोटो स्थानीय पाठ्यक्रम सन्दर्भ सामग्रीको रुपमा नगर क्षेत्रका विद्यालयलाई हस्तान्तरण गरेको छ।
राजनीतिमा नारायणमान बिजुक्छेंभन्दा कामरेड रोहितको नाउँमा चिनिएका उनी नेपाली साहित्यमा हरिबहादुर श्रेष्ठको नाउँमा चिनिन्छन्। बिजुक्छेकै मार्गदर्शनमा भक्तपुर नपाले शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणमा नाम कमाउँदै आएको छ। बिजुक्छेंको सोही योगदानलाई भक्तपुर नपाले स्थानीय पाठ्यक्रममा समेटेको छ।
भक्तपुर नपाले चालू शैक्षिकसत्रदेखि नै कक्षा एक र ६ को स्थानीय पाठ्यक्रम तयार गरेर लागू गरेको छ। तर पाठ्यक्रमअनुसार पाठ्यपुस्तक भने तयार भइसकेको छैन।त्यसैले स्थानीय पाठ्यक्रम सन्दर्भ सामग्रीको रुपमा भक्तपुर नपाले नगर क्षेत्रका सामुदायिक एवं निजि गरी ९२ वटा स्कुललाई बिजुक्छेंको फोटो सन्दर्भ सामग्रीको रुपमा हस्तान्तरण गरेको छ।
भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले बिहीबार बिजुक्छेंसहित १५ जना व्यक्तित्वको फ्रेमसहितको ठूलो फोटो, भक्तपुरको पुरातात्विक इतिहास लेखिएका पुस्तक र भक्तपुरमा मनाइने जात्रापर्वसम्बन्धी दुई फोटो पुस्तक स्थानीय पाठ्पुस्तकको सन्दर्भ सामग्रीको रुपमा हस्तान्तरण गरेको हो।
सन्दर्भ सामग्रीमा बिजुक्छेंको फोटोसँगै नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाः, २०४६ सालको जनआन्दोलनमा सहादत प्राप्त गर्ने भक्तपुर नगर क्षेत्रका ६ जना सहिद राजकुमार सुवाल, कृष्णराम दुवाल, निर्मलकुमार शाक्य, हरिकृष्ण भुजू, पुष्परत्न शाक्य र महेश श्रेष्ठको फोटो समावेश छन्।
त्यस्तै संस्कृतिकर्मी स्व. लीलाभक्त मुनंकर्मी, वाद्यवादक स्व. विवेकदास उस्ताद, नेपालभाषाका अगुवा स्व. जगतसुन्दर मल्ल, समाजसेवी स्व. काजीमान कर्माचार्य र साहित्यकार स्व. रामशेखर नकर्मीको फोटो पनि विद्यालयलाई हस्तान्तरण गरिएको छ।
जीवित व्यक्तित्वतर्फ बिजुक्छेंपछि वरिष्ठ साहित्यकार तेजेश्वरबाबु ग्वंग र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका पूर्वडीन पृथुचरण वैद्यको फोटो पनि स्थानीय पाठ्यक्रम सन्दर्भ सामग्री बनेका छन्।
नपाले भक्तपुरको इतिहास, भूगोल, संस्कृति, शिक्षा, स्वास्थ्य र स्थानीय खेलकुदलगायत समावेश गरेर कक्षा एक र ६ को स्थानीय पाठ्यक्रम तयार गरेर लागू गरेको छ। नपाले शिक्षा क्षेत्रका विज्ञहरुको कार्यदल नै बनाएर उक्त पाठ्यक्रम बनाएको हो।
कार्यदल सोही पाठ्यक्रमको आधारमा पाठ्यपुस्तक निर्माणमा जुटिरहेको छ। स्थानीय पाठ्यक्रमअनुसार पठनपाठन गर्न सघाउ पुग्ने उद्देश्यले उक्त फोटोहरु सन्दर्भ सामग्रीको रुपमा उपलब्ध गराइएको भक्तपुर नपाका प्रमुख प्रजापतिले बताए।
'पाठ्यक्रमअनुसार पाठ्यपुस्तक निर्माणको काम भइरहेको छ', उनले भने, 'पाठ्यपुस्तक नभए पनि पठनपाठनमा बाधा नहोस् भनेर सन्दर्भ सामग्री उपलब्ध गराएका हौं। अरु पनि सामग्री उपलब्ध नपा प्रतिबद्ध छ।'
नगर प्रमुख प्रजापतिले आगामी शैक्षिक सत्रदेखि कक्षा २, ३, ४ र ५ को समेत स्थानीय पाठ्यक्रमसँगै पाठ्यपुस्तक बनाउने जानकारी दिए।
आगामी शैक्षिकसत्रदेखि नेपालभाषाको पढाइ
उनले आगामी शैक्षिकसत्रदेखि भक्तपुर नपाले नेपालभाषाको पठनपाठनसमेत सुरु गर्ने जानकारी दिएको छ। यसका लागि नेपालभाषाको लिपिबारे तालिम भइरहेको समेत उनले जानकारी दिए।
'भक्तपुरको शिक्षामा हिजोभन्दा फरक ढंगले जानुपर्छ भन्ने सोचअनुसार नपा अघि बढिरहेको छ', उनले थपे, 'आगामी शैक्षिकसत्रदेखि नेपालभाषाको समेत पढाइ सुरु गर्छौं।' कार्यक्रममा स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका सदस्य उद्धव सुजखूले राष्ट्रिय पाठ्यक्रमले नै २० प्रतिशत स्थानीय पाठ्य सामग्री हुनुपर्ने भनी तोकेका सामाजिक शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षा र सिर्जनात्मक कलाको पाठ्यक्रम पनि खेस्रा भइरहेको जानकारी दिए।पाठ्यपुस्तकमा मात्रै भर नपर्न शिक्षकलाई उनले आग्रह गरे।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)