बेल्जियम र इङ्ल्यान्डको तेस्रो बन्ने होड

बेल्जियम र इङ्ल्यान्डको तेस्रो बन्ने होड

मस्को : जारी विश्वकपमा उपाधिको बलियो दाबेदार मानिएका बेल्जियम र इङ्ल्यान्ड सेमिफाइनलमै रोकिए। फ्रान्ससँग १-० गोलले पराजित भएपछि पहिलो पटक फाइनल खेल्दै विश्वकपको पहिलो उपाधि जित्ने बेल्जियमको योजना चकनाचुर भयो। यसैगरी क्रोएसियासँग अतिरिक्त समयमा २-१ गोलले पराजित हुँदा सन् १९६६ पछि विश्वकपको अर्काे उपाधि जित्ने इङ्ल्यान्डको योजना पनि सेमिफाइनलमै तुहियो।

त्यसैले उपाधिको योजना बनाएका बेल्जियम र इङ्ल्यान्डले अब तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नुपर्ने भएको छ। शनिबार साँझ तेस्रो स्थानका लागि हुने खेलमा यी दुई टोली फेरि एकअर्काविरुद्ध मैदानमा उत्रँदै छन्। यही खेलले यी दुवै टोलीलाई सेमिफाइनल खेलको अप्रत्याशित हारले दिएको पीडामा मल्हम लगाउने अवसर पनि प्रदान गरेको छ। तेस्रो स्थानका लागि हुने खेलको जितले दुईमध्ये एक टोलीलाई केही राहत दिने पक्का छ।

प्रतियोगितामा आफूले खेलेको सबै खेलमा जित हात पार्दै अगाडि बढेको बेल्जियम सेमिफाइनलमा भने ९० मिनेटभित्रै फ्रान्ससँग पराजित हुन पुग्यो। त्यसले फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा बेल्जियमको स्वर्णिम पुस्ता फेरि असफल देखियो। रोमेलु लुकाकू, इडेन हाजार्ड, केभिन डे ब्रुन र थिबाउट कोर्टियसजस्ता सशक्त खेलाडी भएको बेल्जियम जारी विश्वकपमा सबैभन्दा सन्तुलित टोली देखिएको थियो। त्यसका बाबजुद बेल्जियमले आफूसँग जोडिँदै आएको सदाबहार तर, असफल टोलीको ‘ट्याग’ लाई हटाउन पनि सकेन।

यसैगरी पछिल्लो पुस्ताका सशक्त खेलाडी लिएर रुस पुगेको इङ्ल्यान्ड पनि बलियो प्रदर्शनका बाबजुद अन्तिम चारभन्दा माथि उक्लन सकेन। त्यसैले यी दुईमध्ये एक टोलीलाई तेस्रो स्थानको सफलता प्रतियोगिताको सुखद अन्त्य गर्ने सुखद अवसर हुनेछ। सन् १९८६ मा चौथो स्थान हात पारेको बेल्जियमका लागि तेस्रो स्थान विश्वकप फुटबलमा अहिलेसम्मकै ठूलो उपलब्धि हुनेछ।

इङ्ल्यान्डका लागि पनि ५२ वर्षपछिकै उत्कृष्ट नतिजा हुनेछ। इङ्ल्यान्डले सन् १९६६ मा उपाधि जित्नुबाहेक विश्वकपको अन्य कुनै संस्करणमा दोस्रो वा तेस्रो स्थान हात पार्न सकेको छैन। यी दुई टोलीबीचको खेलमा अर्को एउटा रोचक संयोग पनि जोडिएको छ। यही खेलले रुस विश्वकपमा गोल्डेन बुट जित्ने खेलाडीको टुंगो पनि लगाउनेछ। प्रतियोगितामा हालसम्म इङ्ल्यान्डका कप्तान हेरी केनले सर्वाधिक ६ र बेल्जियमका लुकाकूले चार गोल गरेका छन्। प्रतियोगितामा यी दुईबाहेक अन्य खेलाडीले गोल्डेन बुट जित्ने सम्भावना निकै कम छ।

त्यसैले जारी प्रतियोगितामा बेल्जियम र इङ्ल्यान्डले दोस्रो पटक एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्दा गोल्डेन बुट जित्ने खेलाडीको पनि टुंगो लाग्नेछ। प्रतियोगिताको एउटै समूह ‘जी’ बाट आएका यी दुई टोलीले समूहगत चरणको खेलमा पनि प्रतिस्पर्धा गरेका थिए। उक्त खेलमा बेल्जियम १-० गोलले विजयी बनेको थियो। योसहित विश्वकपमा तीन पटक प्रतिस्पर्धा गर्दा दुवै टोलीले एक÷एक खेल जितेका छन्। एक खेल भने बराबरीमा सकिएको थियो। समग्रमा भने इङ्ल्यान्डले सर्वाधिक १५ खेल जितेको छ।

विगतमा दुई टोली

कुल खेल : २२

इङ्ल्यान्ड विजयी : १५

बेल्जियम विजयी : ३

बराबरी : ४

प्रभाव पार्न सक्ने खेलाडी 

हेरी केन (इङ्ल्यान्ड)

टोलीका कप्तान तथा मुख्य स्ट्राइकरसमेत रहेका हेरी केन इङ्लिस टोलीका महत्वपूर्ण सदस्य हुन्। इङ्ल्यान्डलाई जारी विश्वकपमा सहजै छनोट गराउन र सेमिफाइनलसम्म पुर्‍याउन उनै केनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। घरेलु क्लब टोट्टनहाम हर्टस्परका खेलाडी केनले आफ्नो टोलीलाई सेमिफाइनलभन्दा माथि पुर्‍याउन त सकेनन् तर, यहाँसम्मको यात्रामा स्ट्राइकर र कप्तानको हैसियतमा उनको मुख्य भूमिका रह्यो।

त्यसैले शनिबार इङ्ल्यान्डले बेल्जियमविरुद्ध तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्दा पनि आफ्नो टोलीलाई विजयी बनाउन केनले अघिल्ला खेलमा जस्तै सशक्त प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। सन् १९६६ मा उपाधि जितेको इङ्ल्यान्डले त्यसबाहेक कुनै पनि विश्वकपमा दोस्रो वा तेस्रो स्थान हात पार्न सकेको छैन। यस पटक पनि दोस्रो स्थानको सम्भावना छैन। यद्यपि बेल्जियलाई पराजित गर्न सकेमा तेस्रो स्थान हात पार्ने पक्का छ, जुन इङ्ल्यान्डका लागि सन् १९६६ मा जितेको उपाधि पछिको उत्कृष्ट नतिजा बन्नेछ।

यसमा कप्तान र मुख्य स्ट्राइकरको हैसियतमा देशलाई ५२ वर्षपछिकै ठूलो सफलता दिलाएको जस लिने अवसर केनसँग हुनेछ। लामो वा छोटो दूरी, खुट्टा वा टाउकोबाट उत्तिकै गोल गर्न माहिर मानिएका केन आफ्नो यही क्षमताले टोलीलाई जारी विश्वकपमा सम्भव रहेको अन्तिम सफलता दिन सक्षम रहने अपेक्षा गरिएको छ। त्यससँगै उनले जारी विश्वकपमा सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जित्ने सम्भावना पनि रहेको छ। एक ह्याट्रिकसहित हालसम्म ६ गोल गरेका केन जारी प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीको शीर्ष स्थानमा रहेका छन्।

रोमेलु लुकाकू (बेल्जियम)

बेल्जियमको स्वर्णिम पुस्ताका रूपमा चिनिएको टोलीसँग जोडिएका खेलाडी हुन्, रोमेलु लुकाकू। टोलीका मुख्य स्ट्राइकरका रूपमा रहेका लुकाकूले बेल्जियमको पछिल्लो सफलतामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्। जारी विश्वकपमा पनि टोलीको सेमिफाइनलसम्मको यात्रामा लुकाकूकै महत्वपूर्ण योगदान रह्यो। अग्रपंक्तिमा उनै लुकाकूले नियमित गोल गरेपछि टोली अघि बढेको थियो।

फ्रान्ससँग सेमिफाइनलमा १-० गोलले पराजित भएपछि बेल्जियम अहिले इङ्ल्यान्डसँग तेस्रो स्थानका लागि खेल्ने तयारीमा छ। यो खेलमा पनि टोलीलाई विजयी बनाउन लुकाकूले अघिल्ला खेलमा जस्तै सशक्त योगदान पुर्‍याउने अनुमान गरिएको छ। लुकाकू यस्ता खेलाडी हुन्, जसले विपक्षी टोलीको डीबक्स नजिक थोरै मात्र समय र ‘स्पेस’ पाउने हो भने उनी त्यसमा गोल निकाल्न सक्षम हुने छन्।

शारीरिक रूपमा निकै सशक्त लुकाकू आफ्नो खुट्टामा बल पुगेपछि निश्चित रूपमा गोल गर्छन्, गोल सम्भव नभएको अवस्थामा पनि उनी आफ्ना सहकर्मीलाई बल उपलब्ध गराउछन्। त्यही प्रदर्शनले लुकाकू चार गोलसहित जारी प्रतियोगितामा गोल्डेन बुटको प्रतिस्पर्धामा इङ्ल्यान्डका हेरी केनलाई पछ्याइरहेका छन्। उनले तेस्रो स्थानको प्रतिस्पर्धामा आफ्नो गोल संख्या बढाउन सकेमा बेल्जियले विश्वकपमा पहिलो पटक तेस्रो स्थान मात्रै हात पार्ने छैन, लुकाकूले पनि गोल्डेन बुट जित्ने सम्भावना रहन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.