तीन अन्नपूर्णकर्मीलाई शिक्षा पत्रकारिता पुरस्कार
काठमाडौं : शिक्षा क्षेत्रमा कलम चलाउने विभिन्न सञ्चारकर्मी तथा संचार गृहलाई शिक्षा पत्रकारिता पुरस्कार वितरण गरिएको छ।
नेपाल पत्रकार महासंघ र शिक्षा विभागले संयुक्त रुपमा पुरस्कार वितरण गरेको हो। शुक्रबार महासंघमा आयोजित कार्यक्रममा पुरस्कार वितरण गरिएको छ। पुरस्कार पाउनेमा अन्नपूर्ण पोष्ट्का तीन सहकर्मी छन्।
अन्नपूर्ण पोष्ट्का तनहु सम्वाददाता पवन पौडेल, प्युठान सम्बाददाता केशर रोका र वझाङ सम्वाददाता जगदीश रोकाया रहेका छन्। यस पटकको राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार ५१ हजार नगद सहित रुपन्देहीमा कार्यरत पत्रकार कृष्ण मल्ललाई प्रदान गरिएको छ।
उपत्यका प्रदेशबाट २० हजार राशीको पुरस्कार रेडियो नेपालका चन्द्र वानियालाइ प्रदान गरिएको छ। यसैगरी प्रदेशगत रुपमा प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार नगद २० हजार सहित ८ जनालाई, प्रादेशिक शिक्षा लेखनवृत्ति पुरस्कार नगद १५ हजार सहित १६ जनालाई तथा विभिन्न ८ संचार गृहलाई नगद २० हजार सहित संस्थागत शिक्षा पत्रकारिता पुरस्कार २०७४ प्रदान गरिएको छ।
प्रादेशिक पुरस्कार पाउनेहरुमा प्रदेश १ बाट निरोज कोइराला, प्रदेश २ बाट कृष्ण सिग्देल, प्रदेश ३ बाट चमारसिंह लामा, प्रदेश ४ बाट पवन पौडेल, प्रदेश ५ बाट पार्वती पाण्डे, कर्णाली प्रदेशबाट मेघराज खडका र प्रदेश ७ बाट गोकर्ण दयाल छन्।
२५ हजार राशीको संस्थागत शिक्षा पत्रकारिता पाउनेहरुमा पत्रिकातर्फ नागरिक दैनिक, टेलिभिजनतर्फ ईमेज च्यानल, रेडियोतर्फ प्रदेश १ को सोलु एफएम, २ बाट रेडियो निजगढ, ३ बाट रेडियो तिनलाल, रापेछाप, ४ बाट मनासुलु एफएम, गोरखा, ५ बाट रेडियो क्रिपालु प्यूठान, कर्णलीबाट चंखेली एफएम कालिकोट र ७ बाट सेती सामुदायिक एफएम बझाङ रहेका छन।
पुरस्कृत पत्रकार तथा संचार गृहलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले पुरस्कार प्रदान गरे। सो अवसरमा पोखरेलले, पीत पत्रकारिता र पार्टी पत्रकारिताले नेपाली पत्रकारिता बदनाम हुन खोजेको बताए। उनले समाज र मुलुकलाई सकारात्मक सन्देश जाने गरी कलम चलाउन सबै पत्रकारहरुलाई आग्रह गरे।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले कालो धनलाई मिडियामा लगानी गरेर बदनाम गर्न खोज्नेहरु विरुद्ध खबर्दारी गर्नु पर्ने बताए। महासंघ जहिले पनि श्रमजीवी पत्रकारहरुको पक्षमा रहेको बताउँदै भने, ‘ पत्रकारहरुको हकहित सुरक्षाको लागि महासंघ सधै कटिवद्ध छ।’