डोपिङले पिरोलेन विश्वकपलाई

डोपिङले पिरोलेन विश्वकपलाई

मस्को : रुसमा जारी २१औं विश्वकप फुटबलमा खेलाडीले प्रतिबन्धित औषधि सेवन गरेको कुनै पनि घटना फेला नपरेको विश्व फुटबल महासंघ (फिफा) ले जनाएको छ। विश्वकपलाई ध्यानमा राखी गत जनवरीदेखि प्रतिबन्धित औषधि सेवन (डोपिङ) परीक्षणका लागि खेलाडीको चार हजार नमुना संकलन गरिए पनि कुनै खेलाडी परीक्षणमा असफल नभएको फिफाको दाबी छ।

विश्वकप फुटबलको इतिहासमा पछिल्लो पटक सन् १९९४ मा खेलाडीले प्रतिबन्धित औषधि सेवन गरेको घटना फेला परेको थियो। अमेरिकामा भएको उक्त विश्वकपमा अर्जेन्टिनी खेलाडी डिएगो म्याराडोना डोपिङ परीक्षणमा असफल भएका थिए। जारी विश्वकपका क्रममा पनि डोपिङ परीक्षणका लागि विभिन्न टोलीका खेलाडीबाट ६ सय २६ वटा नमुना संकलन गरिएको थियो।

प्रत्येक खेल सकिएपछि दुवै टोलीका दुई÷दुईजना खेलाडीबाट डोपिङ परीक्षणका लागि नमुना संकलन गरिँदै आएको छ। यसैगरी खेल नभएको दिन पनि विभिन्न टोलीका खेलाडीको नमूह संकलन गर्ने गरिएको फिफाले जनाएको छ। खेल नभएको दिन हालसम्म विभिन्न टोलीका खेलाडीबाट एक सय आठवटा नमुना संकलन गरिसकिएको छ।

सेमिफाइनलसम्म पुग्ने चार टोली क्रोएसिया, फ्रान्स, बेल्जियम र इङ्ल्यान्डका खेलाडीबाट ६ महिनाको अवधिमा आठ पटक नमुना संकलन गरिसकिएको पनि फिफाले जनाएको छ। विश्वकप सुरु हुनुअघि डोपिङ विवादमा परेपछि पेरुका कप्तान पाओलो ग्वेरेरोले प्रतियोगिता गुमाउने अवस्था सिर्जना भएको थियो। दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनोटका क्रममा उनीमाथि प्रतिबन्धित औषधि सेवन गरेको आरोप लागेको थियो। तर, घटना प्रमाणित हुन नसकेपछि उनी प्रतिबन्धमा पर्नबाट जोगिएका थिए।

फिफाले विश्व फुटबलमा प्रतिबन्धित औषधिको सेवनलाई कुनै पनि हालतमा सहन नगरिने पनि बताएको छ। ‘फुटबल विश्वकै सर्वाधिक लोकप्रिय र सुन्दर खेल हो। खेलमा अनुशासन र निष्पक्षताको पनि उत्तिकै महत्व रहेको हुन्छ। त्यसैले हामी फुटबलमा प्रतिबन्धित औषधिको सेवनलाई रत्तिभर पनि सहन नगर्न प्रतिबद्ध छौं’, फिफाले भनेको छ।

यसैबीच, फिफाले जारी विश्वकपका क्रममा नियम उल्लंघन गरेको आरोपमा इङ्ल्यान्ड फुटबल संघ (एफए) लाई जरिबाना तिराउने निर्णय गरेको छ। खेलका क्रममा फिफाले निर्धारण गरेको पोसाकलाई बेवास्ता गर्दै इङ्ल्यान्डका तीनजना खेलाडीले अन्य व्यापारिक प्रतिष्ठानद्वारा उत्पादित खेलसामग्री प्रयोग गरेको आरोपमा एफएलाई जरिबाना तिराइएको हो।

इङ्ल्यान्डका तीन खेलाडी डेल अली, एरिक डियर र रहिम स्टर्लिङले फिफाको खेल पोसाकसम्बन्धी नियम उल्लंघन गर्दै अन्य कम्पनीबाट उत्पादित मोजा प्रयोग गरेको समाचारमा जनाइएको छ। सोही आरोपमा फिफाले एफएलाई ५० हजार पाउन्ड जरिबाना तिराउने निर्णय गरेको हो। यी तीनैजना खेलाडीले स्विडेनविरुद्घको क्वार्टरफाइनल खेलका क्रममा फरक कम्पनीको बजार प्रवद्र्धन गर्ने उद्देश्यले फिफाको नियम उल्लंघन गरेका थिए।

यसअघि स्विडिस फुटबल संघलाई पनि पोसाकसम्बन्धी नियम उल्लंघन गरेको आरोपमा फिफाले जरिबाना तिराइसकेको छ। स्विडेनका केही खेलाडीले पनि अन्य कम्पनीबाट उत्पादित मोजा प्रयोग गरेका थिए। जारी विश्वकपमा इङ्ल्यान्ड र स्विडेनलाई तिराइएको जरिबाना दोस्रो ठूलो रकम हो। यसअघि समर्थकले मैदानमा अनावश्यक वस्तुहरू फालेको आरोपमा अर्जेन्टिनी फुटबल संघलाई ८० हजार पाउन्ड जरिबाना तिराइएको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.