परम्पराको बन्दी भानु विमर्श
—महेश पौड्याल
कुनै पनि युगपुरुषको अध्ययनलाई आमपाठकको रुचिअनुसारको चेतनप्रवाहको जिम्मा लगाइयो भने त्यसमा एउटा ठूलो जोखिम हुन्छ । त्यो के भने, आमपाठकको चेतना समयसँगै प्रभावित हुन्छ र नयाँ युगका नयाँनयाँ विचारधाराबाट प्रभावित भइदिन्छ । यसो हुँदा नयाँ मानक बन्दै जान्छन् र पुराना छुट्दै जान्छन् । विश्वमा आज अंग्रेजी साहित्यका कैयौं कलेजहरूमा सेक्सपियरको नामै नलिई स्नातकोत्तरको अध्ययन सकिन्छ । यो कुनै आश्चर्यको कुरा होइन ।
मेरो मूल्यांकनमा राष्ट्रिय अथवा जातीय महत्वको कुनै पनि स्रष्टालाई जीवन्त राख्न दुइटा कुराले सहयोग गर्छ । पहिलो, राष्ट्रिय पाठ्यक्रममा उसको उपस्थिति र दोस्रो उसको वस्तुगत समालोचना ।
सन्दर्भ भानुभक्त जयन्तीको छ, यस आलेखमा नेपाली भाषासाहित्यको पाठ्यक्रममा भानुभक्त कति र कसरी समेटिएका छन्, त्यसलाई हेर्ने कोसिस गरिएको छ । आलेखको उत्तराद्र्धमा भानुको स्तुतिगान र आलोचनामा देखिएका दुई अतिहरूको बीचमा भानुविमर्श कसरी धूमिल भएको छ, त्यसलाई पनि चिहाउने प्रचेष्टा गरिएको छ ।
पाठ्यक्रमका भानुभक्त
नेपाली भाषासाहित्यको पाठ्यक्रममा सानैदेखि भानुभक्त पढाइन्छ नै । यो पढाइ भानुभक्तको जीवनी र उनका रचनाले दिएको नैतिक शिक्षामा सीमित छ । हुन त यो स्कुली शिक्षाको सीमाले पनि होला । तर, यसले भानुभक्तलाई देवत्वकरण गर्ने दिशामा नै बालमस्तिष्कको मलजल गरेको छ, जसले भानुवादको पृष्ठपोषण गरेको छ । भानुभक्तको भव्य व्यक्तित्वको सत्यापन त्यसले गरेको छ र उनको विभूति संस्करण स्थापित गरेको छ । तर, उनी पनि हामीजस्तै मान्छे हुन् र उनको रचनालाई आलोचनात्मक दृष्टिले पनि हेर्न सकिन्छ र हेर्नुपर्छ भन्ने चेत त्यस छनोटले कहिल्यै पनि उत्पन्न गर्न सकेन । फलतः समयसँगसँगै भानुभक्त एउटा मिथकीय पात्र बन्दै गएका छन् र उनको जन्मजयन्ती एउटा धार्मिक पर्वजस्तो । ठूलो कदको कुनै पनि स्रष्टाका लागि यो एउटा घातक कुरा हो ।
नेपाली स्कुलको पाठ्यक्रमको कुरा गर्दा निम्न माध्यमिक तहको नेपालीमा कक्षा ६ मा धरणीधर कोइरालाको ‘भानुभक्त श्रद्धाञ्जली’ भन्ने एउटा कविता छ, जसमा एउटा कविको अर्को कविप्रतिको सम्मान देखाइएको छ । सारमा यो कविता भानुस्तुति हो । कक्षा १० को पाठ्यक्रमका भानुभक्तको ‘प्रश्नोत्तर’ कविता लामो समयसम्म पढाइयो र अझै पढाइँदैछ भने, कक्षा १२ को मानविकी र शिक्षाशास्त्र अन्तर्गतको ऐच्छिक नेपाली विषयमा फेरि पनि ‘प्रश्नोत्तर’ कविता समाविष्ट छ । शिक्षाशास्त्र अन्तर्गतको स्नातक दोस्रो वर्षमा भानुभक्तको ‘नीतिका कुरा’ समाविष्ट छ ।
मानविकी संकाय अन्तर्गतको स्नातक दोस्रो वर्षको पाठ्यक्रममा पूर्व-आधुनिक नेपाली कविताअन्तर्गत भानुभक्तको ‘रामायण’को अयोध्याकाण्ड समाविष्ट छ भने मानविकी संकाय स्नातकोत्तर तहको प्रथम वर्षमा भानुभक्तीय रामायणको निर्धारित अंशलाई समाविष्ट गरिएको छ । निजी प्रकाशन गृहले निकालेका नेपाली भाषाका पाठ्यपुस्तकहरूमा भानुको जीवनी, घाँसीको सन्दर्भ तथा प्रश्नोत्तर कवितालाई नै बढी समाविष्ट गरेको पाइन्छ ।
नेपालबाहिर पनि भानुभक्त पढाइन्छ । असममा कक्षा ९ मा ‘राम, भरत, लक्ष्मण शत्रुघ्न जन्म’ पढाइन्छ भने १० कक्षामा ‘हनुमानको लंका प्रवेश’, ‘रामायण शिक्षा’ र ‘घाँसी’ पढाइन्छ । असममै कक्षा १२ को पाठ्यक्रममा ऐच्छिक नेपाली पढ्ने विद्यार्थीलाई भानुभक्तको ‘सुन्दरकाण्ड’ पढाइन्छ । मणिपुरमा कक्षा १० मा ‘भानुभक्तको रामायणमा मौलिकता’ शीर्षकमा जगत क्षेत्रीले लेखेको एउटा निबन्ध समाविष्ट छ । सिक्किम र दार्जिलिङको स्कुली पाठ्यक्रम पनि नेपाली विषयको हकमा भानुको जीवनी, ‘प्रश्नोत्तर’ कविता तथा ‘रामायण’को अंशमै सीमित छन्।
विद्यापति अथवा शुभानन्द दासको कतै आलोचना हुँदैन । त्यसैले उनीहरू एक पुरातात्िवक प्रस्थान बिन्दुभन्दा माथि केही पनि रहेनन् । तर, भानुको आलोचना हुन्छ र उनी सधैं चर्चामा आइरहन्छन् ।
बंगालमा स्नातक तह नेपालीमा भानुभक्तीय रामायणको ‘सुन्दरकाण्ड’ पढाइन्छ । काशी विश्वविद्यालयमा स्नातकोत्तर दोस्रो सेमेस्टरमा भानुभक्तको रामायणबाट ‘सुन्दरकाण्ड’ पढाइन्छ । स्नातकोत्तर तहमा ‘तुलनात्मक सुन्दरकाण्ड’ सन्दर्भ पुस्तकको रूपमा राखिएको छ । ‘भानुभक्त स्मारक ग्रन्थ’ पनि सन्दर्भ पुस्तकअन्तर्गत राखिएको छ । यसैगरी दोस्रो सेमेस्टरमै इन्द्रबहादुर राईद्वारा लिखित ‘भानुभक्तका कृति’ तथा ताना शर्माको ‘भानुभक्तदेखि तेस्रो आयामसम्म’, भवानी घिमिरेद्वारा सम्पादित ‘भानू’ पत्रिकाको भानुभक्त विशेषांक, मोतीराम भट्टको ‘भानुभक्त आचार्यको जीवनचरित्र’, बालचन्द्र शर्माको ‘भानुभक्त’, नरनाथ आचार्यको ‘आदिकवि सम्राट् भानुभक्त आचार्यको जीवनचरित्र’ तथा कविता लामाको ‘भानुभक्त आचार्यको भाषिक अध्ययन’ आदि सन्दर्भ पुस्तक हुन् ।
उता गुवाहाटी विश्वविद्यालयमा स्नातक तह प्रथम सेमेस्टरमा तुलसी अपतनको ‘भानुभक्त’ तथा भानुभक्त आचार्यको ‘तारालाई अर्ति’ समाविष्ट छन् र यहाँ पनि ताना शर्माको ‘भानुभक्तदेखि तेस्रो आयामसम्म’ भन्ने सन्दर्भ ग्रन्थ हो । सिक्किम विश्वविद्यालयले स्नातकोत्तर पहिलो सेमेस्टरमा भानुभक्तको ‘बालाजी वर्णन’ पढाउँछ भने प्रवीणता तह दोस्रो सत्रमा भानुको ‘रोजरोज दर्शन पाउँछु’ समाविष्ट गरेको छ । यसैगरी तेस्रो सत्रमा बालकृष्ण समको ‘भक्त भानुभक्त’ नाटक समाविष्ट गरिएको छ । स्नातक चौथो सत्रमा विशेष अध्ययनअन्तर्गत भानुभक्त र उनको ‘रामायण’लाई पाठ्यसामग्री बनाइएको छ ।
यसरी पाठ्यक्रममा भानुभक्त यथेष्ट रूपमा देखा परेका छन्, यद्यपि नेपाली स्कुलको पाठ्यक्रममा भने उनको उपस्थिति निकै पातलो छ । जति छन्, ती परम्परित छन्दको स्वाद, उनको विहंगत महिमामण्डन तथा उनले छोडिगएका नैतिक शिक्षाका लागि पढाएको पाइन्छ । पाठ्यक्रमले भानुभक्त नेपाली साहित्यका आदिकवि हुन् भन्ने तथ्यचाहिँ बलियोसँग स्थापित गरेको पाइन्छ ।
अतिवादको चपेटामा भानुभक्त
भानुभक्तबारे भन्न अथवा लेख्न नयाँ कुरा केही छैन भने, बोल्नु वा लेख्नु बेकार भइसकेको छ । सधैं पुराना र स्टकमा रहेका, साझा ज्ञानको घटक बनिसकेका कुराहरूको पुनरावृत्तिले भानुविमर्शको गति कुण्ठित भइसकेको छ । भानुभक्त व्यक्ति कम र संस्कृति बढी भइसकेकाले उनको नामका वरिपरि एउटा ठूलो जोखिम विद्यमान छ । त्यो के भने, समय सँगसँगै उनी एउटा ‘वाद’ बनेका छन् र भानुभक्तवादीहरू उनलाई एउटा भावनाको तहबाट पढिरहेका छन् । भानुभक्तले प्रतिनिधित्व गर्ने मूल विचारप्रवाह भनेको नेपाली समाजको मूलधारको प्रतिनिधि चिन्तन हो, जसमा सीमावर्ती चिन्तनको खासै प्रतिनिधित्व भएको पाइँदैन र स्थान पनि दिइएको हुँदैन । त्यसैले नेपाली समाजको परिवर्तित स्वरूपमा भानुभक्तका यथेष्ठ आलोचकहरू जन्मिएका छन् । केही क्षण यी पक्ष-विपक्षको मनोविज्ञानको विश्लेषण गरौं ।
भानु समर्थकहरूले एउटा अघोषित भानुवादी सम्प्रदाय बनाएका छन्, नेपालमा । उनीहरूको भानुअध्ययन प्रभाववादी छ । भानुबारे नयाँ आयामको उत्खनन पनि गर्दैनन् र भानुलाई विश्व मञ्चमा आलोकित गर्ने काम पनि गर्दैनन् । भानुमाथि घनिभूत विमर्श गर्न कुनै जर्नल प्रकाशित हुँदैन । ‘भानू’ पत्रिकाको छासमिस र अखबारी प्रकाशनले भानु अध्ययनमा नयाँ आमाय थप्न सक्छ भनेर विश्वास गर्न सकिँदैन ।
उता आलोचकहरू भानुलाई यथास्थितिको प्रतिनिधि ठान्छन्, तर ‘बधुशिक्षा’का एकदुई नारीविरोधी सिलोकको वर्षैपिच्छेको पट्ट्यारलाग्दो पुनरावृत्तिबाहेक उनीहरू पनि सिन्को भाँच्दैनन् । यस प्रकारका भानुआलोचकमा केही नारी र केही सीमान्तकृत वर्गका चिन्तक पर्छन्, जसले यो फगत एउटा राजनीतिक र गैरप्राज्ञिक उपक्रम हो भन्ने बुझाउँछ । उनीहरू सधैं एउटै कुरा रटिरहेका छन् र त्यसको अभीष्ट भानुलाई आलोचनात्मक मस्तिष्कले पुनः अध्ययन गरौं भन्नेभन्दा पनि केन्द्रभीरु हिन्दु सनातन परम्पराको प्रतिनिधिका रूपमा भानुभक्तको आलोचना गरेर उनलाई सामाजिक विभेदको एउटा कारकका रूपमा चित्रण गर्नु रहेको देखिन्छ ।
यस प्रकारका सतही र पुनरावृत्तिदोषबाट ग्रसित आलोचकहरूको भानुविमर्शमा खासै अर्थपूर्ण उपस्थिति हुँदैन । पुनरावृत्तिले उनीहरू पढ्दैनन् भन्ने कुरा प्रमाणित हुन्छ र पाठकहरूले नपढ्ने चिन्तकलाई चिर कालसम्म गम्भीर रूपमा लेलान् भन्ने पनि लाग्दैन । उनीहरूले भानुलाई आलोचना गर्ने नयाँनयाँ कोणहरू निर्माण गर्न सक्नुपथ्र्यो ।
जहाँसम्म भानुवादीहरूको सन्दर्भ छ, उनीहरू पूर्णतः प्रभाववादी हुन् । आलोचना पटक्कै सहँदैनन् । बेलायती समालोचक र सांस्कृतिक वस्तुवादका प्रवर्तक रेमन्ड विलियम्सले प्रसिद्ध नर्वेजियन नाटककार हेनरिक इब्सेनका बारेमा भनेका छन्, इब्सेनवादीहरूकै कारण इब्सेनको सही मूल्यांकन हुन सकेन । यसै वादको प्रभावमा परेकै कारण जर्ज बर्नाड सा र आन्तोन चेखभजस्ता प्रतिभाशाली व्यक्तिहरूले पनि इब्सेनलाई भजन गरेरै सिध्याए ।
रेमन्ड विलियम्सको प्रश्न थियो— मान्छेलाई रंगमञ्चबाट हटाएर परिस्थतिलाई नाटकमा ल्याउने र राजामहाराजाका कथाबाट नाटकलाई आममान्छेसँग ल्याउने इब्सेनले किन मञ्चनको पुरानै शैली अँगाले ? उनको प्रगतिशीलताको रक्सी किन पुरानै बोतलमा राखे ? तर, अतिशय इब्सेनमोहका कारण उनका समर्थकले उनीमाथि औंलो उठाएनन् । इब्सेन परिवर्तित परिप्रेक्ष्यमा सान्दर्भिक रहिरहन सकेनन्, जसरी नयाँ विधिको अविष्कार गरेकै कारण बर्तोल्त ब्रेख्त प्रणेता बने । विश्व परिवेशमा हेर्ने हो भने इब्सेन आज कुनै नयाँ नाटककारका लागि रोल मोडेल होइनन् र नयाँ अध्येताका लागि आकर्षण होइनन् । जबकि, हजार आलोचनासहित ब्रेख्ट-अध्ययन आजसम्म जीवित छ र नयाँनयाँ दिशातिर उन्मुख छ ।
जहाँसम्म आलोचनाको प्रश्न छ, वस्तुगत आलोचना पचाउन हिम्मत र संस्कार दुवै चाहिन्छ । भानुभक्तका आलोचकहरूले उनको ‘बधुशिक्षा’ विभेदकारी छ भनेर भनेको कुरा भानुभक्तकै कतिपय श्लोकहरूले पुष्टि गरेको छ । ‘त्यो बेला त्यस्तै थियो’ भन्ने तर्क पनि गलत लाग्छ मलाई, किनकि विकृत समाज र समयमा कवि त्यस्तो एउटा चेतना हो, जो उक्त विकृतिभन्दा माथि उठ्न सक्नुपर्थ्र्याे र विद्रोह गर्न सक्नुपथ्र्याे । उनले सकेनन् र उनको आलोचना जायज छ । परावर्तनवादी चिन्तन हुनेहरू साहित्यलाई समयको दर्पण ठान्छन् तर फगत एउटा दर्पण हुनलाई कवित्व चाहिन्न, मौलिक चिन्तन चाहिन्न । कोरा यथार्थमाथि कविको निजी चेतनाको लेपन परेपछि समाचार अथवा कल्पना साहित्य बन्ने हो । भानु यस चेतनामा अलिकति चुकेका हुन् ।
तर, भानुवादी यी आलोचना पचाउँदैनन् । यसको अर्थ, विश्व साहित्यको परिपाटीमा कटु आलोचनाको कुन स्थान रहँदै आएको छ, त्यसको बोध उनीहरूलाई छैन । विश्व कलाको इतिहासमा नवजागरण काल भनेर चिनिने समयमा पेन्टिङ चरमोत्कर्षमा पुग्यो र विश्वले लियोनार्दो दा भिन्ची, माइकल एन्जेलो, बोटिसेलीजस्ता महान् स्रष्टाहरू जन्मिए । यसको पृष्ठभूमि के थियो भन्दा त्यो बेलाका आलोचकहरू यति कटु थिए रे कि चित्रकलामा अलिकति कतै चुक्यो भने निर्मम बज्रन्थे रे ।
साहित्यमा पनि आलोचनाको यही भूमिका रहँदै आएको छ । प्लेटोले गरेका आलोचनाले सुकरात आलोकित भए र एरिस्टोटलले गरेको आलोचनाका कारण प्लेटो अमर भए । नारीवादीहरू आजपर्यन्त एरिस्टोटललाई महिलाहरू अर्धनिर्मित पुरुष हुन् भनेका कारण उनको आलोचना गरिरहेका छन् । आफ्ना नाटकहरूमा नारी पात्रलाई कमजोर देखाएका कारण र हेम्लेट भन्ने नाटकमा ‘अविश्वसनीय हुनु नै नारी हुनु हो’ भनेर लेखेका कारण आजपर्यन्त सेक्सपियर आलोचित छन् र त्यसैले चर्चित पनि छन् ।
उनको दृष्टिभित्र निहित साम्राज्यवादी चिन्तनको पर्दाफास नवइतिहासवादीहरूले गरे र जोनाथन डोलिमोर र एलेन सिन्फिल्डले त ‘पोलिटिकल सेक्सपियर’ भनेर पुस्तकै निकाले । विश्वप्रसिद्ध जर्मनेली दार्शनिक इमान्युल कान्तले युरोपमा मात्रै बुद्धिमानीहरूको जन्म हुन्छ भनेका कारण उनको घोर आलोचना भयो । आलोचनाबाट किन डराउनु ? आलोचनाले लेखकमाथि जीवन्तता थप्छ ।
मलाई लाग्छ, आलोचनाले नवीन दृष्टिबिन्दुहरू दिन्छ । आलोचना बेठीक छ भने त्यो विमर्श अगाडि बढ्दै बढ्दैन । तर, आलोचनामा कुनै नवीन दृष्टिको भ्रूण छ भने त्यसले उक्त लेखकलाई नयाँ प्रकाशमा आलोकित गर्छ र जीवित राख्छ । आज विद्यापति अथवा शुभानन्ददासको कतै आलोचना हुँदैन । त्यसैले उनीहरू एक पुरातात्िवक प्रस्थानबिन्दुभन्दा माथि केही पनि रहेनन् । तर, भानुको आलोचना हुन्छ र उनी सधैं चर्चामा आइरहन्छन् । यो सुखद कुरा हो नै । तर, यो आलोचनालाई समयको स्वभावअनुसार नवीकृत गर्न भने सकिएको छैन ।
भानु विमर्शमा एउटा ठूलो समस्या छ । यो अहिले उनको जीवनी, घाँसीको प्रेरणा, मौलिक नेपाली भाषामा योगदान, नैतिक शिक्षा आदिको पुनरावृत्तिकै वरिपरि घुमिरहेको पाइन्छ । परिवर्तित सन्दर्भहरूमा उनको उपादेयतामाथि चर्चा सुनिँदैन । उनको मौलिक दार्शनिक पक्षबारे बोल्दैनन्, समालोचकहरू । लोकको हित गर्नैका लागि नारद सत्यलोक पुगे भन्ने भानुभित्र निहित ‘लोकको हित’को प्रश्न एउटा अतिशय आधुनिक, प्रजातान्त्रिक र कल्याणकारी प्रश्न हो । तर, यो दर्शन उनका श्लोकहरूमा बन्द रह्यो र कहिल्यै चर्चाको विषय भएन । आखिर, यी तिनै भानु हुन्; जसले हाँस्ने नारी वेश्यातुल्य हुन्छन् भनेर आलोचना कमाए । तर फेरि, यी तिनै भानु पनि हुन्, जसले लोककल्याणको हेक्का र अभीष्ट राखे र पात्रलाई परिचालित गराए । हाम्रो आलोचना कहिलेसम्म एकांगी र आफूअनुकूल मात्रै हुने ?
श्लोकहरूमा बन्दी बनेका भानुभक्तलाई प्राज्ञिक र मर्यादित विमर्शमा उतार्नुपर्छ । भानुभक्त अध्ययनलाई आधुनिक सिद्धान्तहरूको दायराभित्र ल्याउनुपर्छ । उनको जीवनी, महिमागान र रामायण सन्दर्भभन्दा पृथक भानुको विश्वदृष्टि र दार्शनिक चेतनामाथि प्रकाश पर्नुपर्छ र उनको व्यक्तित्वको बृहत्तर अध्ययन, विमर्श र प्रमाणिक समालोचनामार्फत विश्वसामु पस्कनुपर्छ । नत्र, भानु किंवदन्ती हुनेछन् र समयसँगै स्रष्टा कम र मिथक बढी हुनेछन् । आखिर चौधौं शताब्दीमा आधुनिक अंग्रेजी साहित्यको जग बसाउने जेफ्री चौसरको स्थान र नेपाली भाषासाहित्यमा भानुभक्तको स्थान उही नै हो ।
त्यो बेला बेलायतभरि विभिन्न भाषा बोलिने सन्दर्भमा पूर्वीय मिडलेन्ड भाषिकालाई टिपेर चौसरले साहित्यको भाषा बनाइदिए, जुन विकसित हुँदै आजको अंग्रेजी भाषा बन्न पुग्यो । उनको ‘केन्टरबरी टेल’ले उही लोकप्रियता पायो, जुन भानुभक्तले ‘रामायण’का कारण पाए । चौसरका पनि ‘द वाइफ अफ बाथ’ आदि रचना नारीविरोधी छन् र उनी पनि आलोचित छन् । तर पनि चौसरका रचनाहरूलाई आधुनिक सिद्धान्तहरूबाट पढ्दै, उनलाई नवीकृति गर्दै लगिएकाले उनी आज पनि उत्तिकै जीवन्त छन् । तर, भानुभक्त विमर्श पुरानो शैलीकै वरिपरि घुमिरहेको छ, जुन दुःखद कुरा हो ।
लाग्छ, नवीकरणको अभावमा भानुभक्त दिन दिन एउटा मिथकीय पात्र बन्दैछन् । जुन दिन एउटा स्रष्टा मिथक बन्छ, त्यसै दिन यसको मृत्यु पनि हुन्छ । भानुलाई लहसिँदै गरेको मृत्युबाट बचाउनु जरुरी छ । उनको विमर्शलाई नवीन सिद्धान्तहरूको कसीमा नवीकृत गरिनु जरुरी छ ।