विरोधको कर्मकाण्ड
नेपालका राष्ट्रिय विभूति भानुभक्त आचार्य नेपाली भाषासाहित्यमा आदिकविका रूपमा परिचित छन् । कतिपयले उनको आदिकवित्वमा वादविवाद गरेको पाइए पनि त्यसलाई अभिधाका रूपमा नहेरी लक्षणाका रूपमा हेर्नुपर्ने हुन्छ । उनलाई समयका दृष्टिले नभएर लोकप्रियता र प्रभावकारिताका दृष्टिले आदिकवि मानेको कुरा सबैले बुझ्नु जरुरी छ । रामायणको अनुवादमार्पmत नेपाली भाषालाई असाक्षरहरूका माझमा पुर्याएर साझा भाषाका रूपमा लोकप्रिय गराउन उनको योगदान महत्वपूर्ण छ । रामायणबाहेक यिनले वधूशिक्षालगायत थुप्रै कृति लेखेका छन् ।
नेपालीमा वधूशिक्षा नामक कृति भानुभक्तले लेखेका हुन् भन्ने कुरा नेपाली साहित्यमा रुचि राख्ने अधिकांशलाई जानकारी हुनुपर्छ तर भानुभक्तबाहेक अन्य व्यक्तिले पनि यसै शीर्षकमा कृति लेखेको कुराचाहिँ धेरैलाई जानकारी नभएको अनुभव हुन्छ । वेदनिधिद्वारा लिखित ११४ पृष्ठमा संरचित वधूशिक्षा १९५६ सालमा प्रकाशन भएको छ । प्रकाशकका रूपमा विश्वराज हरिहर प्रकाशक रहेको यो कृति विन्ध्यवासिनी प्रेस बनारसबाट छापिएको र यसको मूल्य २५ पैसा रहेको जानकारी पाइन्छ । यसैगरी वीर पुस्तकालयमा सत्र श्लोकमा संरचित वधूशिक्षा फेला परेको कुरा उल्लेख गर्दै अन्वेषक बालकृष्ण पोखरेलले उक्त वधूशिक्षाको पूर्णपाठ नेपाली भाषा र साहित्य नामक कृतिमा दिएका छन् । उल्लिखित सत्र श्लोके वधूशिक्षामा ‘संवत् १९१३ साल मिति श्रावण वदि २ रोज ७ शुभम्’ भनेर लेखिएको छ ।
भानुभक्तले बधूशिक्षा नामक कृतिमा अभिव्यक्त गरेका धारणालाई माध्यम बनाएर यिनीमाथि प्रहार गरेको पाइन्छ । यसखाले प्रहारमा आपूmलाई नारीवादी तथा प्रगतिवादी भनाउन चाहने केही व्यक्तिहरूको निकै चुरीफुरी देखिन्छ । त्यस्ता व्यक्तिहरूले अरू बेला भानुभक्तको निन्दा गरे पनि सरकारद्वारा भानुभक्तका नाममा प्रदान गरिएको रकममा देशविदेश घुमेर मस्ती गर्दै बाँकी रहेको रकमका लागि निकै चर्काचर्की गरेको यथार्थ पनि सबैका सामु छर्लंगै छ ।
नेपालीमा भानुभक्तले वधूशिक्षामा व्यक्त गरेको ‘हाँस्नू छैन कदापि नारिहरूले’ भन्ने श्लोक नै विरोधको तारो भएको देखिन्छ । यस कृतिको विरोध गर्नेहरूले नेपाली साहित्य राम्रोसँग नपढेको अनुभव हुन्छ । त्यसैले उनका बारेमा गरिएको विरोध हाहाका पछाडि दौडिएको र कर्मकाण्डीय प्रवृत्तिको देखिन्छ ।
भानुभक्तले वधूशिक्षामा अभिव्यक्त गरेको धारणालाई विरोध गर्नेले एकपटक बालकृष्ण समका नाटकहरू सर्सती पढिदिए पुग्छ । नेपालीका नाट्यसम्राट् मानिने बालकृष्ण समले आफ्ना थुप्रै नाटकमा विभिन्न नारी पात्रका माध्यमबाट पतिभक्तिको गुणगान गर्दै नारीहरू सत्चरित्र हुनुपर्ने कुरामा जोड दिएका छन् । ‘पति भक्ति त मर्दैन पापी पति भए पनि’, ‘पति प्रसन्न भए भने त तेत्तीसकोटि देवता पनि प्रसन्न होलान् ।
उनले जे गरे पनि जति दुख दिए पनि आफ्नै कर्मको भोग सम्झेर रहनु पर्छ’ भन्नेजस्ता समका कतिपय अभिव्यक्तिहरू साहित्यमा रुचि राख्ने सामान्य पाठकलाई त जानकारी हुनुपर्ने हो । सौताका सन्दर्भमा पनि दुवैको भनाइ मिल्दोजुल्दो देखिन्छ । ‘सौताको रिस गर्नु पाप छ बहुत एकै दुवैका पति’ भनेर भानुभक्तले बधूशिक्षामा उल्लेख गरेका छन् भने समले यसभन्दा पनि अघि बढेर ‘सौता हाले भनेर पतिसित रिस गरे, आपूmलाई नराम्री बनाए भनेर ब्रह्मासित रिस गरे पनि भो’ भन्ने अभिव्यक्ति ‘म’ नाटकमा दिएका छन् । ‘मुकुन्द इन्दिरा’मा ‘नारीहरू केवल पुरुषका कठपुतली मात्र हुन्’ भन्ने भाव व्यक्त गर्ने समले ‘म’ नाटकमा ‘शास्त्रैको कुरा, स्वास्नीमान्छेले फुक्का नहुनु रे’ भन्नसम्म पनि बाँकी राखेका छैनन् ।
भानुभक्तका बारेमा गरिएको विरोध हाहाका पछाडि दौडिएको र कर्मकाण्डीय प्रवृत्तिको देखिन्छ ।
समको ‘स्वास्नीमान्छे’ नाटकमा उल्लिखित सबै सहभागी काल्पनिक हुन् । यस नाटकमा नारी सहभागीहरूले आफ्नो कर्मक्षेत्रमा लगनशीलता पूर्वक जुटेर अभूतपूर्व सिद्धि हासिल गरी धर्तीलाई स्वर्गसमान बनाउन सफलता प्राप्त गरेका छन् । सामाजिक व्यवस्थामा आवश्यक यी सहभागीहरूको प्रयास र सफलता स्तुत्य छ, तर पुरुषोचित प्रवृत्तिका रूपमा रहेको अहंकारलाई सद्गुणमा परिवर्तन गराउन खोज्दा ठूलो दुर्घटना भई उनीहरूले हासिल गरेका सम्पूर्ण वैभव र सिद्धिहरू नष्ट हुन पुगेका छन्, अनि स्वर्गसमान धर्ती र सम्पूर्ण व्यवस्था नै तहसनहस भएको छ । नारीले जतिसुकै उन्नति एवं प्रगति गरे पनि उनीहरू पुरुषकै छत्रछायामा रहनुपर्ने भाव अभिव्यञ्जित यस नाटकमा नारीले पुरुषमा रहेका अहंकारजन्य प्रवृत्तिको सम्मान गर्दै लगनशीलतापूर्वक कर्म गरे मात्र उनीहरू सफल हुनसक्ने दृष्टिकोण समको रहेको पाइन्छ ।
ससानो कुरालाई सामान्य पात्रका माध्यमबाट पनि उच्च बौद्धिक तथा दार्शनिक संवादको आयोजना गर्न रुचि राख्ने समका अधिकांश नाटकमा मातृशक्तिको गुणगान गर्दै उसको महत्ताको बयान गर्न सकिने स्थिति पनि प्रशस्त मात्रामा रहेका छन् । पूर्वीय तथा पाश्चात्य दर्शन एवं साहित्यका जानकार समले अध्ययन गरेका वाङ्मयमा मातृशक्तिको महत्ता उल्लिखित थिएन कि भनेर शंका गर्नु पनि व्यर्थ हुन्छ । यति हुँदाहुँदै पनि समले मातृशक्तिको गरिमा र प्रभावकारी भूमिकालाई प्रस्तुत गर्ने रुचि देखाएका छैनन् । कुनै पनि सर्जक आफ्नो युगबाट प्रभावित र प्रेरित हुन्छ । उसका कृतिमा युगको छायाँ पर्छ भन्ने सिद्धान्त पनि नारीसम्बन्धी दृष्टिकोणबाट समका सन्दर्भमा लगभग असफल भएको देखिन्छ । गोपालप्रसाद रिमालले २००३ सालमै अस्तित्वबोध भएकी विद्रोही नारीपात्र युवती र उसको विद्रोहलाई ‘मसान’ नाटकमा प्रस्तुत गरिसकेका थिए । तर, समले नारीलाई पारम्परिक मर्यादा र हिन्दु आदर्शको घेराबाट बाहिर निस्कनै दिएनन् ।
भानुभक्तले भोगेको परिवेश र समले देखेभोगेको परिवेशमा लगभग नौ दशक लामो अन्तराल छ, तर आफ्ना कृतिमा उनीहरूले अभिव्यक्त गरेको दृष्टिकोण भने समान छ । त्यसमा पनि पहाडी गाउँको एक सामान्य ब्राह्मण परिवारमा जन्मेर धार्मिक एवं पुरातन शिक्षा प्राप्त गरेका भानुभक्तको खोइरो खन्ने व्यक्तिहरू नै उही दृष्टिकोण अभिव्यक्त गर्ने समलाई समानता र स्वतन्त्रताको स्वर उराल्ने प्रगतिवादी, मानवतावादी र उदारवादी साहित्यकारका रूपमा चर्चा गर्न पछि परेका छैनन् । राजधानीमा जन्मेर पूर्वीय एवं पाश्चात्य दर्शन र साहित्यको समेत अध्ययन गर्ने मौका पाएका समका कृतिबारे कोही नबोल्नुले भानुभक्तका विरुद्ध दिइएका अभिव्यक्ति पूर्णरूपेण कर्मकाण्डी देखिन्छ । यसप्रकारको एकांगी दृष्टिकोण राख्नु एउटा सचेत पाठकका लागि पक्कै पनि सुहाउँदो हुँदैन । यसर्थ हरेक कुराको विश्लेषण वस्तुवादी ढंगबाट गरिनु उपयुक्त हुन्छ ।
भानुभक्तको प्रशंसा र समको आलोचना गर्ने अभीष्टबाट प्रेरित भई यी सन्दर्भको उल्लेख गरिएको होइन । दुवैको स्थान नेपाली साहित्यमा विशिष्ट छ । भानुभक्तभन्दा लगभग नौ दशकपछाडिका समका कृतिमा केही नदेख्ने नारीवादी एवं प्रगतिवादी पाठकले एउटै दृष्टिकोणका लागि भानुभक्तलाई मात्र आक्रमणको तारो बनाउनु भनेको लेखनका लागि आवश्यक सन्दर्भको अध्ययन नै नगरी लेखकलाई संकीर्ण दलीय स्वार्थका आँखाबाट हेर्नु हो, युगीन यथार्थलाई नबुझ्नु हो, अनि पूर्वाग्रहले ग्रसित भएर विषवमन गर्नु हो । यसर्थ हरेक साहित्यकारलाई युगसापेक्ष ढंगले वस्तुवादी चिन्तनका साथ मूल्यांकन गरिनुपर्छ । यसो गरिएमा भानुभक्तको पनि वस्तुपरक मूल्यांकन हुन्छ र उनीप्रति पनि अन्याय हुँदैन ।
अर्काेतिर वधूशिक्षामा भानुभक्तको आलोचना गर्नेहरू कसैले पनि भीमनिधि तिवारीले ‘वरशिक्षा’ लेखिदिएकोमा तिवारीप्रति कृतज्ञताचाहिँ व्यक्त नगरेको किन ? नेपाली साहित्यका कतिपय सचेत पाठकलाई नेपालीमा वरशिक्षाजस्तो कृति पनि लेखिएको छ भन्ने थाहा नपाएको स्थिति पनि छर्लंगै छ । ‘बधूशिक्षा पढेकी बुहारी जुन घरमा आउलिन् त्यहाँ वरशिक्षा पढेको छोरो रहला । फलतः नेपालीको त्यो घर घर नभएर मन्दिर होला’ भन्ने कामनाका साथ भीमनिधि तिवारीले २०१० सालमै वरशिक्षा लेखेका हुन् । पूर्वार्ध र उत्तरार्धमा गरी दुई भागमा संरचित यस काव्यको पूर्वाद्र्धमा ६६ र उत्तराद्र्धमा ६६ श्लोक समाविष्ट छन् । अझ नारीको आदर्शवादी स्वरूपको कल्पना गरेर ‘सहनशीला सुशीला’ जस्तो नाटक लेख्ने तिवारीको यस काव्यमा उल्लिखित अधिकांश श्लोकहरू अहिलेका प्रगतिवादी एवं नारीवादी दृष्टिमा पनि प्रशंसा गर्न लायक छन् ।
समका यी कृतिहरू लामो समयदेखि विश्वविद्यालयका पाठ्यक्रममा समाविष्ट छन् । विश्वविद्यालयको पाठ्यक्रममा भएका कृतिचाहिँ नपढ्ने र पाठ्यक्रममा नभएका कृतिमा उल्लिखित श्लोकलाई लिएर वादविवाद गर्नुले हाम्रो अध्ययनशीलतालाई स्पष्ट रूपमा देखाएको छ । हुन त कृति नै नदेखी नाम सुनेकै भरमा अन्धाधुन्ध हावादारी विश्लेषण गरेर समकालीन साहित्यको मोटै इतिहास तयार गर्न पनि हामी समालोचकहरू माहिर भइसकेका छौं ।
यसभन्दा पनि अझ अघि बढेर ‘देविका तिमल्सिना, शशि भण्डारी, शारदा कोइराला, यशु श्रेष्ठ, सानु लामा, गंगा श्रेष्ठ, गंगा उपाध्याय, कुमुद अधिकारी महिला हुन् कि पुरुष छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने’ वक्तव्य सार्वजनिक रूपमा दिन सक्ने महान् समालोचकहरूको बोलवाला भएका सन्दर्भमा सामान्य पाठकले पढ्दै नपढी हाहामा कर्मकाण्डी विरोध गर्नु कुनै नौलो कुरा होइन । तर, हामी आपूm बाँचेको समाजप्रति अलिकति पनि दायित्वबोध गर्छाैं भने नराम्रा कुराको आलोचना त गर्नैपर्छ । साथै, सोही सन्दर्भका विपक्षमा लेखिएका राम्रा कुराको प्रचार एवं प्रशंसा गर्नु पनि हाम्रो दायित्वभित्र नै पर्छ कि ? यसैले अब हाहामा दौडेर कसैको आलोचना गर्नुभन्दा गम्भीर अध्ययनतर्पm हाम्रो ध्यान जानु जरुरी भइसकेको छ ।
प्रकाशित साहित्य सामाजिक सम्पत्ति भएकाले त्यसबारे आफ्ना धारणा राख्ने छुट सबैलाई छ । कुनै पनि स्रष्टाका कृतिको आलोचना गर्न सर्वप्रथम उसले भोगेको पारिवारिक एवं सामाजिक परिवेशको विश्लेषण गर्नुपर्ने हुन्छ । कुनै पनि लेखक एवं उसका कृतिका बारेमा आफ्नो धारणा सार्वजनिक गर्नुअघि अन्य लेखकका तत्सम्बन्धी रचनाको पनि तुलनात्मक अध्ययन गरिए मात्र सम्बन्धित लेखक र उसका रचनामाथि न्याय हुन सक्छ । बिनाअध्ययन क्षणिक आवेग एवं विरोधकै लागि लेखक वा रचनाबारे धारणा सार्वजनिक गर्नु त्यति उचित हुँदैन । त्यसैले भानुभक्तको विरोध गर्नेहरूले बालकृष्ण समका सबै नाटक, सत्र श्लोके वधूशिक्षा, वेदनिधिको वधूशिक्षा, भीमनिधिको तिवारीको वरशिक्षा पनि पढेर तुलनात्मक अध्ययनका साथ आफ्ना धारणा सार्वजनिक गर्ने हो कि ? अन्यथा हाम्रो विरोध कर्मकाण्डकै लागि मात्र हुने निश्चित छ ।
पौराणिक विषयवस्तुलाई युगीन सामाजिकताको रंग दिएर महाकाव्य रचना गर्ने भानुभक्तको रामायणमा प्रयुक्त कथावस्तु पुराणको भए पनि यसमा तत्कालीन नेपाली समाजका प्रशस्त झलकहरू पाइन्छन् । भानुभक्तले रामायणका माध्यमबाट तत्कालीन समाजका विभिन्न भाषा र संंस्वृmतिका बीच समन्वय गर्ने उल्लेख्य कार्य गरेका छन् । प्रस्तुत कृतिका माध्यमबाट शैशवावस्थामै रहेको नेपाली भाषालाई कविताका माध्यमबाट नेपाली जनमानसमा लोकप्रिय तुल्याउने यिनको प्रयास सराहनीय छ । सरल, सहज र चोखो मीठो नेपाली भाषाशैलीको प्रयोग गर्ने भानुभक्तको भाषा प्रभावकारी र प्रवाहमय हुनाका साथै जीवन्त पनि छ । नेपाली भाषाले त्यति स्तरीय स्वरूप प्राप्त गर्न नसकेको अवस्थामा यसलाई सर्वसाधारणले समेत बुझ्ने गरी सरल ढंगमा प्रयोग गर्नु भानुभक्तको उल्लेख्य पक्ष हो, जसले गर्दा नेपाली भाषा जन जनको हुन पुगेको हो ।
यसका साथै यसलाई प्रमुख साहित्यिक भाषा बनाउन पनि उनको ठूलो योगदान गरेको छ । यिनको यो सेवा भाषाप्रेम, राष्ट्रप्रेम र जातिप्रेमसँग सम्बद्ध भएकाले यिनलाई नेपालीका जातीय कवि मानिन्छ । नेपालबाहिर त यिनी कतिसम्म लोकप्रिय छन् भने भानुभक्तका बारेमा कविता नलेख्ने कवि त्यहाँ भेट्टाउनै मुस्किल छ । नेपाली भाषालाई आफ्ना काव्यद्वारा साझा भाषाका रूपमा लोकप्रिय गराउनु यिनको अत्यन्त ठूलो योगदान हो । सर्वसाधारणले सजिलै बुझ्ने भाषा प्रयोग तथा मुखाग्र रूपमा वाचन गर्न सक्ने लोकप्रिय छन्दको प्रयोग गरी मौलिकताका साथ लेखिएको भानुभक्तको रामायण नेपालीको अत्यन्त लोकप्रिय कृति हो र यसबाटै यिनको खास पहिचान बनेको हो । नेपाली कविताको सिंगो प्राथमिक कालकै केन्द्रीय कवि र लोकप्रिय महाकाव्यकार भानुभक्त आचार्य समयका दृष्टिले प्रथम कवि नभए पनि प्रभावकारिताका दृष्टिले सशक्त र नेपालीका पहिलो जातीय कवि भएकाले यिनलाई आदिकवि मानिएको हो ।