ह्विलचेयर क्रिकेटर पुरस्कृत
काठमाडौं : सरकारले पहिलो त्रिदेशीय ह्विलचेयर क्रिकेट प्रतियोगिताका विजेता नेपाली टोलीका खेलाडीलाई जनही एक लाख रुपैयाँ पुरस्कार प्रदान गरेको छ । युवा तथा खेलकुद मन्त्रालयमा शुक्रबार मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले नगद पुरस्कार प्रदान गरे ।
गत मंसिर २८ देखि पुस १ गतेसम्म काठमाडौंमा आयोजित पहिलो अन्तर्राष्ट्रिय ह्विलचेयर टीट्वेन्टी क्रिकेट प्रतियोगितामा नेपाली टोली पहिलो भएको थियो । भारत र बंगलादेशसमेत सहभागी प्रतियोगितामा नेपाली टोलीले भारतलाई हराउँदै उपाधि जितेको थियो । हिमाल अर्याल कप्तानीको नेपाली टोलीमा डिगमसिंह चेम्जोङ, राजु गुरुङ, दानबहादुर थिङ, विष्णु अधिकारी, विपिन पौडेल, यमबहादुर श्रेष्ठ, रामबहादुर तामाङ, भरतबहादुर कार्की, फणिनारायण पौडेल र डम्बरबहादुर मगर थिए । रवीन्द्र गुप्ता नेपाली टोलीको व्यवस्थापक थिए ।
टोलीका प्रशिक्षक सुधिर चौधरी तथा खेलाडी जंगबहादुर मगर र नवीन राईको नाम भने फरक परेकाले उनीहरूलाई पछि पुरस्कृत गरिने मन्त्रालयले जनाएको छ । २०७४ पुस १३ गतेको मन्त्रिपरिषद् बैठकले उपाधि विजेता टोलीका १६ जना खेलाडीलाई जनही एक लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको थियो ।