एकै नगरपालिकाको दुई नगरसभा, जनप्रतिनिधि पनि दुर्इतिर विभाजित
दुनै, डोल्पाः ठुलीभेरी नगरपालिकामा २ वटा नगरसभा हुने भएका छन् । नगरपालिकाको केन्द्र विवादका कारण नगरप्रमुख र उपप्रमुखबीच मत बाझिँदा नगरसभा पनि दुवैतिर हुने भएको हो ।
जुफाल केन्द्रका नगरप्रमुख गणेशबहादुर शाहीले सडक र कृषिलाई विषेश प्राथमिकतामा राख्दै शुक्रबार नगरसभा गरेका छन् । उनले आर्थिक वर्ष २०७५÷०७६ को चाुल र पँजीगततर्फ गरी कुल बजेट २८ करोड ९१ लाख ८५ हजार रुपैयाँ बराबरको बजेट बिनियोजन गरेका छन् ।
नगरपालिकाको ५१ सदस्यमा २७ सदस्यसहितको बहुमत सदस्यको संख्याले नीति तथा कार्यक्रम पारित गरेको नगरप्रमुख शाहीले जानकारी दिए । यता दुनै केन्द्रका पक्षमा २५ जना सदस्य रहेका छन् । तर नगरकार्यपालिकाका २१ सदस्यमध्ये १३ जना उपप्रमुखको पक्षमा रहेकाले दुनैमा पनि उपप्रमुखले ३१ गते नगरसभा गर्ने तयारी गरेका छन् ।
केन्द्र विवादका कारण गत फागुनदेखि ठुलीभेरी नगरपालिकामा योजनाका काम भन्दा आन्दोलन र बहुमत आफनो पक्षमा राख्न जनप्रतिनिधि तल्लिन रहेको नागरिकको गुनासो रहेको छ ।
केन्द्रको विवादकाबीच नगरप्रमुख शाहीले नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्न बारम्बार पत्राचार गरी पहल गरेपनि दुनै पक्षका जनप्रतिनिधि नआएपछि जुफाल केन्द्रमा नगरसभा सम्पन्न गरिएको नगरप्र्रमुख शाहीले बताए । नगरपालिकाको केन्द्र अघिल्लो वर्ष असार ३१ गते नगरसभाको बहुमतले तोकेका कागजात पेश भएपछि फागुन १४ गते राजपत्रमा प्रकाशित भइसकेको छ ।
२९ गते जुफाल केन्द्रमा नगरप्रमुखले युवालाई कृषिमा आत्मनिर्भर पार्न साहुलियत ऋण, तरकारी तथा फलफूल खेतीमा अनुदान दिनेसहितका कार्ययोजना ल्याएका छन् । त्यसका साथै १७ वटा कानुनसमेत पारित गरेको प्रमुख प्रशासकीय अधिकृत केशब सुनारले जानकारी दिए ।
जुफाल केन्द्रमा भएको नगरसभा बहिष्कार गरेका उपप्रमुखसहित १, २, ३, ४, ६, १० र ११ का वडाअध्यक्ष र कार्यपालिकाका सदस्यहरुले भने दुनैमा सोमबार नगरसभा गर्ने उपप्रमुख योगेन्द्रबहादुर शाहीले जानकरी दिए ।
कार्यपालिकाका बहुमत सदस्यले पारित गरेको नीति तथा कार्यक्रमलाई नगरसभामा प्रस्तुत गरिने बताउँदै त्यो कानुनसंगत पनि हुने तर्क शाहीले गरेका छन् । उनले जुफालमा शुक्रबार भएको नगरसभा ऐन बिपरित भएको पनि जिकिर गरेका छन् ।
केन्द्र विवादका कारण नगरसभा बस्न नसक्ने भएपछि संघीय मामिला मन्त्रालयले २६ गते जिल्ला समन्वयले समन्वय गरि नगरसभा गराउन पत्राचार गरे पनि नगरप्रमुखले नगरसभा जुफालमा सम्मपन्न गरिसके भने उपप्रमुख सोमबार गर्दैछन् ।
जिल्ला समन्वय समितिले दुवै पक्षलाई समन्वय गर्न नसकेपछि मन्त्रालयमा नसकिने पत्राचार गरिसकेको जानकारी दिएको छ । केन्द्र विवादका कारण नगरपालिकाका २ र ३ वडाका योजना सम्झौता नै भएका छैन भने अन्य केही वडाका योजना समेत सम्पन्न हुन सकेका छैनन् ।