टिपर आतंक : १८ वर्षीया अनुजाको सपना यसरी भयो चकनाचुर

टिपर आतंक : १८ वर्षीया अनुजाको सपना यसरी भयो चकनाचुर

काठमाडौं : चितवन भरतपुरकी १८ वर्षीया अनुजा घिमिरे दाइ अनुजसँग कलंकीस्थित ठूलो बुबाको घर जाँदै थिइन् । चितवनमै १२ कक्षाको परीक्षा दिएकी उनी केही समयअघि उच्च शिक्षा पढ्ने अभिलासासहित काठमाडौं आएकी हुन् । तर उनको उच्चशिक्षा पढ्ने अभिलासा त्यतिखेर चकनाचुर भयो, जब उनी सवार मोटरसाइकल दुर्घटनामा पर्‍यो । दाइ अनुजले चलाएको मोटरसाइकललाई सोल्टीमोडमा टिपरले ठक्कर दिँदा उनको निधन भयो ।

कुपन्डोलमा डेरा गरी बस्दै आएकी अनुजा एसएसपी विनोद शर्मा घिमिरेकी भतिजी हुन् । एसएसपी विनोदसँगको भेटमा अनुजाले आफू काठमाडौंमा पढ्ने बताएकी थिइन् । शनिबार कलंकीमा ठूलो बुबा दिवाकर घिमिरेले दाजुबहिनीलाई खाना खान निम्त्याएका थिए । सोहीअनुसार बा ९६ प ४९११ नम्बरको मोटरसाइकलमा कलंकी पुग्नै लाग्दा टिपरले उनीहरूलाई ठक्कर दिएको हो । टिपरले पछाडिबाट ठक्कर दिएको अनुजको भनाइ छ । मोटरसाइकलको पछाडि बसेकी अनुजालाई टिपरले ठक्कर दिँदाबित्तिकै उनी भुइँमा पछारिइन् । त्यसमाथि चालकले अनुजामाथि नै टिपर कुदाएपछि उनमा ढुकढुकी मात्रै बाँकी थियो । तत्काल उनलाई बल्खुस्थित वयोधा हस्पिटल त पुर्‍याइयो । तर उनलाई चिकित्सकले बचाउन सकेनन् ।

आफैंले चलाएको मोटरसाइकल दुर्घटनामा परेर बहिनीको ज्यान गएपछि अनुज विक्षिप्त अवस्थामा छन् । घटनालगत्तै एसएसपी विनोद पनि महानगरीय प्रहरी वृत्त कालिमाटी र वयोधा हस्पिटल पुगेका थिए । मोटरसाइकलाई ठक्कर दिएर बहिनी भुँइमा पछारिएपछि पुनः टिपर चालकले ठक्कर दिएकोबारे अनुजले बताएको एसएसपी विनोदको भनाइ छ । ‘पढाइमा अब्बल अनुजाले उच्च शिक्षा अध्ययनका लागि काठमाडौंमा राम्रो कलेज खोज्दै थिइन्’, उनले भने, ‘यस्तो दुर्घटना आइलाग्यो, टिपर आतंक कहिले रोकिएला ? ’

सरकारले उपत्यकामा दिउँसोको समयमा टिपर गुडाउन नदिने निर्णय गरेको चार दिन नबित्दै यो अर्काे घटना भएको हो । सरकार आफैंले गरेको निर्णय कार्यान्वयन फितलो हुँदा अनुजाले मृत्युवरण गर्नुपरेको हो । यता महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी सुरेन्द्र मैनालीले भने शनिबार भएकाले टिपरलाई निर्माण सामग्री बोक्न छुट दिइएको जानकारी दिए । प्रहरीले ठक्कर दिने ना ७ ख ९४७५ नम्बरको टिपर र चालक राजकुमार तामाङलाई नियन्त्रणलाई लिएको छ । टिपर चापागाउँबाट धादिङ नौबीसेस्थित सिमेन्ट फ्याक्ट्रीका लागि ढुंगा बोकेर जाँदै थियो ।

जेठमा मात्रै टिपरको ठक्करबाट काठमाडौं र भक्तपुरमा गरी चार जनाको मृत्यु भइसकेको छ । यसअघि गत जेठ ३० गते जडिबुटीनजिकै ना ४ ख ३५८८ नम्बरको ट्रिपरले बा ७० प ९३९९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा रौतहट घर भई काभ्रे बस्दै आएकी अस्मिता भण्डारीको मृत्यु भएको थियो । जेठ नौ गते भक्तपुर नलिन चोकमा बा ३ ख ६६७४ नम्बरको टिपरले बा ५६ प १२२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा लोकन्थलीका हरिभक्त कटवाल, सविता घिमिरे र अविन्द्र घिमिरेको मृत्यु भएको थियो । २०७४ साउनदेखि जेठसम्ममा मात्रै उपत्यकामा टिपरको ठक्करबाट ३९ जनाले ज्यान गुमाइसकेको महाशाखाले जानकारी दिएको छ ।

टिपरको संरचना नै दुर्घटना निम्त्याउने छ

सीताराम हाछेथु, प्रहरी निरीक्षक

अहिले टिपरले दैनिक दुर्घटना निम्त्याइरहेका छन् । यसको प्रमुख कारण त्यसको ‘बडी स्ट्रक्चर’ नै हो । मैले धेरै टिपर चालकसँग सोधिसकें । र आफैं पनि चालक सिटमा बसेर हेरेको छु । चालक सिटबाट अगाडि बायाँतर्फको सवारी देखिँदैन । अगाडिको बम्पर पाँच फिट लामो हुन्छ । चालकले दायाँतर्फको लुकिङ ग्लासबाट सात फिट उचाइसम्मको सवारीसाधन मात्रै देख्छ । त्योभन्दा कम उचाइको भाग देख्दैन ।

अर्को कारण टिपरको संरचना फलामै फलामबाट बनेको एउटा ढिक्का जस्तै हुन्छ । अर्को सवारीले ठक्कर दिए पनि टिपर चालक जोगिने हुँदा उनीहरूमा अहंता बढी देखिन्छ । यो सँगै अधिकांश टिपरका चालक बढी जसो युवा छन् । अधिकांश साना सवारी टिपरको बायाँ भागबाट ओभरटेक गर्दा दुर्घटना हुँदा भएको देखिन्छ । आर्थिक बोझ नहुने भएपछि चालकमा लापरबाही बढेको हो । गाडी बिग्रियो, लाइसेन्स ट्राफिकले लियो, चालकले मान्छे नै मार्‍यो भने पनि सबै साहूले सबै आर्थिक व्ययभार बेहोर्छन् । चालकमा कुनै आर्थिक व्ययभार देखिँदैन।

मान्छे मार्दा पनि चालकको लाइसेन्स निलम्बन नहुने व्यवस्थाका कारण दुर्घटना बढेका हुन् । ट्राफिकले लाइसेन्स समातेको २४ घण्टाभित्र साहू वा चालकलाई बुझाउनुपर्ने नियम छ । दुर्घटनामा मिलापत्र भएपछि गाडी र चालकलाई छाड्नैपर्‍यो । तर दुर्घटनाका घाइते ६ महिनासम्म हस्पिटलमा उपचार भइरहे पनि चालकले गाडी निर्बाध गुडाइरहन्छन् । त्यसैले ठूला दुर्घटना निम्त्याउने चालकको लाइसेन्स निलम्बन गर्ने नियम आउनुपर्छ । त्यसैले २०४९ सालमा बनेको सवारी तथा यातायात व्यवस्था ऐन परिमार्जन गर्न जरुरी छ । ऐनमा जन्मकैदसम्मको व्यवस्था भए पनि चालक जेलबाट छुट्नेबित्तिकै गाडीको सिटमा बस्ने परम्परा रोक्नुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.