यस्तो हुँदैछ विश्वकप समापन समारोह
मस्को : अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र आयोजक रुसले आइतबार फ्रान्स र क्रोएसिया बीचको खेलसँगै सम्पन्न हुने २१औं संस्करणको विश्वकप फुटबलको समापन समारोह पनि छोटो हुने जनाएका छन् । फाइनल खेल सुरु हुनुअघि केही समयको सांगीतिक कार्यक्रम हुनेछ ।
यसअघि गत जुन १४ मा भएको विश्वकपको उद्घाटन समारोह मात्र ३० मिनेटको गरिएको थियो । समापन समारोह पनि ३० मिनेट सम्मको हुनेछ । लुझनिकी स्टेडियममा फ्रान्स र क्रोएसिया उपाधिको अन्तिम प्रतिस्पर्धाका लागि मैदानमा उत्रनु ३० मिनेटअघि सांगीतिक कार्यक्रम सुरु हुनेछ । उद्घाटनमा जस्तै समापन समारोहमा पनि नायक तथा र्यापर विल स्मिथ, अमेरिकन गायक निक्की जाम र कोसोभियन गायिका इरा इस्टेरिफीले सांगीतिक प्रस्तुति दिनेछन् ।
उनीहरूले जारी विश्वकपको आधिकारिक गीत ‘लिभ इट अप’ गाउनेछन् ।
सांगीतिक प्रस्तुति सकिएपछि जर्मनीलाई सन् २०१४ मा विश्वकपको उपाधि दिलाएका रक्षक एवं कप्तान फिलिप ल्हाम विश्वकपको ट्रफीसहित मैदानमा प्रवेश गर्नेछन् । उनलाई रुसी मोडल नाटालिया भोदियानोभाले साथ दिनेछिन् ।
विश्वकप ट्रफीलाई विशेष सुरक्षाका साथ रुस पुर्याइएको हो । ट्रफीलाई रुस पुर्याउन फ्रान्समा विशेष खालको ‘केस’ बनाइएको थियो । ल्हाम र भोदियानोभाले ट्रफी सार्वजनिक गरेपछि रुस विश्वकपको अन्तिम अर्थात् फाइनल खेल सुरु हुनेछ । फाइनल खेलमा सन् १९९८ को उपाधि विजेता फ्रान्स र पहिलोपटक फाइनलमा पुगेको क्रोएसिया एकअर्कासँग भिड्नेछन् ।
फाइनल खेलपश्चात् मेडल र ट्रफी वितरण समारोह हुनेछ । त्यससँगै २१औं संस्करणको विश्वकप फुटबल सम्पन्न हुनेछ । यसको चार वर्षपछि सन् २०२२ मा कतारले २२औं संस्करण आयोजना गर्नेछ ।
सन् २०२६ मा भने तीन अमेरिकी राष्ट्र क्यानडा, अमेरिका र मेक्सिकोले २३औं संस्करणको विश्वकप आयोजना गर्नेछन् ।