इतिहास दोहोर्याने र इतिहास रच्ने अवसर
मस्को : रुसमा जारी २१औं संस्करणको फिफा विश्वकपको उपाधिका लागि दुई युरोपेली टोली फ्रान्स र क्रोएसिया आइतबार एकअर्कासँग भिड्दै छन् । एक महिनाको प्रतिस्पर्धापछि फ्रान्स र क्रोएसिया मात्रै उपाधि होडमा बाँकी छन् ।
आइतबार साँझ हुने खेलपछि यी दुईमध्ये एकले फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको उपाधि उचाल्नेछ । त्यससँगै विश्वकप फुटबलमा नयाँ इतिहास बन्ने वा पुरानै इतिहास दोहोरिने पनि टुंगो लाग्नेछ । फ्रान्सले उपाधि जितेको अवस्थामा सन् १९९८ को इतिहास दोहोर्याउनेछ । त्यस बेला फ्रान्सले पहिलोपटक विश्वकप जितेको थियो । क्रोएसिया विजयी बनेको अवस्थामा विश्वकपमा नयाँ विजेता टोली जन्मिनेछ । त्यससँगै विश्वकप जित्ने टोलीको संख्या पनि नौ पुग्नेछ ।
यद्यपि उपाधिको छिनोफानो लाग्नुअघि यी दुई टोलीबीच कडा प्रतिस्पर्धा हुने निश्चित छ । फ्रान्स र क्रोएसिया दुवै टोली प्रतियोगितामा आफ्नो पहिलो खेलबाटै सशक्त प्रतिस्पर्धा गर्दै उपाधि नजिक पुगेका टोली हुन् । क्रोएसिया प्रतियोगितामा आफूले खेलेका सबै खेलमा जित हात पार्दै फाइनलसम्म पुगेको टोली हो । यस्तै फ्रान्सले पनि जारी प्रतियोगितामा आफूलाई अपराजित राखेको छ ।
यद्यपि दुवै टोलीले एकअर्काले दिने चुनौती पन्छाउँदै उपाधि जित्ने योजना बनाएका छन् । विशेष गरी दुई वर्षअघि आफैंले आयोजना गरेको युरोकपको फाइनलमा पुगेर पनि उपाधिबाट चुकेको फ्रान्स विश्वकपको उपाधि गुमाउन चाहँदैन । यस्तै पहिलोपटक फाइनलमा पुगेको क्रोएसिया पनि उपाधि जित्ने यो सुनौलो अवसरलाई यत्तिकै खेर जान दिने पक्षमा छैन ।
फ्रान्स र क्रोएसियाबीचको यो प्रतिस्पर्धालाई युवाविरुद्ध अनुभवी टोलीको प्रतिस्पर्धा पनि मानिएको छ । फ्रान्स प्रतिभाशाली युवा खेलाडीले भरिएको टोली हो । फ्रान्सेली टोलीमा केलियन एम्बाप्पे, राफेल भारान, सामुएल उमटिटी, पल पोग्बा, एन्टोइन ग्रिजम्यानलगायत क्षमतावान् युवा खेलाडी छन् । यस्तै क्रोएसियासँग कप्तान लुका मोड्रिड, इभान राकिटिच, इभान पेरिसिच जस्ता अनुभवी खेलाडी छन् । दुवै टोलीसँग उत्कृष्ट गोलरक्षक छन् । इङ्लिस क्लब टोट्टनहाम हर्टस्परसँग आबद्ध भएका फ्रान्सेली गोलरक्षक ह्युगो लोरिस र फ्रान्सेली क्लब मोनाकोबाट व्यावसायिक फुटबल खेल्दै आइरहेका क्रोएसियाली गोलरक्षक डानिजेल सुबासिच दुवैले जारी प्रतियोगितामा सशक्त प्रदर्शन गरेका छन् । सुबासिचले त प्रिक्वार्टरफाइनल र क्वार्टरफाइनल चरणका दुवै खेलमा आफ्नो टोलीलाई विजयी बनाउन टाइब्रेकरमा सशक्त प्रदर्शन गरेका थिए ।
त्यसका बीच तुलनात्मक रूपमा सबै क्षेत्रमा सन्तुलित देखिएको फ्रान्सलाई जितका लागि क्रोएसियाली बलियो मिडफिल्ड र उनीहरूको पेससँग केही बढी मेहनत गर्नुपर्ने देखिएको छ । जारी प्रतियोगिताको नकआउट चरणमा क्रोएसियाले फ्रान्सको भन्दा बढी समय उही रफ्तारमा खेलेको छ । प्रिक्वार्टरफाइनल, क्वार्टरफाइनल र सेमिफाइनलका तीनै खेलमा क्रोएसियाले थप ३० मिनेट खेल्दै जित हात पारेको छ ।
यो खेलले क्रोएसियाका लागि भने विगतमा फ्रान्सविरुद्ध बेहोरेको तीतो पराजयको बदला लिने अवसरसमेत जुराइदिएको छ । सन् १९९१ मा युगोस्लाभियासँग छुट्टिएपछि क्रोएसियाले सन् १९९८ मा स्वतन्त्र राष्ट्रका रूपमा पहिलोपटक विश्वकप खेलेको थियो । यद्यपि उपाधि जित्नुअघि फ्रान्सले क्रोएसियालाई सेमिफाइनलमै २–१ गोलले पराजित गर्यो । त्यसले त्यही पराजयको २० वर्षपछि विश्वकपमा दोस्रोपटक फ्रान्ससँग प्रतिस्पर्धा गर्न लाग्दा क्रोएसियाले पक्कै पनि बदलाको योजना बनाएको हुनुपर्छ । विश्वकपमा हालसम्म एकपटक मात्रै प्रतिस्पर्धा गरे पनि यी दुई टोलीले समग्रमा भने एकअर्कासँग पाँचपटक प्रतिस्पर्धा गरेका छन्, तीमध्ये फ्रान्सले तीन खेलमा जित हात पारेको छ । बाँकी दुई खेल बराबरीमा टुंगिएका छन् ।
विगतमा यी दुई टोली
कुल खेल : ५
फ्रान्स विजयी : ३
क्रोएसिया विजयी : ०
बराबरी : २