बम आक्रमणमा १३० को मृत्यु, १५० घाइते
इस्लामावाद : पाकिस्तानमा आसन्न निर्वाचनको प्रचारप्रसारका लागि गरिएको कार्यक्रममा भएको बम आक्रमणमा कम्तीमा १३० जनाको मृत्यु भएको छ। बलुचिस्तान प्रान्तको मास्तुङ जिल्लामा शुक्रबार भएको यस घटनामा १५० जना घाइते भएका अधिकारीले शनिबार जानकारी दिएका छन्।
मृत्यु हुनेमा एक स्थानीय नेतासमेत रहेकाछन्। घटनामा मृत्यु भएका र घाइते भएकाको यो विवरणको बलुचिस्तान प्रान्तका गृहमन्त्री अघा उमरले पुष्टि गरेका छन्। घाइतेलाई विभिन्न अस्पतालमा उपचार भइरहेको उमरले जानकारी दिए।
लडाकुहरूको समूह इस्लामिक स्टेट (आइएस)ले आफ्नो वेभसाइटमार्फत घटना आफूहरूले गराएको जिम्मेवारी लिएको छ। राजनीतिक नेता नवाजजादा सिराज राइसानीलाई लक्षित गरी आक्रमण गरेको जस्तो देखिएको मास्तुङका उपायुक्त क्विम लासरीले बताएका छन्।
उनले आफ्ना मतदातालाई सम्बोधन गरिरहेका बेला बम आक्रमण भएको थियो। पाकिस्तानमा पछिल्लो तीन दिनमा भएका विभिन्न घटनामा १३० भन्दा बढीको मृत्यु भएको छ भने २ सयभन्दा बढी घाइते भएका छन्। यही जुलाई २५ तारिखका दिन हुनलागेको निर्वाचनको मिति नजिकिँदै गर्दा हिंसाका घटना पनि बढ्दै गइरहेका छन्।