नवाज शरीफको समर्थनमा प्रदर्शन गर्ने १५ सय कार्यकर्तालाई मुद्दा
इस्लामावाद : नवाज शरीफको समर्थनमा र्याली निकालेको आरोपमा पीएमएल (एन)का १,५०० सय कार्यकर्ता, पूर्वप्रधानमन्त्री शाहिद खाकन अब्बासी र पञ्जाबका पूर्वमुख्यमन्त्री शाहबाज शरीफलगायत कैयौं नेतालाई आतंकवादको आरोपमा मुद्दा चलाइएको छ।
पाकिस्तानी प्रहरीका अनुसार पीएमएल(एन)का नेता र कार्यकर्तालाई कानुन उल्लंघन गरेको सम्बन्धमा मुद्दा चलाइएको हो। उनीहरूमाथि प्रहरी र रेन्जर्समाथि आक्रमण गरेको, सार्वजनिक सम्पत्ति तोडफोड गरेको, न्यायपालिका र सेनालाई गाली गरेको आरोप लगाइएको छ। पीएमएल(एन) का कार्यकर्ताले अल्लामा इकबाल विमानस्थलमा नवाज शरीफ र उनकी छोरी मरीयम नवाजको स्वागतका लागि जुलुस निकालेका थिए।
शाहबाज शरीफले उक्त जुलुसको नेतृत्व गरेका थिए। यसबाट धारा १४४ उल्लंघन भएको प्रहरीको भनाइ छ। एकै ठाउँमा एकै समय पाँच वा त्योभन्दा बढी व्यक्ति उपस्थित भएमा यो धारा आकर्षित हुने सरकारी दाबी छ। पीएमएल(एन)ले आफ्ना नेता कार्यकर्तामाथिको मुद्दा तत्काल फिर्ता लिन माग गरेको छ। मुद्दा लगाइएका अधिकांश नेता २५ जुलाइमा हुने निर्वाचनमा उम्मेदवार छन्। पीएमएल(ए) का प्रवक्ता मरियम औरंगजेबल भने, ‘हाम्रा नेताहरूलाई चुनावमा भाग लिन नदिन यस्तो मुद्दा लगाइएको छ। चुनाव प्रभावित बनाउन यी कदम चालिएका हुन्।’