भानुभक्त
नानी, तिमीले चिनेनौ ?
म उही बूढो भानुभक्त,
चुँदी रम्घाको आदिम मान्छे !
बिर्के टोपी, लबेदा सुरुवाल र पटुका
मैले लगाएको टोपी भादगाउँले होइन
ढाका पनि होइन
तानमा बुनेका लबेदा सुरुवाल।
म जन्मँदा नेपाल थियो
तर नेपाली थिएन
म बाहुन,
मैले सिकेको पढेको भाषा संस्कृत
तर म कहिल्यै बाहुन भइनँ
मैले लेखेको बोलेको भाषा कहिल्यै संस्कृत भएन।
मैले कसैलाई अतिक्रमण गरिनँ
कसैलाई कज्याइनँ
बरु, म हिँडेको गोरेटो पछ्याएर
मैलाई सादर खोजेर
तिमी र तिमीहरू हिँड्यौ
कुनै बेला नदी छेउमा उभिएका तिमी
मेरै लबेदाको फेर समातेर जँघार तरेका त हौ नि !
मैले नै त हो सिकाएको तिमीलाई
नेपाली वर्णमाला
मै त हुँ नि तिम्रो पहिलो पाठशाला !
मैले नै राखिदिएको हुँ तिम्रो नाम
नानी ! मैले नै जुराइदिएको नाम राखेर
तिमी, तिमी भएका छौ।
किन नचिनेजस्तो गर्छौ ?
मेरै पाठशालाबाट त सिकेका हौ तिमीले
बोल्ने सभ्यता !
बाँच्ने संस्कार !
मेरै पाठशालाबाट त ठम्याएका हौ तिमीले
हिँड्ने गोरेटो र
पुग्ने गन्तव्य !
अहिले म
झलझली देखिरहेछु—
मैलाई केन्द्रमा राखेर लोरी गाउँथ्यौ तिमी
मैले पढाएका ‘सिलोक’ गुन्गुनाएर
दुःख बिसाउँथ्यौ तिमी
मैलाई कथा हाल्थ्यौ
मेरै किंवदन्ती सुनाउँथ्यौ !
मैले नै सिकाएको भाषामा
‘आमा’ भनेका हैनौ तिमीले ?
मै त हुँ नि !
तिमी र तिमीहरू बीचको सेतु
थाहा छ—
तिमी उचाइमा पुगेको पनि
मेरै ‘आट’मा चढेर न हो !
मैले मेरै बिर्के टोपी लगाएर हिँडेको हुँ
तिमीलाई लाउनु त भनिनथेँ नि !
यति बेला किन दुख्छौ—
तिमीले आँगनमा सुकाएको बिस्कुन छर्दै पनि हिँडिनँ म
तिमीले बारीमा रोपेका मकैका टुसा कुल्चँदै पनि हिँडिनँ म
म त जंगलबीच
अक्करको अप्ठेरो बाटो हिँडेँ
बेरोकटोक निष्काम हिँडेँ
नानी !
म जहाँ पुगेँ त्यो नेपाल भएको छ— अहिले !
मेरो सालिक बनाऊ वा नबनाऊ
मेरो सालिक राख वा भत्काऊ
बनाउनु तिम्रो खुसी !
भत्काउनु तिम्रो खुसी !
न म सालिकमा बाँच्छु
न म सालिकमा मर्छु !
म त मैले चाहेर पनि मर्दिनँ, मर्न पाउदिनँ !!
तिमीले चिनेनौ ? !
मेरै शब्द सापटी मागेर
अचेल रात दिन
भोक–तिर्खा नभनी
काम–निद्रा नभनी
शब्द–भण्डार खाली हुने गरी
धारे हात पारेर
तिमी कुर्लिरहने मानिस –
म
अर्थात् भानुभक्त।