आफैंलाई बिर्संदै रोल्पा
संकटकालका अप्ठ्यारालाई ‘रात पनि ऐंठन परेको रातमा’ शीर्षकको निबन्ध संग्रहमा उनेपछि नवीन विभास तीन महिनासम्म भैरवनाथ गणमा यातना खप्न बाध्य पारिए। फेब्रुअरी १५ को इन्डियन एक्सप्रेसमा उक्त पक्राउ र यातनालाई कोट्याउँदै न्यायको खोजीका क्रममा नवीन लेख्छन्, ‘मजस्तो अकल्पनीय यातना भोगेका मानिसहरू विश्वास गर्छन्, हामीले द्वन्द्वका मूल कारण बिर्सनु हुँदैन।’
नवीन विभासको यो कथ्यले निकट विगतको स्मरण र विश्लेषणलाई इंगित गर्दछ। तर रोल्पा पुग्दै गर्दा निकट विगतप्रतिको अरुचि प्रस्ट देखियो। रोल्पामा तत्कालीन युद्धकालीन अवशेषहरूको अवसान भइरहेको छ। रोल्पाका स्कुले केटाकेटीलाई तत्कालीन घटनाको जानकारी छैन वा कम छ। यसको कारणबारे एक शिक्षकले भने, ‘युद्ध लडेका धेरैजसो विदेश भासिए। जो बाँकी छन् तिनीहरू यत्ति धेरै निराश छन्, त्यो बेलाको कुरै कोट्याउनै चाहँदैनन्।’
अर्थात् रोल्पा अहिले विगत बिर्सन चाहन्छ। किन ? यो प्रश्न अहिलेको सबैभन्दा भयंकर प्रश्न हो। किनभने यो प्रश्नले इतिहासको मूल्यांकन माग गर्दछ। केही इतिहासकार इतिहासलाई वर्तमानमाथि थोपर्नु हुँदैन भन्ने ठान्छन् तथापि वर्तमानको कडी इतिहासको गर्भमा हुन्छ भन्नेमा दुईमत नहोला। इतिहासको अध्ययन नगरिनु, नयाँ पुस्तालाई विगतका कथा-व्यथाबाट बाहेक पारिँदा हाम्रो समाज अपांग बन्नेछ। आफ्नै जराबाट छुटेको भविष्य अन्योलपूर्ण हुनेछ। तर युद्ध कथालाई वर्तमान रोल्पा न त बहादुरीका रूपमा न त भोगेको यथार्थका रूपमा बताउन चाहन्छ। यसको पछाडि रोल्पाले खपेको पीडा मात्र कारण होइन। संख्यात्मक विवरण दिइने ९६९ जनाको मृत्यु, ३३ जना बेपत्ता, ३२३ जना एकल महिला, ८६ जना टुहुरा बालबालिका मात्र रोल्पाको सत्य होइन। २४३०० सय घरधुरी भएको जिल्लामा ४९ हजार जनाको पासपोर्ट पनि सत्यको अर्को पाटो हो।
जब संघर्ष उपलब्धिमुखी हुँदैन र आफ्ना प्रयास सफलताउन्मुख हुँदैनन्, तब मान्छेहरू निराश बन्छन्। तिनले आफ्नै विगत कर्मको चर्चा गर्न उत्साह देखाउँदैनन्। ती विगतका यथार्थबाट भाग्छन्। तर निरन्तर परिवर्तनको चाह राख्ने व्यक्ति र संस्थाहरूले असफल प्रयासलाई पनि अभिलेखीकरण गर्छन्। किनभने सफलताको शिखर एकपटकमा पुगिँदैन। परिवर्तन निरन्तरका अभ्यासबाट सार्थक हुन्छ। तर सपनाहरूको हत्या भएपछि निराशाको भयंकर खाडल खनिँदो रहेछ। ती खाडलमा मान्छेका स्मृति पुरिँदा रहेछन्, जुन अहिले रोल्पामा देखिँदैछ। इतिहासप्रतिको यो मौनता निकै दिक्कलाग्दो छ। आन्दोलनको अवसानको नकारात्मक नतिजा नै इतिहासप्रतिको यो मौनताको कारण हो।
प्रश्न जायज छन्। माओवादी आन्दोलनको खास कारण समाजको संरचनात्मक समस्या हो भने अहिले संरचनात्मक परिवर्तन कति भयो ? के यो संरचनात्मक परिवर्तनले तत्कालीन समयमा उठान गरिएका प्रश्नहरूको समाधान गर्यो ? गरेन भने द्वन्द्वका बीउहरू समाजमा अझै विद्यमान छन् भनेर किन नस्विकार्ने ?
माओवादी आन्दोलनले सिंगो नेपाली समाजलाई प्रभाव पारेकै हो। आन्दोलनका उठान, विस्तार र बैठानका व्याख्याहरूमा विमति होलान्, तर आन्दोलनलाई समग्र पक्षबाट मूल्यांकन गर्दै स्मृितमा राखिरहनु नेपाली समाजको उन्नयनको निम्ति आवश्यक छ। होइन भने नेपाली समाजमा द्वन्द्वका बीउहरू बाँकी नै रहनेछन्।
अहिले रोल्पामा भकाभक बाटो खनिँदै छ। गैरसरकारी संस्थाहरूको हुल पसिरहेको छ। साधारण मानिसलाई लडाइँको उपलब्धिबारे प्रश्न गर्ने हो भने सडक देखाउँछन्, तर सडकसँगै पसिरहेको बियर, कोक र मिनरल वाटरको बोतलको थुप्रो भने देख्दैनन्। यसलाई आधुनिकीकरणको मिथ्या भाष्यसँग जोडिन्छ तर आज पनि रोल्पाली जनता दुईचार पैसाको आम्दानीका लागि अन्य जिल्ला र वैदेशिक रोजगारमा छन्। अलि सचेत मानिसहरू सुस्केराको भाकामा गुनासो गर्छन्, युद्धकालमा रोकिएको जाँडरक्सी फेरि बढेको छ। बालविवाह फेरि फर्किएको छ। आधुनिकताको लेपन लाग्दै गर्दा पनि कतिपय सन्दर्भमा आन्दोलनपूर्वको कुसंस्कारको पुनरागमनले के संकेत गर्दछ ? यसले सामाजिक आन्दोलनमा राजनीतिक पार्टीहरूको न्यून चासो र क्षमता अभिव्यक्त गर्दैन र ? किन आज पनि रोल्पालीहरू मुस्ताङमा बाटो खन्ने क्रममा मर्न विवश छन् ? किन सात कक्षामा ३७ विद्यार्थी भएको स्कुलमा आठ कक्षामा जम्मा १३ जना छन् ? रोल्पाको छातीभित्र फेरि पनि प्रश्नको भकारी छ।
मान्छेले बिर्सन चाहे पनि विगतले डसिरहन्छ। युद्धका घाउहरू बोकेर बाँचेको रोल्पामा युद्धका योद्धाहरूले नै स्थानीय तह नेतृत्व गरिरहेका छन्। तिनको काँधमा देशकै सबैभन्दा ठूलो जिम्मेवारी छ। तिनले स्थानीय स्रोतसाधन उपयोग गरेर, मानवीय श्रम क्षमता विस्तार गरेर रोल्पाको समग्र उन्नयनमा प्रभावकारी भूमिका निभाउन सके भने त्यो देशकै लागि उदाहरणीय बन्नेछ। तर युद्धका केही भौतिक अवशेषहरूलाई वस्तुकरण गर्दै व्यापारमा लागे भने, रोल्पाका प्राकृतिक स्रोतहरूको ब्रान्डिङको भूत सवार भयो भने कालान्तरमा युद्धपूर्वका समस्याको पुनरावृत्ति मात्र हुनेछ। रोल्पाबाट उदाएका यी नवीन नेताहरू पनि पञ्चायतकालभरि नै रोल्पाको प्रतिनिधित्व गर्ने बालाराम बन्ने सम्भावना पनि उत्तिकै रहन्छ।
इतिहास यसै बिर्सिइँदैन। इतिहासलाई विस्मृतिमा कैद गर्ने जमर्को इतिहासका घटनासँग भयभीतहरूले गरिरहन्छन् कोही घटनाले डामेका कारण र कोही घटनाले उठाएका प्रश्नहरूको उत्तर गुमाएका कारण। इतिहासको अध्यायलाई जोगाउने वा अन्जान भाष्यहरूको निर्माण गरेर प्रतिस्थापन गर्ने भन्ने खिचातानीमा फस्दैछ रोल्पा। गाँजा खेती युद्धको कारण थियो भन्ने मर्सिकोरको प्रस्तुति र युद्धको बीउ बाँकी नै छ भन्ने अलजजिराको विश्लेषण यसकै उदाहरण हो। हाइलाइट
इतिहासको अध्याय जोगाउने वा अन्जान भाष्यहरूको निर्माण गरेर प्रतिस्थापन गर्ने भन्ने खिचातानीमा फस्दैछ रोल्पा।