'कांग्रेसले विरोधका मुद्दा खोज्दै हिँड्न जरुरी छैन'
काठमाडौँ: उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनको प्रक्रियाबाट आएका जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्ने बताएका छन् । काठमाडौँ जिल्लाको दोस्रो जिल्ला सभाको उद्घाटन समारोहमा आज उनले जनताबाट निर्वाचित जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्नेमा जोड दिँदै विरोधका लागि मुद्दा खोज्ने बेला नभएको बताए ।
'डा गोविन्द केसी अनशन बस्नुभएको छ, उहाँको स्वास्थ्यलाभको कामना गर्दछु, उहाँले उठाएका मुद्दा ठीकै होला', उनले भने, 'ठीक माग भए सम्बोधन पनि होला, प्रतिपक्षले पनि विरोधका लागि विरोध गर्ने मुद्दा कहाँ कहाँ छन् भनेर खोज्न जरुरी छैन, फैसला जनताबाट निर्वाचित प्रतिनिधिले गर्न पाउनुपर्छ ।'
उनले विरोध गरेर समय बर्बाद पार्नभन्दा पनि आर्थिक विकास र समृद्धि सबैको अबको योजना हुनुपर्नेमा जोड दिँदै विकास निर्माण र सामाजिक सुधारका काम सबै एकताबद्ध भएर गर्नुपर्ने बताए ।
'लोकतन्त्र आइसकेपछि विरोध गर्नुपर्ने मुद्दा केही छैन, विरोधका लागि विरोध गरेर राष्ट्रलाई फाइदा हुँदैन', पोखरेलले भने, 'मुलुकको निर्माण र समृद्धिका लागि यो वा त्यो पार्टी भन्न मिल्दैन, गल्ली गरेमा प्रतिपक्षले मात्र होइन आफ्नै साथीलाई पनि भन्नुपर्ने हुन्छ ।'
उनले संविधान जारी भइसकेपछि मुलुकलाई नेतृत्व गर्ने सरकारहरुले कानून निर्माणमा लाग्नु पर्ने भएपनि सरकार बनाउने, टिकाउने खेलमा लागेको हुँदा आवश्यक कानून निर्माणका काम ढिलाइ भए पनि छिट्टै कानून बन्ने र काममा नरोकिने प्रतिबद्धता जनाए ।