साताको पहिलो दिन आठ अंकले बढ्यो बजार
काठमाडौँ: बीमा, होटल, जलविद्युत् र उत्पादन समूहको शेयर कारोवार उकालो लागेपछि आज शेयर बजारमा सकारात्मक प्रभाव परेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज सेयर मापक नेप्से परिसूचक ८.११ बिन्दुले बढेर एक हजार २०० बिन्दुमा पुगेको छ ।
यस्तै ‘क’ वर्गका कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.७६ बिन्दुले उकालो लागेको छ । कूल १७० कम्पनीको छ लाख ६७ हजार ४३४ कित्ता सेयर रु १९ करोड ३८ लाख २६ हजार ४१० मूल्यमा खरिद बिक्री भएको छ ।
स्टकका अनुसार नेप्से परिसूचक बढे पनि कारोबार रकम भने आज बढ्न सकेन । बीमा ४३.४९, होटल ४०.६६ र उत्पादन समूह ९.३८ बिन्दुले बढेको छ ।
यस्तै बैंकिङ ७.८५, व्यापार ०.१७, विकास बैंक ७.७१, जलविद्युत् १०.७८, अन्य १.९ र माइक्रोफाइनान्स समूह ६.५५ बिन्दुले बढ्दा वित्त क्षेत्र भने १.५७ बिन्दुले घटेको छ ।