प्रहरीले भन्यो: सलमानको नाममा ठगिएकाले सम्पर्कमा आउनू
काठमाडौँ: महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले सलमान खानको नाममा ठगिएकाहरुलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।
सलमानलाई नेपाल ल्याउने भन्दै करोडौँको टिकट बेचेर ठगी गरेको अभियोगमा ओडिसी इन्टरटेन्मेन्टका सञ्चालक सीमान्त गुरुङलाई पक्राउ गरेपछि प्रहरीले यसो भनेको हो । महाशाखाले कार्यक्रम गर्ने नाममा ओडिसीले झुक्याएका प्रायोजकहरुलाई पनि सम्पर्कमा आउन भनेको छ ।
सलमानलाई ल्याउने भनेर करोडौँको टिकट बिक्री गरेर निर्धारित समयमा कार्यक्रम नगरेपछि ठगिएको भन्दै सर्वसाधरणलले उजुरी दिएपछि सीमान्तलाई प्रहरीले पक्राउ गरेको थियो । उनीसँगै ओडिसीका सुपरभाइजर २८ वर्षीय रविन केसीलाई पनि प्रहरीले पक्राउ गरी मुद्दा अघि बढाएको छ।
उनीहरुविरुद्ध ठगी महल अन्तर्गत मुद्दा चलाइएको अपराध महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिएका छन् । सलमान खानको कायक्रम टुँडिखेलमा गर्ने भनी बिभिन्न दरका टिकट बिक्री गरी सर्वसाधारण र प्रायोजकलाई झुक्याई र्निधारित समयमा कार्यक्रम नगरेको उजुरीका आधारमा उनहरु पक्राउ परेका हुन् ।