जथाभावी बाटो काट्नेलाई पनि दुई घण्टा पढाइने
काठमाडौंः ट्राफिक महाशाखाले पैदलयात्रीलाई बाटो काट्न सिकाउने उद्देश्यले जनचेतनामूलक कार्यक्रम सञ्चालन थालेको छ ।
उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका १३ स्थानमा यो अभियान चलाइएको ट्राफिक प्रहरी महाशाखाका निमित्त प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्तकुमार पन्थले बताए । उपत्यकामा पैदल यात्री असुरक्षित हुन थालेपछि सडक सचेतना कार्यक्रम थालिएको हो ।
पन्थका अनुसार एक महिना जारी रहने यो अभियानका क्रममा जथाभावी बाटो काट्ने पैदलयात्रीलाई व्यस्त सडकमा बाटो काट्दा ध्यान दिनुपर्ने कुरा, जेब्रा क्रसिङ र, आकाशे पुलको प्रयोगबारे जानकारी गराइनेछ ।
उपत्यकामा भइरहेका सवारी दुर्घटनामा ६० प्रतिशत पैदलयात्री पर्ने गरेको भन्दै पन्थले यसलाई नियन्त्रण गर्न महाशाखाले अभियान थालेको जानकारी दिए ।
अभियान चलाइने १३ स्थानमा जथाभावी बाटो काट्नेलाई नियन्त्रणमा लिएर दुई घण्टासम्म सचेतना कक्षमा राखेर प्रशिक्षण दिइनेछ । यो अभियानलाई प्रभावकारी बनाउन एक सय ५५ ट्राफिक खटाइएको छ ।