सकियो रूस विश्वकप

सकियो रूस विश्वकप

मस्को : पूर्वविजेता फ्रान्सलाई नै उपाधि चुमाउँदै विश्वकप फुटबलको २१औं संस्करण सकिएको छ । फ्रान्सले आइतबार राति खेलिएको रोमाञ्चक फाइनलमा क्रोएसियालाई ४-२ गोलले हराउँदै दोस्रो पटक उपाधि हात पारेको हो । यसअघि फ्रान्सले सन् १९९८ मा आफ्नै देशमा आयोजना भएको विश्वकप जितेको थियो । यसपटक विश्वकपले क्रोएसियाका रुपमा नयाँ विजेता पाउने अनुमान गरिए पनि युवा खेलाडीले भरिएको फ्रान्सका अगाडि क्रोएसियाको केही लागेन ।

खेलको १८औं मिनेटमै क्रोएसियाका मारियो मान्जुकिचबाट हेडमार्फत आत्मघाती गोल भएपछि फ्रान्सले अग्रता लिएको थियो । २८औं मिनेटमा क्रोएसियाका इभान पेरिसिचले जवाफी गोल गर्दै खेललाई बराबरीमा ल्याए । ३८औं मिनेटमा डीबक्सभित्र पेरिसिचको ह्यान्ड भएपछि फ्रान्सले पेनाल्टी प्रहारको अवसर पायो । सोही अवसरलाई सदुपयोग गर्दै एन्टोइन ग्रिजम्यानले फ्रान्सलाई २-१ को अग्रता दिलाए ।

यसैगरी ५९औं मिनेटमा अनुभवी खेलाडी पल पोग्बाले फ्रान्सलाई ३-१ को अग्रता दिलाए । ६५औं मिनेटमा केलियन एमबाप्पेले फ्रान्सका लागि चौथो गोल गरे । जारी विश्वकपमा गोल गर्ने उनी सबैभन्दा कान्छा खेलाडी हुन् । १९ वर्षीय एमबाप्पेले गरेको यो चौथो गोल हो । ६९औं मिनेटमा क्रोएसियाका लागि मारियो मान्जुकिचले दोस्रो गोल गरे पनि टोलीको पराजय टार्न त्यो पर्याप्त हुन सकेन । जारी विश्वकपमा मान्जुकिचले गरेको यो तेस्रो गोल हो ।

फ्रान्सेली टोलीका ४९ वर्षीय प्रशिक्षक डिडियर डेसच्याम्पसका लागि पनि यो विश्वकप विशेष रह्यो । उनी आफ्नो टोलीलाई पहिले खेलाडी र त्यसपछि प्रशिक्षकका रुपमा विश्वकप दिलाउने तेस्रो ब्यक्ति बने । यसअघि ब्राजिलका मारियो जागाल्लो र जर्मनीका फ्रान्ज बेकनबाउरले आफ्नो देशलाई पहिले खेलाडी र त्यसपछि प्रशिक्षकको भूमिकामा विश्वकपको उपाधि चुमाएका थिए । फ्रान्सले सन् १९९८ को विश्वकप जित्दा डेसच्याम्पस टोलीका कप्तान थिए । खेलाडीको भूमिकामा फ्रान्सलाई उपाधि दिलाएको २० वर्षपछि उनले प्रशिक्षकको भूमिकामा अर्को उपाधि चुमाएका हुन् ।

आफ्नो टोली उपाधिबाट चुके पनि क्रोएसियाका मिडफिल्डर लुका मोड्रिचले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै ‘गोल्डेन बल’ पुरस्कार जिते । इङ्ल्यान्डका हेरी केनले सर्वाधिक गोलकर्ताका रुपमा ‘गोल्डेन बुट’ पुरस्कार पाए । उनले प्रतियोगितामा एउटा ह्याट्रिकसहित ६ गोल गरे । यद्यपि, उनको टोली इङ्ल्यान्ड प्रतियोगितामा चौथो भयो ।

यसैगरी फ्रान्सका एमबाप्पे सर्वोत्कृष्ट युवा खेलाडी घोषित भए । प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक घोषित भएका बेल्जियमका थिबाउट कोर्टोइसले ‘गोल्डेन ग्लोभ्स’ पुरस्कार हात पारे । तेस्रो स्थान हासिल गरेको बेल्जियमले यो विश्वकपमा सर्वाधिक १६ गोल ग¥यो । बेल्जियमका १० जना खेलाडीले यो विश्वकपमा गोल गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.