दुवै पटक फ्रान्सले उपाधि जित्दाका साक्षी 'डेसच्याम्पस'
फ्रान्सेली टोलीका प्रशिक्षक डिडियर डेसच्याम्पसका लागि विश्वकपको २१औं संस्करण विशेष रह्यो । ४९ वर्षीय डेसच्याम्पसको प्रशिक्षकत्वमा रुस यात्रामा निस्किएको फ्रान्सले फाइनलमा बलियो प्रतिद्वन्द्वी क्रोएसियालाई हराउँदै उपाधि चुम्यो । विश्वकपको इतिहासमा फ्रान्सले जितेको यो दोस्रो उपाधि हो । यसअघि सन् १९९८ मा आफ्नै देशमा आयोजना भएको विश्वकपको फाइनलमा ब्राजिललाई ३—० गोलले हराउँदै फ्रान्सले पहिलो पटक उपाधि जितेको थियो ।
फ्रान्सले सन् १९९८ को विश्वकप जित्दा अहिलेका प्रशिक्षक डेसच्याम्पस टोलीका कप्तान थिए । खेलाडीको भूमिकामा फ्रान्सलाई उपाधि दिलाएको २० वर्षपछि उनले प्रशिक्षकको भूमिकामा अर्को उपाधि चुमाएका हुन् । पहिले खेलाडीको भूमिकामा र त्यसपछि प्रशिक्षकको भूमिकामा आफ्नो देशलाई विश्वकप जिताउने उनी तेस्रो व्यक्ति बन्न पुगेका छन् ।
यसअघि ब्राजिलका मारियो जागाल्लो र जर्मनीका फ्रान्ज बेकनबाउरले आफ्नो देशलाई पहिले खेलाडी र त्यसपछि प्रशिक्षकको भूमिकामा विश्वकपको उपाधि चुमाएका थिए । ब्राजिलले सन् १९५८ र सन् १९६२ मा विश्वकपको उपाधि जित्दा जागाल्लो खेलाडीको भूमिकामा टोलीमा सहभागी थिए । सन् १९७० मा ब्राजिलले विश्वकप जित्दा भने उनले टोलीमा प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।
यसैगरी तत्कालीन पश्चिम जर्मनीले सन् १९७४ मा विश्वकप जित्दा बेकनबाउर टोलीको कप्तान थिए । उनले सन् १९९० मा तत्कालीन पश्चिम जर्मनीलाई प्रशिक्षकको भूमिकामा विश्वकपको उपाधि चुमाएका थिए । जारी विश्वकपमा फ्रान्सले अपराजित रहँदै उपाधि चुमेको हो । समूहगत चरणको दुई खेलमा विजयी भएको फ्रान्स एक खेलमा भने गोलरहित बराबरीमा रोकिएको थियो ।