अत्तरिया–धनगढी सडक खाडलै खाडल

अत्तरिया–धनगढी सडक खाडलै खाडल

धनगढी : निर्माणको प्राथमिकता निर्धारण नगर्दा तीन अर्बको मोहनापुल–अत्तरिया ६ लेन सडक धराप बनेको छ। तीन वटा ठेक्कामा दुई जना निर्माण व्यवसायीले निर्माण सुरु गरेको ६ लेन सडकमा बर्खाका बेला ११ स्थानमा कल्भर्ट निर्माणका लागि खाल्टो खनिएपछि सडक धराप बनेको हो।

जेठमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भयो भने धेरै जना निर्माणाधीन सडकमा दुर्घटनामा परिसकेका छन्। पानी परेका बेला सडकमा पानी जमेर हिलोले पनि सास्ती दिने गरेको सडक छेउका व्यापारी बताउँछन्।

अत्तरियादेखि मोहना पुलसम्म झन्डै साढे १४ किलोमिटरमा ११ ठाउँमा कल्भर्ट निर्माणका लागि सडक विभाजन हुने गरी १०÷ १० मिटरका खाल्टा पारिएका छन्। ‘पानी परेपछि सडक र ड्राइभर्सनमा पानी जम्ने गरेको छ’, सडक छेउका व्यापारी गोकर्ण पौडेलले भने।

०७६ को जेठमा निर्माण सक्ने गरी सम्झौता भएको सडकको अहिलेसम्म ३० प्रतिशत पनि निर्माण सम्पन्न भएको छैन। जमिनभन्दा सडकको भाग उचो हुँदा नजिकका घर डुबानको खतरामा परेका छन् भने ११ स्थानको ड्राइभर्सनले बेला–बेला सडक अवरुद्ध पनि हुने गरेको छ।

सडकखण्डको गेटामा असार दोस्रो साता परेको पानीले दिनभरि सडक अवरुद्ध भएको थियो। सडकमा निर्माण भइरहेका ड्राइभर्सनमा पानी भरिएर सडकमै खोलाको भन्दा बढी पानी बग्न थालेपछि यातायात अवरुद्ध भएको थियो भने आसपासका बासिन्दा डुबानको खतरामा परेका थिए।

मोहना पुलदेखि साढे चार किलोमिटरको ठेक्का पाएको शर्मा अमर नागार्जुन जेभीका इन्जिनियर शुलभ भट्ट यति छिट्टै पानी पर्ला भनेर कल्पना नगरेकाले कल्भर्ट निर्माण सुरु गरिएको बताउँछन्। उनले वर्षा रोकिनेबित्तिकै निर्माणले गति लिने बताए।

त्यसपछिको साढे चार किलोमिटरदेखि साढे १४ किलोमिटरसम्म निर्माण ठेक्का पाएको राजेन्द्र÷कुमार निर्माण सेवाले पनि ८ स्थानमा कल्भर्टका लागि खाडल खनेको छ। केहीमा कल्भर्टको जग बनिरहेको छ भने एउटामा ढलान पनि भइसकेको छ। ढलान भएका कल्भर्ट पनि कम्तीमा एक महिनाभन्दा अगाडि सञ्चालनमा ल्याउन नसकिने निर्माण कम्पनीले जनाएको छ।

मोहना–अत्तरिया निर्माण सडक योजनाका प्रमुख मनीषकुमार शाहले पनि वर्षाको अनुमान नभएका कारण कल्भर्ट निर्माण सुरु गरिएको बताए।

‘कल्भर्ट निर्माण क्रममै वर्षायाम सुरु भएकाले मौसम सफा भएपछि मात्र काम सुरु गर्नुपर्ने बाध्यता छ’, उनले भने, ‘वर्षाअगावै कल्भर्ट निर्माण सम्पन्न हुन मुस्किल छ।’ उनले पानी आए सडक सुचारु राख्न योजना कार्यालय र निर्माण व्यवसायी तम्तयार रहेको उनले बताए।

उनले माटो पटान गरेको क्षेत्रमा हिलो हुन नदिन ग्राभेलका काम पनि तीव्र गतिमा भइरहेको दाबी गरे। सडकको धेरै क्षेत्रमा अझै साइड नै क्लियर नहुँदा पनि निर्माण प्रभावित हुने गरेको निर्माण पक्षको आरोप छ। टेलिफोन र विद्युत्का पोल हटाउन ढिलो हुँदा पनि सडक निर्माण पछि परेको योजना प्रमुख शाहले गुनासो गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.