रूस विश्वकपका रोचक पक्ष
मस्को : विश्वकपको २१औं संस्करण सकिएको छ । यो विश्वकपमा केही सम्झनलायक घटना पनि भएका छन् । यो विश्वकपमा सबैभन्दा पाका उमेरका खेलाडी इजिप्टका इसाम एल हादारी रहे । समूहगत चरणको खेल सकिँदा जुन २५ तारिखमा उनको उमेर ४५ वर्ष एक सय ६१ दिन पुगेको थियो । उनी विश्वकप खेल्नै हालसम्मकै सबैभन्दा बढी उमेरका खेलाडी पनि बनेका छन्।
मेक्सिकोका राफेल माक्र्वेजले पनि सर्वाधिक पाँच पटक विश्वकप खेल्ने कीर्तिमानसँग बराबरी गरेका छन् । रुस विश्वकपमा पाँचौं पटक देशको प्रतिनिधित्व गरेका माक्र्वेजले आफ्नै देशका एन्टोनियो कार्बाजल र जर्मनीका पूर्वमिडफिल्डर लोथर म्याथ्युजको कीर्तिमानसँग बराबरी गरेका हुन् । कार्बाजल र म्याथ्युजले पनि पाँच÷पाँच पटक विश्वकपमा सहभागिता जनाएका छन् ।
यसैगरी यो विश्वकपमा अस्ट्रेलियाका ड्यानियल अर्जानी सबैभन्दा कम उमेरमा खेलाडी बने । समूहगत चरणमा फ्रान्सविरुद्ध आफ्नो पहिलो खेल खेल्दा उनी १९ वर्ष एक सय ६३ दिनका थिए । उनी खेलको ८४औं मिनेटमा परिवर्तित खेलाडीका रूपमा मैदानभित्र प्रवेश गरेका थिए । विश्वकपको इतिहासमा आफ्नै दाजुलाई परिवर्तन गर्दै मैदानभित्र प्रवेश गर्ने खेलाडीको कीर्तिमान भने मोरक्कोका सोफयन अमराबटले बनाए । समूहगत चरणको इरानविरुद्धको खेलमा २१ वर्षीय सोफयनले ३१ वर्षीय आफ्नै दाजु नोर्दिनलाई ७६औं मिनेटमा स्थानान्तरण गरेका थिए । विश्वकपको इतिहासमा यो पहिलो घटना हो ।
विश्व फुटबल महासंघ (फिफा) ले यही विश्वकपदेखि खेल अतिरिक्त समयमा गए थप एकजना खेलाडी परिवर्तन गर्न पाउने नियम सुरु गरेको थियो । आयोजक रुस यो नियमको सदुपयोग गर्ने पहिलो देश बन्यो । रुसले स्पेनविरुद्धको प्रिक्वार्टरफाइनल खेलमा चौथो खेलाडीको रूपमा एलेक्जेन्डर एरोखिमलाई ९७औं मिनेटमा मैदान छिराएको थियो । निर्धारित ९० मिनेटमा भने एउटा टोलीले तीनजना खेलाडीमात्र परिवर्तन गर्न पाउने प्रावधान छ ।
यसैगरी यही विश्वकपदेखि पहिलो पटक भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) को पद्धति पनि प्रयोगमा ल्याइएको थियो । फ्रान्स यो प्रविधिलाई प्रयोग गरी गोल गर्ने पहिलो टोली बन्यो । समूहगत चरणमा अस्ट्रेलियाका जोसुवा रिसोनले डीबक्सभित्र फल खेलेपछि रेफ्रीले भीएआर प्रणालीको सहयोगमा फ्रान्सलाई पेनाल्टी प्रहारको मौका दिएका थिए । उक्त पेनाल्टीलाई ५८औं मिनेटमा फ्रान्सका एन्टोइन ग्रिजम्यानले सदुपयोग गरेका थिए ।