आत्मघाती गोलले चर्चित २१औं विश्वकप
मस्को : आत्मघाती गोलका कारण पनि २१औं विश्वकप चर्चामा रह्यो । विश्वकपको इतिहासमा आत्मघाती गोलको कीर्तिमान नै बनायो २१औं संस्करणले । समूहगत चरणको खेल सकिनुअघि नै आत्मघाती गोलको कीर्तिमान बनिसकेको थियो । यो विश्वकपमा विभिन्न टोलीबाट कुल १२ वटा आत्मघाती गोल भए । यो एउटै विश्वकपमा भएको सबैभन्दा बढी आत्मघाती गोल हो । यसअघि सन् १९९८ मा फ्रान्समा भएको विश्वकपमा ६ वटा आत्मघाती गोलको कीर्तिमान बनेको थियो ।
समूहगत चरणअन्तर्गत मेक्सिको र स्विडेनबीचको खेलको ७४औं मिनेटमा मेक्सिकोका एडसन अल्भारेजबाट आत्मघाती गोल भएको थियो । रुस विश्वकपमा भएको यो सातौं आत्मघाती गोल थियो । अल्भारेजको यही आत्मघाती गोलले सन् १९९८ को कीर्तिमान तोडेको थियो । सोही दिन स्विट्जरल्यान्ड र कोस्टारिकाबीचको खेलमा पनि आत्मघाती गोल भएको थियो । इन्जुरी समयको तेस्रो मिनेटमा स्विट्जरल्यान्डका यान सोमरबाट आत्मघाती गोल भएको थियो ।
विश्वकप फुटबलमा हालसम्म कुल ५१ वटा आत्मघाती गोल भएका छन्, जसमध्ये ३८ गोल समूहगत चरणमै भएका छन् । यो विश्वकपमा पहिलो आत्मघाती गोल भने मोरक्कोका अजिज बुहादोउजबाट भएको थियो । प्रतियोगिताको दोस्रो दिन असार १ गते खेलिएको समूह ‘बी’ अन्तर्गतको उक्त खेलमा मोरक्कोबाट आत्मघाती गोल भएपछि इरान १-० ले विजयी भएको थियो ।
यसैगरी असार २ गते समूह ‘सी’ अन्तर्गत अस्ट्रेलिया र फ्रान्सबीच खेलिएको खेलमा पनि अस्ट्रेलियाका अजिज बेहिचबाट आत्मघाती गोल भयो । सोही आत्मघाती गोलका कारण उक्त खेलमा फ्रान्स २-१ ले विजयी बनेको थियो । नाइजेरिया र क्रोएसियाबीच असार २ गते नै खेलिएको समूह ‘डी’ अन्तर्गतको खेलमा नाइजेरियाका पिटर इटेबोबाट आत्मघाती गोल भएको थियो । उक्त खेलमा क्रोएसिया २-० गोलले विजयी भएको थियो ।
यसैगरी समूह ‘एच’ अन्तर्गत पोल्यान्ड र सेनेगलबीच खेलिएको खेलमा चौथो आत्मघाती गोल भयो । असार ५ गते खेलिएको उक्त खेलमा पोल्यान्डका थिआगो सियोनेकबाट आत्मघाती गोल भएपछि सेनेगलले २-१ को जित हासिल गरेको थियो । समूह ‘ए’ अन्तर्गत खेलिएको आयोजक रुस र इजिप्टबीचको खेलमा इजिप्टका अहमद फाथीबाट जारी विश्वकपमा पाँचौं आत्मघाती गोल भयो । उक्त खेलमा रुस ३-१ गोलले विजयी भएको थियो ।
समूह ‘ए’ अन्तर्गत नै असार ११ गते रुस र उरुग्वेबीच भएको खेलमा पनि रुसी खेलाडी डेनिस चेरिसेभबाट आत्मघाती गोल हुन पुग्यो । जारी विश्वकपमा भएको यो छैटौं आत्मघाती गोल थियो । उक्त खेलमा उरुग्वेले आयोजक रुसलाई ३-० गोलले हराएकोे थियो । सोे समूहबाट उरुग्वे विजेता र रुस उपविजेताका रुसमा नकआउट चरणमा पुगेका थिए । पानामाविरुद्घको समूहगत चरणको आफ्नो अन्तिम खेलमा ट्युनिसियाका यासिन मेरिहबाट पनि आत्मघाती गोल भएको थियो । उक्त खेलमा ट्युनिसिया २-१ गोलले विजयी भए पनि दुवै टोली समूहगत चरणबाट बाहिरिएका थिए ।
यो विश्वकपमा तीनवटा आत्मघाती गोल भने नकआउट चरणमा भए । स्पेनविरुद्घको प्रिक्वार्टरफाइनल खेलमा रुसका सर्जी इग्नासेभिचबाट १२औं मिनेटमै आत्मघाती गोल भएको थियो । यद्यपि उक्त खेलमा पेनाल्टी सुटआउटमा ४-३ गोलले विजयी हुँदै रुस क्वार्टरफाइनलमा पुग्न सफल भएको थियो । बेल्जियमविरुद्घको क्वार्टरफाइनल खेलको १३औं मिनेटमा ब्राजिलका फर्नान्डिन्होबाट पनि आत्मघाती गोल भएको थियो । फ्रान्सविरुद्घको फाइनल खेलमा पनि क्रोएसियाका मारियो मान्जुकिचबाट आत्मघाती गोल भयो । जारी विश्वकपमा भएको यो १२औं तथा अन्तिम आत्मघाती गोल थियो ।