दुर्गम गाउँमा लिफ्ट खानेपानी
प्युठान : मल्लरानी गाउँपालिका–३ बुकेनीबासीलाई गाउँमा खानेपानी नहुँदा निकै मुस्किल थियो । पिउने पानीको समेत अभाव हुँदा उनीहरूलाई सरसफाइ गर्ने कुरा नौलौ लाग्थ्यो । घरमै खानेपानीका धारा आउला भन्ने कल्पनामै थिएन उनीहरूलाई । पहाडको टुप्पोमा बस्ती भएकाले आकाशे पानी र घण्टौं पैदल हिँडेर पानीको जोहो गर्नुपर्ने बाध्यता थियो ।
तर हिजोआज सबैको घरैपिच्छे पानीका धारा जोडिएपछि बुकनीबासी दंग छन् । स्थानीयको वर्षौंदेखिको स्वच्छ पानी प्रयोगको सपना पूरा भएको छ । अहिले वडा नं १ को सानीलेक मुहानबाट गाउँमा लिफ्टमार्फत पानी झरेको छ । ‘गाउ“मा पानी आउला भन्ने सोचेकै थिएनौं’, स्थानीय लालमती पुनले भनिन्, ‘घरैपिच्छे पानीका धारा आए, अब त छोराछोरी पनि स्कुल जान पाउने भए ।’ पानी नहुँदा गाउ“का धेरै बालबालिकाको पढाइ प्रभावित हुँदै आएको विगत उनले सुनाइन् ।
सदरमुकाम खलंगादेखि नजिकै भए पनि यस गाउ“ विकास निर्माणमा पछि परेको स्थानीयको गुनासो छ । गाउ“मा सहज सडक विस्तार हुन सकेको छैन । पानीसँगै खुसी भएका स्थानीयले अब आयआर्जनका क्षेत्रमा काम गर्ने सोच बनाएका छन् । स्थानीय सरकारबाट हुने विकास र सेवा सुविधा दुर्गम बस्तीलाई प्राथमिकतामा राखेर कार्ययोजना बनाउन उनीहरूले जनप्रतिनिधिलाई आग्रह गरेका छन् । ‘अब व्यावसायिक कृषि गर्ने सोच धेरैले बनाएका छन्’, स्थानीय सन्तबहादुर नेपालीले भने, ‘बाक्लो बस्ती छ तर टाठाबाठा व्यक्ति नहुँदा गाउँ जहिल्यै पछि पर्यो ।’ उनले वर्षौंको मागपछि गाउँमा खानेपानी सुविधा भएको सुनाए ।
योजना निर्माणमा स्थानीय महिलाको उल्लेख्य सहभागिता भएको स्थानीय हुमबहादुर थापाले बताए । ‘काम गर्दा गृहणी महिलाहरूको निकै सक्रियता पाइयो’, उनले भने, ‘जनता मिले भने काम गर्न समस्या नहुने रहेछ ।’ ९५ वटै घरमा पानी आए÷नआएको बारेमा घरघरै पुगेर हेरेको समेत उनले बताए । विभिन्न निकायले गाउ“मा आएको विकासलाई सबैले आफ्नै सम्झेर काम गर्नुपर्ने समेत उनको बुझाइ छ । पञ्चायतकालदेखि नै गाउ“लेले खानेपानीको माग गरिरहेको उनले विगत सुनाए ।
दलित र जनजातिको बाहुल्यता रहेको यस बस्तीका ९५ घर सबैमा पानीका धारा निर्माण भएका छन् । जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय विजुवार प्युठानले लिफ्ट आयोजना सञ्चालन गरेको हो । स्थानीयको जन श्रमदानसहित १ करोड ५० लाख रुपैयाँ लगानी भएको बुकेनी सानीलेक लिफ्ट खानेपानी योजनाका अध्यक्ष नारायण पुनले बताए । मुहानबाट पानी तानेर गाउ“को बीचमा २२ घनमिटरको पानी ट्यांकी निर्माण गरिएको उनले बताए । मुहानदेखि करिब १२ सय मिटर दूरीबाट पानी ल्याएको छ ।
क्रमागत योजनाअन्तर्गत झण्डै चार वर्ष समय लगाएर योजना पूरा भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डिभिजन प्रमुख ग्रिष्म थापाले जानकारी दिए । ‘क्रमागत योजनाका कारण बजेट एकै पटक आएन’, उनले भने, ‘स्थानीयको सक्रियताले गर्दा काम गर्न धेरै सहज भयो ।’ लिफ्ट सञ्चालनका लागि आवश्यक विद्युत् क्षमता जडानमा समेत ढिलाइ भएकाले समय लम्बिएको उनको भनाइ छ । गाउ“मा पर्याप्त खानेपानी सुविधा पुगेपछि स्थानीयले व्यक्तिगत सरसफाइमा समेत ध्यान दिन थालेका उनले बताए ।