पुटिन र ट्रम्पबीच सोमबार वार्ता
पेरिस : रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार द्विपक्षीय वार्ता हुने भएको छ ।
दुई महिनाअघि पनि पुटिनको कडा आलोचना गर्दै अमेरिकाले रूसी कूटनीतिज्ञलाई देश निकाला गरेको थियो । अमेरिकाको यो कदमको स्वागत गर्दै केही बेलायत र युरोपेली देशले पनि रूसी कूटनीतिज्ञलाई आ-आफ्ना देशबाट निकाला गरेका थिए । यो कार्यको दोष सबै अमेरिकालाई गएको थियो ।
यसको जवाफमा रूसले पनि मस्कोस्थित अमेरिकाको कन्सुलेट अफिस बन्द गराएको थियो । यसका कारण केही दर्जन अमेरिकी कूटनीतिज्ञले रूस छोड्नुपरेको थियो । त्यो विवादपछि पहिलोपटक यी दुई शक्तिशाली देशका राष्ट्रपतिले आपसी भेटवार्ता गर्न थालेका छन् । विश्वका सञ्चारमाध्यमहरूले यसलाई एक बहुप्रतीक्षित वार्ताका रूपमा लिएका छन् ।
उनीहरूले सोमबारको भेटवार्ता पछि संयुक्त पत्रकार सम्मेलन गर्ने तयारी भएको रूसको प्रमुख प्रशासनिक केन्द्र क्रेमलिनले जनाएको छ । पुटिन र ट्रम्पले संयुक्त पत्रकार सम्मेलन पनि गर्ने भएका छन् । हेलसिन्की वार्तापछि उनीहरूको पत्रकार सम्मेनल हुनेछ । सञ्चारमाध्यमले यी दुई राज्यप्रमुखहरूले भेटेपछि के विषयमा कुराकानी गर्नेछन् भन्ने बारेमा पनि आ-आफ्ना अनुमानमा समाचार बनाएका छन् । एक अर्काले विपरीत धारको नेतृत्व गर्दै आएका तथा पछिल्लो समयमा विविध विषयमा एक अर्काप्रति विवादास्पद अभिव्यक्ति दिँदै आएका पुटिन र ट्रम्पको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।
यसअघि उनीहरूबीच गत वर्षको नोभेम्बरमा भएको एपेक शिखर सम्मेलनका क्रममा भियतनाममा पछिल्लो भेटवार्ता भएको थियो । त्यस बेला उनीहरूबीच छिटै वार्ता गर्ने सहमति भएको बताइएको थियो । गत साता राष्ट्रपति ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन शत्रु नभएको स्पष्ट पार्दै ‘प्रतिस्पर्धी’ मात्र भएको टिप्पणी गरेका थिए । बेल्जियममा आयोजित नेटो सम्मेलनका बेला ट्रम्पको यस्तो भनाइ आएको थियो ।