गाजामा हमासद्वारा युद्धविराम घोषणा
गाजा : स्वतन्त्र प्यालेस्टाइनको माग गरी हिंसात्मक प्रदर्शन गर्दै आएको हमास लडाकुले आइतवार युद्धविराम घोषणा गरेको छ । इजरायल र प्यालेस्टाइनको सीमाक्षेत्र गाजामा हमासविरुद्ध शनिबार भीषण आक्रमण भएको थियो ।
सन् २०१४ को युद्धयताकै सबैभन्दा शक्तिशाली आक्रमण भएको बताइएको थियो । ठूलो क्षतिपछि हमासले आफ्ना तर्फबाट युद्धविरामको घोषणा गरेको उल्लेख छ । उक्त ठाउँमा गतरातिको दोहोरो आक्रमणका कारण निकै तनावपूर्ण अवस्था उत्पन्न भएको थियो । हमलाका कारण गाजामा हिंसा बढ्ने आशंका गरिएको समाचारमा जनाइएको थियो ।
उसको एकतर्फी घोषणापछि इजरायलका तर्फबाट पनि त्यहाँ आइतवार हमला भएको छैन । यसलाई विश्वका देशहरूले सकारात्मक कदमका रूपमा लिएको बताएका छन् । शनिबार रात भएको आक्रमणको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि पुष्टि गरेका छन् ।
गाजातर्फबाट इजरायलमा रकेट प्रहार गर्न शुरु गरिएको र त्यसको जवाफी आक्रमणका रूपमा यताबाट हमला गरिएको इजरायली पक्षले जनाएको छ । आइतबारको युद्धविराम मध्यपूर्वका लागि संयुक्त राष्ट्रसंघीय शान्तिदूत निकोलाई एमलादेनोभको उपस्थितिमा गरिएको छ । उनले हमासका तर्फबाट युद्धविराम भएको जानकारी पनि गराएका छन् । शनिवार राति भएको आक्रमणबाट दुईजना प्यालेस्टिनी मारिएका छन् ।
त्यसमा परी दर्जनौँ व्यक्ति घाइते भएका छन् । दुवैतर्फबाट कम्तीमा पनि २०० पटकसम्म क्षेप्यास्त्र आक्रमण भएका थिए । इजरायलले पहिला गाजातर्फबाट हमला भएको जनाएको छ । हमासले भने शुरुमा इजरायलले आक्रमण गरेको दाबी गरेको छ । गाजातर्फ पछिल्ला केही समयमा हिंसा मच्चिएको छ । केही समयदेखि हमासविरुद्ध इजरायलका तर्फबाट पनि ठूला हमला हुने गरेका छन् ।