‘कलाको पनि कुनै मूल्य हुन्छ र ?'

‘कलाको पनि कुनै मूल्य हुन्छ र ?'

काठमाडौं : नेपाल कला परिषद् काठमाडैाँमा ‘चेतनाको उज्यालो’ नारासहित कला प्रदर्शनी आयोजना गरिएको छ । मान्छेको मनभित्र रहेको अँध्यारोलाई चित्रका माध्यमबाट उज्यालोतिर धकेल्ने उद्देश्यका साथ सिर्जनात्मक चित्रहरू चित्रकार विपिन घिमिरेले बनाएका हुन्।

कला परिषद्को पहिलो तल्ला । भित्तामा विभिन्न शीर्षकका चित्रहरू झुन्डिएका छन् । ‘आवाजविहीनको आवाज’ कोटेसन लेखिएको पेन्टिङमा एक युवती भुइँमा लडिरहेकी छन् । सानो बालक दूध खाने कोसिसमा छ, छेउमा एक युवक टोलाइरहेको छ । पृष्ठभूमिमा कुनै एकलासको सुदूरगाउँमा भूकम्पको धक्काले घर भत्केर महिला अचेत भएकी छन् । जो कोही त्यो चित्र नजिक पुग्छ र टक्क रोकिन्छ । दर्शकको मनमा स्तब्ध हुन्छ ।

थकाइ र जागिरे जीवन, लाइफ स्टडी, जीवनचक्र, बात्सल्य, भोक र आशा, प्रतीक्षा, नियति, लक्ष्य शीर्षकका करिब दुई दर्जन पेन्टिङ एकै ठाउँमा प्रदर्शनरत थिए । प्रदर्शन कक्षको छेउमा कलाकार घिमिरे दर्शकसँग संवादमा व्यस्त देखिएका थिए ।

सानोबेलामा उनलाई टाइफाइड भएर कानको समस्या भयो । पाँचथरको लिम्बाबाट उनको परिवार झापाको दमक बसाइँ सरेको थियो । पढ्न हिमालय विद्या मन्दिर दमकमा भर्ना भएका उनी घन्टौं चित्र कोरेर बसिरहन्थे । फोटो हेरेर चित्र बनाइरहन्थे । फुर्सद भयो कि सिसाकलमले विभिन्न स्केच र चित्र कोरिरहन्थे ।

आफूलाई पढाउने लक्ष्मी जोशी शिक्षकले उनको चित्रप्रतिको लगाव नियालिरहेका थिए । ‘शिक्षकले उनलाई चित्र बनाउन सिकाइदिन्छु घरमा आइज’ भनेर बोलाए । उनी जान थाले । त्यहीबाट उनले चित्रकलासम्बन्धी सामान्य सीप सिक्ने मौका पाए ।

२०३० सालमा एसएलसी पास भएपछि आफ्नो काकाको सहयोगमा उनी काठमाडौंको ललितकला क्याम्पसमा भर्ना हुन आए । भारतबाट आएका फाइन आर्ट पढाउने शिक्षकले उनलाई पढाउँथे । इन्टरमिडियटमा उनले कलेज टप गरे । फाइन आर्टमै मास्टर गर्न रसिया पढ्न जानका लागि छात्रवृत्तिमा नाम पनि निकाले ।

रसियामा उनले समाजवादको व्यावहारिक ज्ञानका साथै चित्रकलामा सैद्धान्तिक ज्ञान आर्जन गर्ने मौका पाए । त्यही समयमा उनले जर्मन, इटालीलगायतका देशको पनि भ्रमण गरे । फाइन आर्टमा स्नातकोत्तर गरेपछि नेपालमै केही गर्छु भनेर स्वदेश फर्के । २०४७ सालदेखि उनले त्रिविमै पार्ट टाइम पढाउन थाले । २०४९ सालदेखि त्रिविमा स्थायी जागिरे भए । प्राध्यापनसँगै चित्रकलामा पनि आफूलाई अगाडि बढाउँदै लगे ।

‘चित्र बनाउनुभन्दा पहिले कलाकारको मनमा कुनै पनि घटनाले छुनुपर्छ’, उनी भन्छन् । कुनै कुनै चित्र पूरा गर्न दुई वर्षभन्दा बढी समय लागेको अनुभव पनि छ उनीसँग । उनी प्रायः पेन्टिङ दुईदेखि तीन महिनामा पूरा गर्छन् । उनका पेन्टिङ मस्कोको संग्रहालयमा समेत संग्रृहीत छ ।

कुनै पनि चित्र बनाउनुअघि स्केच बनाउने उनी नेपालमा कलाको विकास खासै भएको देख्दैनन् । नेपालीमा कलाको चेतना खासै नभएको र कलाको महत्व बुझनेहरू खासै नभएको उनको बुझाइ छ । पैसा हुनेमा पनि चित्र किन्ने संस्कारको विकास नभएको उनको भनाइ छ ।

२५ हजार देखि ३० लाख रुपैयाँ मूल्यका चित्रहरू प्रदर्शनीमा छन् । ‘अन्य देशमा सरकारले पनि कला क्षेत्रको विकासका लागि निकै सहयोग गर्छ तर नेपालमा कलाकारका लागि सरकारबाट कुनै प्रोत्साहन छैन’, उनी भन्छन् । चित्र बनाउँदै गरेको पल जिन्दगीको सबैभन्दा खुसी र सुखद पल लाग्ने घिमिरेका कयौं पोट्रेटहरू अपुरो अवस्थामै ग्यालरीमा थन्किएका छन् । प्रकृतिले नै आफूलाई चित्रकार बनाएको विश्वास गर्ने उनी कहिलेकाहीँ घन्टौ पोट्रेटमा नै घेत्लिरहन्छन् ।

कलेजको प्रोफेसर र चित्रकार दुवै भएर उनले जीवनका महत्वपूर्ण समय बिताएका छन् । उनी नेपाली चित्रकारको प्रतिनिधित्व गर्दै जापान, कोरिया, पोल्यान्ड, हंगेरी, थाइल्यान्ड, बेल्जियमलगायतका देशको भ्रमण गरेका छन् ।

२०६९ सालदेखि २०७३ सालसम्म ललितकला क्याम्पसको प्रमुख रहेका घिमिरे हाल ‘रिटायर्ड लाइफ’ बिताइरहेका छन् । उनले अबको समय सिर्जनात्मक कार्यमै लगाउने योजना बनाएका छन् ।

तपार्इंका चित्र निकै महँगा छन् नि ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘मेरा चित्रहरू अन्तर्राष्ट्रियस्तरका छन् र मूल्य पनि कलाकारअनुसार फरक फरक नै हुन्छ ।’ ‘एउटा पेन्टिङ पूरा हुन चित्रकारको महिनौंसम्मको त्याग, समर्पण लगानी हुन्छ । कला अमूल्य चिज हो, यसको पनि कुनै मूल्य हुन्छ र ? ’ उनको प्रश्न छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.