वर्षाले पखालिएको आँसु
मस्को : ‘बिहानीले दिनको संकेत गर्छ।’ पहिलो पटक उपाधि हात पार्दै विश्वकप विजेताहरूको क्लबमा आफ्नो नाम दर्ता गराउने अभियानसहित रुस यात्रामा निस्किएको क्रोएसियाका लागि यो उखान सत्य सावित हुन सकेन। २१औं विश्वकपमा समूहगत चरणदेखि नै एकपछि अर्को उत्कृष्ट खेल पस्किएको क्रोएसिया अन्ततः राम्रो खेल्दाखेल्दै फाइनलमा बलियो फ्रान्ससँग ४—२ गोलले जिल्लिन पुग्यो।
सन् १९९८ को विजेता फ्रान्सविरुद्घको फाइनलमा समेत लोभलाग्दो सुरुआत गरेको क्रोएसिया आइतबार राति रुसको लुझनिकी रंगशालामा सायद भाग्यबाट पनि ठगियो। त्यसैले त, गोल बचाउने प्रयासमा आफ्ना अनुभवी खेलाडी मारियो मान्जुकिचको टाउकोमा ठोक्किएर बल आफ्नै पोस्टभित्र छिर्न पुग्यो। त्यसपछि इभान पेरिसिचको गोलबाट पुनः खेलमा फर्किएको क्रोएसिया अर्को पटक पनि आफ्नै खेलाडीका कारण अप्ठ्यारोमा पर्यो। दुर्भाग्यवस फ्रान्सलाई गोल गर्नबाट रोक्ने क्रममा डीबक्सभित्र पेरिसिचको ह्यान्ड भएपछि विपक्षीले पेनाल्टी प्रहारको अवसर पायो। त्यसपछि फ्रान्सका एन्टोइन ग्रिजम्यानजस्ता अनुभवी खेलाडीले पेनाल्टी प्रहारको अवसरलाई सदुपयोग नगर्ने कुरै भएन।
‘सायद भाग्यले ठग्नु भनेको यही हो’, टोलीको हारपछि आँसु थाम्न नसकेका एक क्रोएसियाली समर्थक एलेकजेन्डर टोडोरोभिच भन्छन्, ‘वास्तबमै आज हामी निकै दुःखी छौं। तर, हामीले उत्कृष्ट खेल पस्कियौं अनि फ्रान्सजस्तो बलियो प्रतिद्वन्द्वीलाई अन्तिम समयसम्म गतिलो चुनौति पनि दियौं त्यसैले हामी आफ्ना खेलाडीको प्रदर्शनप्रति गौरवान्वित छौं।’ टोडोरोभिच मात्र होइन, यतिबेला करिब ४० लाख जनसंख्या भएको क्रोएसियाका अधिकांश नागरिक पहिलो पटक विश्वकपको उपाधि नजिक पुगेर पनि रित्तो हात घर फर्कनु पर्दा निराश छन्।
विश्व फुटबलका एकसे एक धुरन्धरको अनुमान विपरीत क्रोएसिया एक खेल पनि नहारी विश्वकपको फाइनलसम्म पुगेको थियो। समूहगत चरणकै खेलमा पनि क्रोएसियाले तीनवटै खेलमा जित हात पारेको थियो। जबकि, फ्रान्स समूहगत चरणको आफ्नो अन्तिम खेलमा डेनमार्कसँग गोलरहित बराबरीमा रोकिएको थियो। त्यसैले पनि विश्वकप सुरु हुनुअघि धेरैको रोजाइमा नपरेको क्रोएसियाले फाइनलको यात्रा तय गर्दासम्म विश्वभर लाखौं समर्थक कमाइसकेको थियो।
फाइनलमा फ्रान्ससँग पराजित भएपछि समर्थक मात्र होइन, क्रोएसियन खेलाडीले समेत आँसु थाम्न सकेनन्। लुकाउन खोज्दाखोज्दै पनि धेरै खेलाडीको आँखा आँसुले भरिन पुग्यो। धन्य, खेल अवधिभर सामान्य रहेको मौसममा खेल सकिनासाथ एकाएक परिवर्तन आयो र पुरस्कार वितरण समारोहसम्म नै लगातार वर्षा भइरह्यो। त्यही अप्रत्याशित वर्षाका कारण केही क्रोएसियन खेलाडीले आफ्नो आँसु लुकाउने मौका पाए।
खेलाडीको त्यो आँसु २१औं संस्करणमा उपाधिबाट चुकेकोले मात्र निस्किएको थिएन। केही खेलाडीको मन चार वर्षपछि कतारमा आयोजना हुने २२औं संस्करणमा आफ्नो सहभागिताको अनिश्चिततालाई लिएर पनि भक्कानिएको थियो। सन् १९९८ को विश्वकपको सेमिफाइनमा पुगेको क्रोएसियाले विश्व फुटबलको महाकुम्भमा फेरि त्यही इतिहास दोहोर्याउन २० वर्षसम्म कठोर संघर्ष गर्नु परेको थियो। सन् १९९८ को सेमिफाइनलमा पनि क्रोएसियासामु फ्रान्स नै तगारो बनेको थियो। त्यतिबेला फ्रान्सले क्रोएसियालाई २—१ गोलले हराएको थियो।
अबको चार वर्षपछि सन् २०२२ मा आयोजना हुने विश्वकपमा क्रोएसियाको सहभागिता अन्योलमा छ। किनभने अहिले मैदानमा सक्रिय केही अनुभवी र प्रभावशाली खेलाडीको राष्ट्रिय टोलीमा निरन्तरतासँग पनि यो प्रश्न गम्भीर रूपमा गाँसिएको छ। रुस विश्वकपमा क्रोएसियालाई फाइनलसम्म पुर्याउन महत्वपूर्ण योगदान गरेका अनुभवी गोलरक्षक ड्यानियल सुबासिच कतार विश्वकप सुरु हुँदा ३८ वर्ष पुग्नेछन्।
रुस विश्वकपको फाइनलसम्म पुग्दा क्रोएसियाले प्रिक्वार्टरफाइनलमा डेनमार्क र क्वार्टरफाइनलमा आयोजक रुसलाई पेनाल्टी सुटआउटमा हराएको थियो। सेमिफाइनलमै पनि इङ्ल्यान्डलाई हराउन क्रोएसियाले अतिरिक्त समयसम्म संघर्ष गर्नु परेको थियो। यी तीनवटै खेलमा क्रोएसियाका लागि गोलरक्षक सुबासिचले निकै लोभलाग्दो प्रदर्शन गरेका थिए। त्यसैले पनि उमेरका कारण कतार विश्वकपसम्म उनको निरन्तरता यतिबेला क्रोएसियाका लागि चिन्ताको विषय बनेको छ।
यसैगरी वर्तमान टोलीका अर्का महत्वपूर्ण सदस्य लुका मोड्रिच पनि कतार विश्वकप सुरु हुँदा ३८ वर्ष पुग्नेछन्। रुस विश्वकपमा गरेको उत्कृष्ट प्रदर्शनका कारण प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै ‘गोल्डेन बल’ अवार्डसमेत जितेका मोड्रिचको निरन्तरता पनि क्रोएसियालाई पिरोल्ने अर्को विषय हो। ढल्कँदो उमेरका कारण उनले अर्को विश्वकप खेल्ने वा नखेल्ने अन्योलमै छ।
यसका अतिरिक्त कतार विश्वकप सुरु हुँदासम्म अर्का अनुभवी मिडफिल्डर इभान राकिटिच ३४ र मारियो मान्जुकिच ३६ वर्ष पुग्नेछन्। क्रोएसियन टोली यिनै होनहार खेलाडीको उत्कृष्ट प्रदर्शनमा टेक्दै रुस विश्वकपको फाइनलसम्म पुगे पनि भविष्यमा उनीहरूको निरन्तरताको विषय यतिबेला आम क्रोएसियन फुटबलप्रेमीका लागि चिन्ताको विषय बन्नु स्वाभाविकै हो। यी खेलाडी आफंै पनि ढल्कँदो उमेरका कारण अन्योलमा देखिन्छन्। त्यसैले होला, आइतबार राति ‘गोल्डेन बल’ पुरस्कार लिएर फर्कंदा पनि मोड्रिचले आफ्नो आँसु थाम्न सकेनन्। उनी भक्कानिएपछि क्रोएसियन राष्ट्र प्रमुख कोलिन्डा ग्राबर कितारोभिच आफैं अघि सरेर मोड्रिचलाई सान्त्वना दिनु परेको थियो।
‘रुसमा हामीले उत्कृष्ट फुटबल खेल्यौं, उपाधिको निकै नजिक पनि पुग्यौं तर, अन्तिम समयमा हामी चुक्यौं’, मोड्रिच भन्छन्। वर्तमान टोलीका चर्चित खेलाडीहरूको उमेरका कारण अन्य खेलाडी पनि चिन्तित देखिन्छन्। टोलीका २९ वर्षीय डिफेन्डर डेजन लोभरेनको यो कथनले सायद त्यसैको झल्को दिन्छ, ‘हाम्रो उमेर यतिबेला २४ वर्ष भइदिएको भए हुन्थ्यो। खासगरी लुका मोड्रिचको उमेर अझ कम हुनु पथ्र्यो। अहिले हामी समयको यस्तो मोडमा उभिएका छौं जहाँबाट अगाडिको बाटो कठिन छ र गन्तव्य झनै टाढा।’
चर्चामा रहेका खेलाडी
लुका मोड्रिच (क्रोएसिया)
मिडफिल्डमा सधैं सशक्त रूपमा प्रस्तुत हुने लुका मोड्रिचकै प्रदर्शनमा क्रोएसिया जारी रुस विश्वकपको फाइनलमा पुग्यो। पहिलो पटक क्रोएसियालाई फाइनलमा पुर्याउन उनै ३२ बर्षीय मोड्रिच मुख्य खेलाडीको सुचीमा रहे। फाइनलमा फ्रान्ससँग ४–२ गोलको अन्तरले पराजित भएपनि मोड्रिचको खेलले सन्सार भरका फुटबल समर्थकको मन जित्यो। समूह चरणदेखिनै क्रोएसियाको सफलतामा मोड्रिचले उत्कृष्ट खेल खेले। त्यसैले मोड्रिचलाई रुस विश्वकपको ‘गोल्डेन बल’ पुरस्कार समेत प्रदान गरियो। विश्वकपको सर्वोत्कृष्ट खेलाडीलाई यो पुरस्कार प्रदान गरिन्छ। मोड्रिचले यस पुरस्कारको दौडमा फ्रान्सका केलियन एमबाप्पे र बेल्जियममा इडेन हाजार्ड पनि थिए। टोलीका कप्तानसमेत वर्षीय मोड्रिच यस्ता भाग्यमानी खेलाडी रहे, जसले आफ्नो नेतृत्वमा क्रोएसियालाई पहिलोपटक विश्वकपको फाइनलमा पुर्याए। उनकै नेतृत्वमा क्रोएसियाले जारी प्रतियोगिताको फाइनल अघि सबै खेलमा जित हात पारेको थियो। मोड्रिच आफ्नो पोजिसनमा मात्रै रहँदैनन्, बलका लागि मैदानको सबै ठाउँमा पुगेकै हुन्छन्। त्यसले पनि विपक्षी खेलाडीका लागि विश्वकपमा मोड्रिचलाई रोक्नु मुस्किल परेको थियो।
सुरक्षित ट्याकल प्रहार गर्दै विपक्षी खेलाडीसँग बल फुत्काउन सक्नु उनको अर्काे खुबी हो। स्पेनिस क्लब रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्दै आएका मोड्रिचले टोलीको यो सफलतामा खेलाडी र कप्तानको हैसियतमा ठूलो योगदान गरे। सन् २००६ बाट क्रोएसियाको राष्ट्रिय टोलीबाट खेल्दै आएका मोड्रिचले हालसम्म एक सय १३ खेलमा १४ गोल गरेका छन्।