अब उत्कृष्ट गोलको पालो
![अब उत्कृष्ट गोलको पालो](https://annapurnapost.prixacdn.net/media/albums/goal_world-cup_20180717015503_F7urSs1JdX.jpg)
मस्को : फ्रान्सले उपाधि जितेसँगै २१औं संस्करणको विश्वकप पनि सकिएको छ। प्रतियोगितामा व्यक्तिगत विधातर्फका विजेताको पनि टुंगो लागिसकेको छ। तर, एउटा विधाको टुंगो लाग्न अझै बाँकी छ र त्यसका लागि अझै महिना दिन कुर्नु पर्नेछ।
फिफाले प्रतियोगितामा भएकामध्ये उत्कृष्ट एक गोललाई छानेर पुरस्कृत गर्ने गर्छ। त्यो उत्कृष्ट गोल विश्वभरका फुटबल समर्थकको मतमार्फत छानिन्छ। त्यसका लागि फिफाले प्रतियोगिताको पूरा अवधिभर भएकामध्ये १८ उत्कृष्ट गोललाई छनोट गरेको छ। अब फुटबल समर्थकले ती १८ गोलमध्ये आफूलाई मन परेको गोललाई फिफाको आधिकारिक वेबसाइट फिफाडटकम वा फिफाको एप्स प्रयोग गरेर मत दिन सक्छन्।
फुटबल समर्थकले विश्वका कुनै पनि ठाउँबाट मत दिनसक्ने फिफाले जनाएको छ। प्रतियोगिताको फाइनल खेलसँगै खुलेको भोटिङ आगामी २३ जुलाईसम्म जारी रहनेछ। फिफाले समर्थकको मतका आधारमा उत्कृष्ट गोल छनोट गरेको यो लगातार चौथो विश्वकप हो। फिफाले सन् २००६ मा जर्मनीमा भएको विश्वकपदेखि समर्थकको मतका आधारमा उत्कृष्ट गोल छनोट गरी पुरस्कृत गर्ने गरेको हो।
अर्जेन्टिनाका माक्सी रोड्रिगेज दर्शकको छनोटका आधारमा विश्वकपको उत्कृष्ट गोलको अवार्ड जित्ने पहिलो खेलाडी हुन्। उनले मेक्सिकोविरुद्ध भली सटमा गरेको गोल प्रतियोगिताकै उत्कृष्ट ठहरिएको थियो। यस्तै सन् २०१० मा उरुग्वेका डिइगो फोर्लानले जर्मनीविरुद्ध गरेको गोल र सन् २०१४ मा कोलम्बियाका जेम्स रोड्रिगेजले उरुग्वेविरुद्ध गरेको गोल उत्कृष्ट ठहरिएको थियो।
यसपटक पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले स्पेन, स्पेनका नाचोले पोर्चुगल, ब्राजिलका फिलिप कोउटिन्होले स्विट्जरल्यान्ड, रुसका डेनिस चेरिसेभले साउदी अरेबिया, बेल्जियमका ड्राइज मार्टेन्सले पानामा, कोलम्बियाका जुआन क्विन्टेरोले जापान, रुसका अर्तेम डिज्युबाले इजिप्ट र क्रोएसियाका लुका मोड्रिचले अर्जेन्टिनाविरुद्ध गरेको गोल प्रतियोगिताको उत्कृष्ट गोलको अन्तिम १८ मा छनोट भएका छन्।
यस्तै नाइजेरियाका अहमेद मुसाले आइसल्यान्ड, अर्जेन्टिनाका लियोनल मेसीले नाइजेरिया, जर्मनीका टोनी क्रुजले स्विडेन, इङ्ल्यान्डका जेसे लिन्गार्डले पानामा, पोर्चुगलका रिकार्डाे क्वाइरेस्माले इरान, बेल्जियमका अद्नान जानुजाजले इङ्ल्यान्ड, अर्जेन्टिनाका एन्जेल डी मारियाले फ्रान्स, फ्रान्सका बेन्जामिन पाभार्डले अर्जेन्टिना, बेल्जियमका नासर चाड्लीले जापान र रुसका डेनिस चेरिसेभले क्रोएसियाविरुद्ध गरेका गोल पनि अन्तिम १८ भित्र परेका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)