अर्जेन्टिनी प्रशिक्षक साम्पाओली पद छाड्न तयार

अर्जेन्टिनी प्रशिक्षक साम्पाओली पद छाड्न तयार

ब्युनस एयर : अर्जेन्टिनी टोली रुसमा सम्पन्न २१औं विश्वकप फुटबलको प्रिक्वार्टरफाइनल खेलबाट बाहिरिएपछि निकै आलोचित बनेका प्रशिक्षक जोर्गे साम्पाओली अन्ततः पद छाड्न तयार भएका छन्। अर्जेन्टिनी फुटबल संघसँग लामो समय छलफल गरेपछि प्रशिक्षक साम्पाओली पद छाड्न तयार भएका हुन्। अर्जेन्टिनी फुटबल संघले पनि समाचारको पुष्टि गरेको छ।

बल्लतल्ल छनोट चरण पार गर्दै रुस यात्रा तय गरेको अर्जेन्टिनाले विश्वकपमा भने अत्यन्तै निराशाजनक प्रदर्शन गरेको थियो। समूहगत चरणको आफ्नो पहिलो खेलमै नवप्रवेशी आइसल्यान्डसँग १—१ गोलको बराबरीमा रोकिएको अर्जेन्टिनालाई दोस्रो खेलमा क्रोएसियाले ३—० गोलले हराएको थियो। समूहगत चरणको तेस्रो खेलमा नाइजेरियामाथि २—१ गोलको जित हासिल गर्दै अर्जेन्टिना उपविजेताको रूपमा नकआउट चरणमा पुगेको थियो।

विश्वकपमा आफ्नो नाम र प्रभाव अनुरूपको प्रदर्शन गर्न नसकेको लियोनल मेसीको टोली प्रिक्वार्टरफाइनलभन्दा अगाडि भने बढ्न सकेन। दुई पटकको विश्वकप विजेता अर्जेन्टिनालाई प्रिक्वार्टरफाइनलमा फ्रान्सले ४—३ गोलले हराएको थियो। एकपछि अर्को निराशाजनक प्रदर्शनका कारण प्रशिक्षक साम्पाओलीले ठूलै आलोचनाको सामना गर्नु परेको थियो।

साम्पाओलीको चर्को आलोचना गर्नेमा महान अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोना पनि एक थिए। म्याराडोनाले विश्वकपमा टोलीको निराशाजनक प्रदर्शनपछि साम्पाओलीलाई घर फर्कन अप्ठ्यारो पर्ने चेतावनीसमेत दिएका थिए। अर्जेन्टिना सन् २०१४ को विश्वकपको उपविजेता टोली हो। ५८ वर्षीय साम्पाओलीले सन् २०१७ को मेमा अर्जेन्टिनी टोलीको नेतृत्व सम्हालेका थिए। साम्पाओलीसँग प्रशिक्षण टोलीमा रहेका जोर्गे डेसियो र माटियस मानले पनि पद छाड्ने भएका छन्।

‘प्रशिक्षक जोर्गे साम्पाओलीले पद छाड्ने विषयमा हामीबीच सहमति भएको छ’, अर्जेन्टिनी फुटबल संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ। क्रोएसियासँगको हार विश्वकपको समूहगत चरणमा अर्जेन्टिनाका लागि सन् १९५८ पछिको सबैभन्दा ठूलो अन्तरको हार हो। सन् १९५८ मा अर्जेन्टिनालाई समूहगत चरणमा चेकोस्लोभाकियाले ६—१ गोलले हराएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.