फोहोर उठाउन ट्र्याक्टर छैन, मेयरलाई करोडको गाडी
जनकपुर : ट्र्याक्टर नभएर फोहोर उठाउन बिजोग भएका बेला जनकपुर उपमहानगरपालिकाले मेयरका लागि १ करोडभन्दा बढी मूल्यको गाडी खरिद गरेको छ। उपमहानगरपालिकालाई समृद्ध बनाउन प्रभावकारी योजना ल्याउनुको साटो १ करोड ३८ लाखको गाडी खरिद गरेको भन्दै आलोचना भएको छ।
कार्यभार सम्हालेदेखि मेयर लालकिशोर साहले कार्यालयमा उपलब्ध गाडी चढ्दै आएका थिए तापनि उपपमहानगरपालिकाको रकमबाट फोर्ड कम्पनीको महँगो गाडी खरिद गरिएको हो। मेयरले जनकपुरस्थित सोरुमको मध्यस्थतामा राजधानीको थापाथलीबाट एक साताअघि डेनोभर ब्रान्डको गाडी खरिद गरेको उपमहानगरपालिकाको लेखा शाखाले जनाएको छ। उनले प्रयोग गर्दै आएको महिन्द्रा कम्पनीको गाडी उपमेयर रीता झालाई प्रयोग गर्न दिइएको छ।
महँगो गाडी खरिदका विषयमा साहकै पार्टी राजपामा आलोचना हुन थालेको छ। राजपाका जिल्ला नेता धीरेन्द्रबहादुर सिंहले बिनाटेन्डर गाडी खरिद गरी नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएका छन्। मेयरको यस्तो क्रियाकलापले विकास र समृद्धिको नारा भाषणमा सीमित हुने उनको जिकिर छ।
उनका अनुसार विलासी गाडीको रकमबाट एक दर्जन ट्र्याक्टर खरिद गर्न सकिन्थ्यो। त्यसबाट नगरको सफाइमा सहयोग पुग्थ्यो।