बजेट साढे चार अर्ब, आयोजना खर्च ७१ अर्ब
काठमाडौं : वार्षिक बजेट साढे चार अर्ब रुपैयाँ भएको रेल विभागले ७१ अर्ब लाग्ने पूर्व –पश्चिम रेलमार्ग अन्तर्गतको वर्दिवास–सिमराखण्ड निर्माण थालेको छ। यही हिसाबले विभागलाई बजेट दिने हो भने आयोजना सक्न मात्र दसकौं लाग्ने देखिन्छ।
वर्दिवास–सिमरा खण्ड एक सय आठ किलोमिटरको लागत प्रतिकिमि ६५ करोड रुपैयाँ छ। तीन वर्ष अगाडि ३० किमि रेल मार्ग बनाउन थालिएको थियो। विभागका महानिर्देशक अनन्त आचार्यले अहिलेसम्म २७ किमि रेल मार्ग बनेको जानकारी दिए। उनले भने, ‘यही मार्गमा ४० किमि थप्ने हो। त्यो हामी आफै बनाउँछौं।’
यही खण्डमा जोड्ने गरी बर्दिवाससम्म भारतले ७० किमि रेलमार्ग निर्माण गरिरहेको छ। भारतले जयनगरबाट ल्याउने यो रेलमार्ग एक सय ४० किमिको हुनेछ। यो मार्ग रेल कुदाउन सकिने अवस्थामा रहेको महानिर्देशक आचार्यले बताए। विभागले आयोजना पूरा हुने समय वार्षिक बजेट विनियोजनका आधारमा तय हुने बताएको छ। वार्षिक बजेट पर्याप्त मात्रामा आयो भने मात्र विभागले थालेका आयोजना निर्माण हुन सक्छन्। एउटै रेलमार्ग निर्माण गर्न समेत बजेटको अभाव हुने भएकाले बाँकी खण्ड पैसाका कारण अगाडि बढाउन नसकिने विभागको भनाइ छ।
बजेट व्यवस्थापन भए काम गर्न समस्या नहुने विभागको तर्क छ। ‘विभागमा दुई वर्ष अगाडिसम्म रकम अभाव भएकै कारण डेढ सय कर्मचारीबाट १७ जनामा सिमित गर्नुपरेको महानिर्देशक आचार्यले बताए। नले भने, ‘अब फेरि कर्मचारी कामको गति बढाउन कर्मचारी थप्नु पर्छ। बजेट भएको भए तिनै कर्मचारी तुरुन्त फिल्डमा गएर काम थाल्न सक्दथ्ये।’
काठमाडौं उपत्यकामा मेट्रोरेल बनाउन विभागले आवश्यक तयारी गरिरहेको छ। अन्य निकायले समन्वय नगर्दा आयोजना अगाडि बढाउँदा समस्या भएको महानिर्देशक आचार्यले बताए। ‘यस अघि विभागले आर्थिक वर्ष २०७४/७५ कै लागि बूढानिलकण्ठदेखि सातदोबाटोसम्म रेलमार्ग बनाउने विषयमा प्रस्तावको तयारी गरिरहेको थियो। सोही समयमा काठमाडौं महानगरपालिकाले उपत्यकामा मोनोरेल चलाउन सम्भाव्यता अध्ययनको सम्झौता नै गरेकोले हामी चुप लागेका हौं’, उनले भने, ‘रेल यातायात सञ्चालन गर्ने, नियमन गर्ने आधिकारिक निकायलाई नै पन्छाएर अगाडि बढाएकोले एउटै बाटोबाट मोनो र मेट्रो रेल अगाडि बढाउन नसकिने भएकोल हामी पछाडि हटेका हौं।’
महानगरपालिकाले काठमाडौं चक्रपथ मोनोरेल चलाउन सम्भाव्यत अध्ययन गराइरहेको छ। महानगरले चिनियाँ कम्पनीलाई ६ महिनाभित्र विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डीपीआर) बनाउन सम्झौता भइसकेको छ। महानगरले सोही कामका लागि १५ लाख रुपैयाँको बजेट छुट्टयाएको छ।
काठमाडौं उपत्यकामा ७२ किमि दूरीमा मेट्रोरेलको डीपीआर तयार हुँदै छ। पूर्वपश्चिम रेलमार्गको नौ सय ४५ किमि, काठमाडौं वीरगन्जको एक सय किमि, केरुङ–काठमाडौं–पोखरा लुम्बिनीको तिन सय ५९ किमि र निजगढ–हेटौंडा भरतपुरको १३६ किमिको डीपीआर बनाउने काम अगाडि बढेको छ। यसमध्ये सीमरा बर्दिवास रेलमार्गको ट्र्याक बेड, पुल, कल्र्भट, जनावर मार्ग, विद्युत्, दूरसञ्चार संकेत प्रणालीको कामै सकिएको छ।
विभागका अनुसार सन् २०१८ भित्रै जयनगर–जनकपुरसम्मको ३५ किमि रेलमार्गमा रेल सञ्चालन हुनेछ। यसका लागि आवश्यक गृहकार्य अगाडि बढिरहेको भौतिक मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले बताए। चार वर्ष अगाडिसम्म जयनगर–जनकपुरसम्म सञ्चालन भएको पुरानो रेल बन्द भए पनि भारत सरकारले नै पुनः नेपाली भूमिमा रेल मार्ग निर्माण गरिरहेको छ। न्यारोगेजमा सञ्चालन हुने पुरानो रेलमार्गको ५२ किमिलाई सुधार गरेर अहिले तत्काललाई ३५ किमिमा ब्रोडगेजको रेल सञ्चालन गर्ने गरी काम भइरहेको विभागले जनाएको छ।
भारतको सहयोगमा निर्माणाधीन जनकपुर–जयनगर–बर्दिवास खण्डको जयनगर–जनकपुर–बिजलापुरसम्मको ५२ किमि खण्डको पुरानो रेल लिकलाई सुधार गर्ने काम ८० प्रतिशत सकिएको छ। यस खण्डमा आगामी असोजसम्ममा रेलमार्ग निर्माण सकिने र भारतले नै रेल कुदाउने भएको छ। भारतले बर्दिवासदेखि बिजलापुरसम्मको जम्मा ७० किमि दूरीमा रेलमार्ग बनाउँदै छ। यसमध्ये २०७५ को असोजसम्ममा ३५ किमि तयार हुनेछ।