उत्पादन थप्दै नेपाल औषधि लिमिटेड

उत्पादन थप्दै नेपाल औषधि लिमिटेड

काठमाडौं : सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले उत्पादन थप्ने भएको छ। कम्पनीसँग अहिले ट्याब्लेट बनाउने मात्र मेसिन भएका कारण नयाँ उत्पादन पनि सुरु गर्न थालेको हो।

ट्याब्लेट सुविधामा भिटामिन, सिटाप्लस, आइरन चक्कीलगायत विभिन्न १० औषधि उत्पादन गर्ने योजना छ। लिमिटेडका महाप्रबन्धक रोभसकुसम सुवेदीले सिटामोलकै प्रविधि प्रयोग गरेर ती औषधि उत्पादन गरिने जानकारी दिए। उनले भने, ‘हाल ट्याब्लेट युनिट मात्रै भएकाले ट्याब्लेट औषधि बनाउन थालेका हौं।’

चालु आर्थिक वर्षका लागि पूर्वाधार निर्माण र १० प्रकारका औषधि उत्पादन गर्न ७ करोड ५० लाख रकम आवश्यक पर्ने लिमिटेडले जानकारी दिएको छ। २०६७ मा बन्द भएको नेपाल औषधि विश्व स्वास्थ्य संगठनको ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (जीएमपी)’ अनुसार मापदण्ड पूरा गरी २०७४ जेठ २४ गते जीवनजलबाट पुनः उत्पादन सुरु भएको थियो। कम्पनीले पुनः सञ्चालन भएपछि अहिलेसम्म तीन लाख ३६ हजार प्याकेट जीवनजल उत्पादन गरेको छ।

यस्तै सिटामोलको छुट्टै नयाँ युनिट बनाएर जीएमपी मापदण्डअनुसार २०७५ वैशाखदेखि उत्पादन सुरु गरिएको हो। हालसम्म १८ लाख ४० हजार ट्याब्लेट सिटामोल उत्पादन गरेको सुवेदीले बताए। उत्पादन लागत महँगो पर्ने भएकाले निजी क्षेत्रका औषधि उत्पादकले सिटामोल उत्पादनमा कमै रुचि देखाउने गरेको सुवेदीले बताए। अहिले बजारमा पाइने सिटामोलको मूल्य एकनास छैन। व्यापारीले मनपरी भाउमा बिक्री गरिरहेको उनले बताए।

पहिलो चरणमा जीवनजल उत्पादन थालेको उद्योगले दोस्रो चरणमा अत्यावश्यक र बजारमा खपत बढी भएका १५ भन्दा बढी प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य राखेको छ। तेस्रो चरणमा क्याप्सुल, पेनसिलिन समूहका औषधि, झोल तथा मलम उत्पादन गर्ने योजना छ। यसका साथै, सर्पले डसेपछि लगाउने ‘एन्टिभेनम’ खोपका लागि पनि शाखा सञ्चालनमा ल्याउने तथा हेमोडाइलासिस फ्युल्ड जस्ता अतिआवश्यक औषधि उत्पादनका लागि पनि लिमिटेडले काम अगाडि बढाएको छ।

यसका लागि सरकारले प्रारम्भिक चरणमा १५ करोड ६५ लाख रुपैयाँ ऋण उपलब्ध गराएको छ। उद्योगले आउँदो ६ महिनापछि विश्व स्वास्थ्य संगठनको ‘जीएमपी’को प्रमाणपत्र पाउने भएको छ।

सरकारले १४ करोड रुपैयाँ अनुदान दिएपछि नयाँ उपकरण खरिद गरी उद्योग सञ्चालनमा आएको हो। निजी कम्पनीसँग प्रतिस्पर्धा गर्न नसकेको र व्यवस्थापकीय कमजोरीका कारण बन्द रहेको नेपाल औषधि तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीको प्रयासमा सञ्चालनमा आएको हो। त्यसपछि गत वैशाखबाट यसले जीवनजलको उत्पादन थालेको थियो। २०२९ सालमा स्थापना भएको यो उद्योगले ०६० सालसम्ममा एक सय २० प्रकारका औषधि उत्पादन गर्दै आएको थियो।

पाँच वर्षमा ८ युनिट खोल्ने योजना

औषधि लिमिटेडले आगामी ५ वर्षमा ८ वटा विभिन्न युनिट स्थापना गर्ने योजना बनाएको छ। प्यारेन्टेरल युनिट, ड्रग डेलिभरी रिसर्च युनिट, बायोलोजिकल युनिट–एन्टी–स्नेक भेनम, हेमोडायलासिस युनिट, इन्जिनियरिङ युनिट, आयुर्वेदिक प्रडक्ट युनिट, एनिमल हाउस र वाटर ट्रिटमेन्ट प्लान्ट स्थापना गर्ने योजना रहेको सुवेदीले जानकारी दिए। उनले डब्लूएचओ–जीएमपी मापदण्डअनुसार क्रमस युनिट विस्तार गरी उत्पादन बढाउने बताए।

‘औषधिको प्रकारअनुसार छुट्टै युनिट चाहिन्छ। हाल ट्याब्लेट मात्रै उत्पादन भइरहेको छ। अब इन्जेक्सन वा जोल औषधि उत्पादनका लागि छुट्टै युनिट बनाउनुपर्छ’, उनले भने। उद्योगलाई पूर्वाधार निर्माणका लागि केही वर्ष सरकारले ऋण सहयोग उपलब्ध गराउनुपर्ने सुवेदीले बताए। उनले उत्पादित औषधि स्वास्थ्य मन्त्रालयमार्फत खरिद गर्ने व्यवस्था मिलाउन उद्योग मन्त्रालयमार्फत प्रस्ताव गरिएको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.