केसी पक्ष र सरकार टोलीबीच शिक्षा मन्त्रालयमा दोस्रो वार्ता
काठमाडौँ: जुम्ला सदरमुकाममा अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसी पक्ष र सोमबार गठित सरकारी वार्ता टोलीबीच दोस्रो वार्ता शिक्षा मन्त्रालयमा सुरू भएको छ । सोमबार राति भएको पहिलो चरणको वार्तामा कुनै सहमति नजुटेपछि दोस्रो चरणको वार्ता शिक्षा मन्त्रालयमा केहीबेरअघिबाट सुरू भएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट गठित शिक्षा मन्त्रालयका सचिव खगराज बराल नेतृत्वको सरकारी वार्ता टोली र केसी पक्षबीच वार्ता भइरहेको हो ।
सोमबारको वार्तामा चिकित्सा शिक्षा विधेयक फिर्ता गर्न माग गरेका थिए । केसी पक्षधरले विधेयक फिर्ता गरिए मात्र डा केसीलाई जुम्लाबाट काठमाडौँ ल्याउन पहल गर्ने अडान लिएका थिए । तर सरकारी पक्षले विधेयक फिर्ता लिने विषमा शिक्षा मन्त्रीसँग छलफल गरेर दोस्रो चरणको वार्तामा बस्ने बताएका थिए ।
यसअघि पहिलो चरणको वार्तामा सहमति जुटेको थिएन । ‘डा केसी र हामीले उठाएको माग अनुसार चिकित्सा शिक्षा विधेयक अध्यादेश अनुसार जस्ताको तस्तै पारित गर्नुपर्ने कुरामा सरकारी वार्ता टोली सहमत हुन सकेन’, केसी पक्षबाट वार्ता टोलीका सदस्य डा. अभिषेक सिंहले सोमबार भनेका थिए, ‘हाम्रा मागबारे वार्ता टोलीका संयोजक खगराज बरालले शिक्षा मन्त्रीलाई सोध्ने भन्नुभयो, शिक्षा मन्त्रीले प्रधानमन्त्रीलाई सोधेर निर्णय गर्ने बताएपछि वार्ता रोकिएको हो ।’
चिकित्सा शिक्षा विधेयकलार्इ लिएर जुम्लामा १६ दिनदेखि अनशनरत केसीको माग पुरा गर्न सरकारले शिक्षा सचिव बरालको संयोजकत्वमा वार्ता टोली बनाएको थियो ।