प्रधानमन्त्रीको कविताको चर्चा
काठमाडौं : चन्द्रागिरिमा देशविदेशका कवि, कलाकारको बाक्लो उपस्थिति थियो। उनीहरू त्यहाँको वातावरणमा रमाउँदै कविता फुराइरहेका थिए भने कलाकारहरू कुचीले क्यानभास रंग्याउँदै दृश्य उतारिरहेका थिए।
चन्द्रागिरिको मौसम पनि घाम र कुहिरोसँग लुकामारी खेल्दै थियो। आदिकवि भानुभक्त आचार्यको भेषमा थिए, कार्यक्रम संयोजक दिनेश डीसी। शिरमा कालो टोपी, दौरा सुरुवाल र हातमा रातो कभरको मोटो रामायण पुराण बोकेर उनी आगन्तुक पाहुनाहरूसँग भलाकुसारीमा व्यस्त थिए। बिहानीको १० बजिसक्दा चन्द्रागिरिको भालेश्वर मन्दिर परिसर चिरपरिचित कविहरूका अनुहारले भरिभराउ भयो। मन्दिर प्रांगणमा राष्ट्रिय विभूतिहरूको तस्बिर राखेर माहोललाई आकर्षक बनाइएको थियो। साथै शिव, पुरुषोत्तम, राम, कुमारी, हनुमान आदिको भेषमा सजिएका झाँकीहरूको उपस्थितिले चन्द्रागिरिको चिसो अनि रमणीय वातावरणलाई उत्साहित बनाएको थियो।
हिमवत् खण्ड कला त्रिदीवसीय साहित्य सम्मिलनको अन्तिम दिन भारत, सिलोङका कवि प्राध्यापक नरबहादुर राईले नेपाल बाहिरका नेपाली कविता सेसनमा वाचन गर्दै थिए, ‘चन्द्रागिरिको सुन्दर डाँडोबाट चियाउँदा मलाई त नेपाल बसूँबसूँ लाग्यो। मेरो मनले भन्छ, म अब सिलोङ जान्नँ।’ उता डुवर्सका कवि इन्द्रबहादुर गुरुङको कविताको आशय थियो, ‘भारतका विभिन्न प्रदेशमा नेपालीभाषी भएकै कारण हामी लुटिएका छौं, खेदिएका छौं। यहाँ जोश सुनाउन आएको होइन, मनको वह पोख्न आएको हुँ।’ कवि राई र गुरुङले झैं भारतका विभिन्न खण्ड दार्जिलिङ, सिलगढी, मिरिक, मेघालयदेखि बिहार सम्मका कविले पितृभूमि सम्झिँदै कविता वाचन गरे। कार्यक्रममा म्यानमार, भुटान, थाइल्यान्ड, जापानलगायत करिब १२ देशका स्रष्टाको जमघट रहेको जानकारी आयोजकले दिए।
चन्द्रागिरिबाट समृद्धिको स्वर नाम दिइएको पहिलो सेसनको कविता कार्यक्रममा सहभागी थिए, प्रत्येक प्रदेशका एक महिला र एक पुरुष कवि। कार्यक्रममा प्रायः सबै कविले देशको विकासमा समृद्धिको स्वर उराले। कवि डा. रामप्रसाद ज्ञवालीको ‘स्वाभिमान’ शीर्षकको कविताले धेरैलाई जुरुक् जुरुक् उचालेको थियो। ससाना कुरामा पनि विदेशी दातृ निकाय गुहार्नेप्रति उनको व्यंग्य थियो—
इच्छा मात्र गरी प्रयत्न नगरी बन्दैन कोही सुन
अर्काको भरमा परी हिमचुली सक्दैन कोही छुन
पन्छीले रूखमा बनाउँछ स्वयं आफ्नै बुताले घर
नेपाली यदि स्वाभिमान छ भने आफैं बनाऊ घर।
शुक्रबार राष्ट्रिय नाचघरमा हिमवत् खण्ड कला त्रिदीवसीय साहित्य सम्मेलनको उद्घाटनका प्रमुख अतिथि थिए, प्रधानमन्त्री केपी शर्मा ओली। आइतबार कार्यक्रम समापनको दिन पनि बिहान ११ देखि साँझ साढे ६ बजेसम्म प्रधानमन्त्री ओलीले पूरै समय दिए। चन्द्रागिरिबाट समृद्धिको स्वर र नेपाल बाहिरका नेपाली कविता दुवै सेसनका कविता चाख मानेर सुने। कार्यक्रमको दोस्रो दिन शनिबार रसियन कल्चर सेन्टरमा भाषाबारे विभिन्न कार्यपत्र, बहुभाषिक कविता गोष्ठी, हाँस्यव्यंग्य कार्यक्रममा प्रधानमन्त्री ओली सरिक हुन सकेनन्। तर, कार्यक्रमको समाचार पढेको भरमा टिप्पणी गर्न भ्याए, ‘लक्ष्मण गाम्नागेको सिस्नु लगाउने कविताले अरूलाई त सिस्नु लगाउला तर त्यसले मलाई भने सिस्नु लगाउन सक्तैन।’
ओलीले अब विद्रोह होइन, समृद्धिका कुरा गर्नुपर्ने बताए। ‘देशको विकास गर्न ढिला भइसकेको छ तर सबै मिले समृद्धि सम्भव छ’, उनले भने। उनले बढी धान फलाउनु मात्रै विकासको उदाहरण नभएको जनाउँदै भाषा, कला, साहित्य, संस्कृतिको विकास पनि समृद्धिको परिचायक भएको विचार राखे। कार्यक्रमस्थलमै कविता रचेर आफू पनि कविको पंक्तिमा उभिएको जनाउँदा प्रम ओलीको कविता सुन्न सबै आतुर थिए। उनको कविताको आशय थियो, ‘परिवर्तनशील दुनियाँमा बाँचेको पो को छ र ? मरेपछि पनि नेपालको सपना देख्न पाऊँ।’ उनको कवितापछि सहभागी एक कविले टिप्पणी गरे, ‘प्रधानमन्त्रीको कवितामा आफ्नो बुढ्यौली उमेरको चिन्ता देखियो। अनि केही गर्लान् भनेको त सपना मात्रै बाँडेर जाने चिन्तन पो देखाए।’
कार्यक्रममा कविता वाचनका साथै चित्रकला प्रदर्शनी पनि गरिएको थियो। उक्त प्रदर्शनीमा चन्द्रागिरि डाँडासँग नेपालको इतिहास जोडिएको प्रसंगदेखि भानुभक्तले नेपाली भाषा रामायण लेख्दै गरेका दृश्यहरू झल्काउने चित्रहरू थिए। कलाकारहरूले चन्द्रागिरि हिल्समै बसेर डेढ घन्टाको अवधिमा ती चित्रहरू बनाएका थिए। नेपाली भाषा साहित्यको संवद्र्धन गर्दै यसलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउन सम्मिलन आयोजना गरेको जनाउँदै १५ बुँदे चन्द्रगिरि घोषणापत्रसमेत जारी गरियो।