नेविसंघको विरोध प्रदर्शनमा प्रहरी हस्तक्षेप : अध्यक्ष महरसहित केही नेता घाइते
काठमाडौं : नेपाल विद्यार्थी संघको विरोध प्रदर्शनमा प्रहरीले लाठी चार्ज गरेको छ । सरकारको विरोध गर्दै नेविसंघले मंगलबार राजधानीमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको सरकारले सर्वसत्तावादी चरित्र देखाएको भन्दै नेविसंघले मातीघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शनको कार्यक्रम राखेको थियो । सोहीक्रममा बबरमहल आइपुग्दा नेविसंघका नेतामाथि प्रहरीले लाठीचार्ज गरेको हो।
प्रहरीको लाठी चार्जबाट नेविसंघ अध्यक्ष नैनसिंह महर, उपाध्यक्ष पुष्पकुमार शाही, महामन्त्री आनन्दराज त्रिपाठी, नेताहर सुवास कठायत, मनिस एर, तिलक बटालालगायत घाइते भएका छन् । घाइतेको नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये अधिकांशको खुट्टा, हात र टाउकोमा चोट लागेको घाइते मध्येकै एक पुष्पकुमार शाहीले जानकारी दिए।
नेविसंघले जुम्लामा अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग समेत गरेको छ । १८ दिनदेखि अनसनरत डा. केसीको जीवन रक्षाका लागि नेविसंघले माग गरेको हो। मंगलबारको विरोध प्रदर्शन अध्यक्ष महर नेतृत्वको गुटले गरेको हो।