‘म फरक फुटबलर हुँ’

‘म फरक फुटबलर हुँ’

एजेन्सी : प्रायः खेलाडी ३३ वर्षको उमेरमा वि श्रामतिर पुग्छन् । पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले भने आफू ३३ वर्षकै उमेरमा लय गुमाउनेमध्येका फुटबलर नरहेको दाबी गरेका छन् । इटालियन क्लब युभेन्टससँग अनुबन्धित भएपछिको आफ्नो पहिलो पत्रकार सम्मेलनमा रोनाल्डोले खेलबाटै आफू फरक फुटबलर भएको प्रमाणित गर्ने दाबीसमेत गरेका छन् ।

रोनाल्डो अघिल्लो साता मात्रै स्पेनिस क्लब रियल म्याड्रिड छाडेर १३ करोड १५ लाख अमेरिकी डलरमा युभेन्टससँग अनुबन्धित भएका थिए । उनले युभेन्टससँग आगामी चार वर्षका लागि सम्झौता गरेका हुन् । बढ्दो उमेरसँगै आफ्नो सक्रिय खेलजीवनको अन्त्यतिर पुगेको आकलन गरिएका रोनाल्डोका लागि यत्तिको रकम खर्च गर्नु अनावश्यक भएको चर्चा चलिरहेकै बेला उनले यस्तो जवाफ फर्काएका हुन् ।

रियल म्याड्रिडमा नौ वर्ष बिताएका रोनाल्डोले नयाँ क्लबसँग अनुबन्धित हुँदा देखिएका नयाँ चुनौतीबाट आफू अझ उत्साहित भएको बताए । ‘म सम्मानका साथ भन्न चाहन्छु, मेरा उमेरका कतिपय खेलाडीहरू कतार वा चीन जान्छन् । त्यसैले अहिलेको अवस्थामा युभेन्टसजस्तो क्लबसँग अनुबन्धित हुन पाउनु मेरा लागि निकै खुसीको कुरा हो’, रोनाल्डो भन्छन्, ‘जो खेलाडी मेरो उमेरमा आफ्नो खेलजीवन सकिएको ठान्छन्, म उनीहरूभन्दा फरक फुटबलर हुँ । यो मेरा लागि भावुक हुनुपर्ने क्षण पनि हो । किनभने म २३ हैन ३३ वर्षको पुगेको छु । यद्यपि म यो उमेरमा खेलजीवन सकिएको हुँदैन भनेर देखाउन पनि चाहन्छु ।’

रोनाल्डोले आफूले नयाँ क्लबबाट धेरै ठूला सफलताको आशा गरेको पनि बताए । ‘म यहाँ बिदा मनाउन आएको हैन’, उनले भने, ‘म युभेन्टसमा इतिहास बनाउन चाहन्छु र, मलाई विश्वास छ फेरि एक पटक सबैलाई आश्चर्यचकित बनाउन सफल हुनेछु ।’ रोनाल्डो सन् २००९ मा इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट रियल म्याड्रिड पुगेका थिए । स्पेनमा चार सय ३८ खेलबाट चार सय ५१ गोल गरेका रोनाल्डो रियल पुगेपछि क्लबका सर्वाधिक गोलकर्ता बने । उनले रियललाई स्पेनिस ला लिगा, कोपा डेल रे र च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण योगदान गरे ।

सन् २०१७ मा रियलले युभेन्टसलाई नै पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि जित्दा रोनाल्डोले सशक्त प्रदर्शन गरेका थिए । सन् २०१६ मा पोर्चुगललाई युरोकपको उपाधि समेत दिलाएका रोनाल्डोले म्यानचेस्टर युनाइटेडबाट पनि युरोपियन च्याम्पियन्स लिग, तीनवटा इङ्लिस प्रिमियर लिग र एफए कपको उपाधि जितेका थिए । युरोपका दुई ठूला क्लबबाट हात पारेका यी ठूला सफलतालाई उनले इटालीमा पनि निरन्तरता दिने बताए ।

सोमबार आफ्नो स्वास्थ्य परीक्षणका लागि एलिएन्ज स्टेडियम पुग्दा रोनाल्डोलाई स्वागत गर्न हजारौं समर्थकहरू पुगेका थिए । समर्थकले ‘ब्रिङ अस च्याम्पियन्स लिग’ (हामीलाई च्याम्पियन्स लिग ल्याइदेऊ) को नारा लगाएका थिए । युभेन्टसले सन् १९९६ पछि च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन । त्यसयता युभेन्टस पाँच पटक फाइनलमा पुगेर पनि उपाधिबाट चुक्दै आएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.