पुटिन र ट्रम्पको फुटबल कूटनीति
हेलसिन्की : रुसमा भर्खरै विश्वकप फुटबलको २१औं संस्करण सफलतापूर्वक सम्पन्न भएको छ । विभिन्न आशंका र अड्कलबाजीबीच आफ्नो राष्ट्रमा विश्वकपको सफल आयोजनापछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिन पनि मक्ख छन् । विश्व फुटबलको महाकुम्भलाई सफलतापूर्वक सम्पन्न गरेपछि विश्व फुटबल महासंघ (फिफा)देखि विभिन्न देशका राष्ट्र र सरकार प्रमुखले समेत रुसको प्रशंसा गरिरहेका छन् ।
संयोगवश विश्वकप सकिएलगत्तै रुसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच पनि भेटको अवसर जुरेको छ । विश्वकप सकिएको एक दिनपछि सोमबार फिनल्यान्डको हेलसिन्कीमा यी दुई राष्ट्र प्रमुखबीच भेट हुँदा पनि फुटबल रमाइलो तरिकाले चर्चाको विषय बन्न पुग्यो । दुवै राष्ट्रपतिको भेटपछि संयुक्त पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।
पत्रकार सम्मेलनमा एक सञ्चारकर्मीले विश्वकप फुटबलको प्रसंग कोट्याउँदै प्रश्न अघि सारेका थिए । त्यसको जवाफमा राष्ट्रपति पुटिनले एउटा रातो र सेतो रङको फुटबल झिक्दै त्यो उपहारस्वरूप आफ्ना अमेरिकी समकक्षीको हातमा राखिदिए । अमेरिकी राष्ट्रपति ट्रम्पले उपहार स्वीकार्दै त्यो फुटबल आफ्ना १२ वर्षीय छोरा ब्यारोनलाई दिने जवाफ फर्काए ।
राष्ट्रपति ट्रम्पले आफ्ना छोरा ब्यारोन फुटबल समर्थक भएको बताउन पनि भ्याए । त्यसपछि राष्ट्रपति ट्रम्पले आफ्ना रुसी समकक्षीबाट उपहार पाएको फुटबल पत्नी मेलानियाको हातमा राखिदिए । रिपब्लिकन सिनेटर लिन्ड्से ग्राहमले भने सामाजिक सञ्जाल ट्विटरमा ट्विट गरेका छन्, ‘म भएको भए त्यो फुटबललाई कुनै सुन्ने यन्त्रसँग साट्ने थिएँ र त्यसलाई कहिल्यै पनि ह्वाइट हाउसभित्र प्रवेशको अनुमति दिने थिइनँ ।’
आइतबार राति खेलिएको २१औं विश्वकपको फाइनलमा फ्रान्सले क्रोएसियालाई ४–२ गोलले हराउँदै दोस्रोपटक उपाधि चुमेको थियो ।