विजेता र उपविजेताको भव्य स्वागत
पेरिस : रुसमा आइतबार सम्पन्न २१औं विश्वकप जितेको फ्रान्स र उपविजेता बनेको क्रोएसियाका खेलाडीले घरमा भव्य स्वागत पाएका छन् । सोमबार घर फर्किएका फ्रान्स र क्रोएसिया दुवै टोलीलाई लाखौं समर्थकले भव्य स्वागत गरेका हुन् । फाइनलमा क्रोएसियालाई ४–२ गोलले हराउँदै फ्रान्सले उपाधि चुमेको थियो । सन् १९९८ मा पहिलो पटक उपाधि जितेको फ्रान्सले समग्रमा दोस्रो उपाधि भित्र्याउँदा पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएसिया भने उपविजेतामै सीमित बनेको थियो ।
फ्रान्सेली टोली सोमबार राजधानी पेरिसस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रँदा लाखौं समर्थक उनीहरूको स्वागतका लागि उपस्थित थिए । विमानबाट सबैभन्दा पहिले प्रशिक्षक डिडियर डेसच्याम्पस र टोलीका कप्तान ह्युगो लोरिस विश्वकपको ट्रफीसहित बाहिर निस्किएका थिए । टोलीका अन्य सदस्यले भने उनीहरूलाई पछ्याएका थिए । विमानस्थलमा विश्वकपको ट्रफीसहित प्रशिक्षक र कप्तानलाई देख्दा उपस्थित समर्थक निकै हौंसिएका थिए ।
खेलाडीलाई विमानस्थलबाटै छत खुला रहेको बसमा राखेर सहरको परिक्रमा गराइएको थियो । सहर परिक्रमाको क्रममा खेलाडीले पालैपालो ट्रफी सार्वजनिक गर्दा उपस्थित समर्थकले खुसीयालीमा चर्को नारा लगाएका थिए । समर्थकले नगर परिक्रमाको सबै यात्रामा खेलाडीलाई त्यसरी नै साथ दिए । फ्रान्सेली राष्ट्रपति इमानुएल माक्रोनले देशलाई २० वर्षपछि विश्वकप उपाधि दिलाउने आफ्ना खेलाडीलाई ‘लेजिवन अफ अनर’ पुरस्कारबाट सम्मानित गर्ने घोषणा पनि गरे ।
उपाधि विजेता फ्रान्सका खेलाडीलाई राजधानी पेरिसमा भब्य स्वागत गरिँदै । तस्बिर : एपी/रासस
उक्त सम्मान फ्रान्समा देशका लागि महत्वपूर्ण योगदान पुर्याउने व्यक्ति वा संस्थालाई दिइने सबैभन्दा प्रतिष्ठित सम्मान हो । खेलाडीलाई सो पुरस्कारबाट सम्मानित गर्दा तीन हजारभन्दा बढी लब्ध प्रतिष्ठित व्यक्तिको उपस्थिति रहने बताइएको छ । सम्मान कार्यक्रममा स्थानीय फुटबल क्लबहरूबाट पनि एक हजार युवा फुटबलरलाई सहभागी गराइनेछ ।
फ्रान्स जस्तै क्रोएसियाका खेलाडीले पनि उपविजेता बन्दै घर फर्कंदा उस्तै भव्य स्वागत पाए । टोली राजधानी जाग्रेबमा उत्रँदा राष्ट्रिय टोलीको जर्सी लगाएका हजारौं समर्थकले भव्य स्वागत गरेका थिए । फाइनलमा फ्रान्ससँग पराजित भएपछि उपाधिबाट चुके पनि विश्वकप फुटबलमा क्रोएसियाका लागि उपविजेता बन्नु अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धि हो । सन् १९९१ मा युगोस्लाभियासँग छुट्टिएपछि स्वतन्त्र राष्ट्रको रूपमा क्रोएसियाले सन् १९९८ मै पहिलो विश्वकप खेलेको थियो । त्यसबेला फ्रान्सले क्रोएसियालाई सेमिफाइनल मै पराजित गरेको थियो । त्यसबेला क्रोएसिया चौथो बनेको थियो । त्यसपछि पाँचौं विश्वकपको रूपमा यस पटक रुस विश्वकपका लागि छनोट हुँदा क्रोएसिया उपविजेता बनेको छ ।
प्रतियोगितामा आफ्नो पहिलो खेलबाटै सशक्त प्रदर्शन गरेको क्रोएसियाले फाइनलअघिका सबै खेलमा आफूलाई विजयी बनाएको थियो । त्यसैले पनि क्रोएसियाली जनताले टोलीको यो सफलतामा खुसी मनाएका हुन् । क्रोएसियाली खेलाडीलाई समेत छत नभएको खुला बसमा राजधानी जाग्रेबको परिक्रमा गराइएको थियो । जाग्रेब प्रहरीका अनुसार खेलाडीको स्वागतका लागि दुई लाख ५० हजार सर्वसाधारण उपस्थित भएका थिए ।
आफ्नो स्वागतका लागि उपस्थित सर्वसाधारणलाई देखेर हर्षित भएका क्रोएसियाली खेलाडीले निक्कै खुसी व्यक्त गरे । ‘म क्रोएसियाली जनतालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु’, टोलीका कप्तान तथा विश्वकपकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका लुका मोड्रिचले भने । टोलीका अर्का खेलाडी इभान राकिटिचले थपे, ‘समर्थकहरूको उपस्थिति देखेर म निःशब्द छु ।’