अदालतमा अतिरिक्त समय काम रोकिने

अदालतमा अतिरिक्त समय काम रोकिने

काठमाडौं : सरकारले प्रोत्साहन प्रणाली खारेज गरेपछि न्याय सेवाअन्तर्गत मुलुकभरका कर्मचारीले गर्दै आएको अतिरिक्त समय काम रोकिने भएको छ । सरकारले अतिरिक्त समयका लागि कर्मचारीलाई दिँदै आएको प्रोत्साहन भत्ता कटौती गरेपछि कर्मचारी थप समय काम नगर्ने निष्कर्षमा पुगेका हुन् । अदालतलगायत निकायमा न्याय सेवाका कर्मचारीले बिहान नौ बजेदेखि बेलुका ६ बजेसम्म काम गर्दै आएका थिए ।

मन्त्रिपरिषद्बाट गत वैशाख २६ मा स्वीकृत सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्नेसम्बन्धी नीतिगत मार्गदर्शन, २०७५ ले साउन १ गतेबाट लागू हुने गरी प्रोत्साहन भत्ता कटौती गरेको थियो । उक्त मार्गदर्शनको २४ नं बुँदामा सरकारी निकायमा लागू गरिएको कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणालीलाई वस्तुगत आधारमा सेवा प्रवाहसँग आबद्ध गर्ने गरी पुनरवलोकन गर्ने उल्लेख छ । पुनरवलोकनपश्चात् यो प्रणालीलाई सोहीअनुरूप लागू गर्ने गरी हाल उपलब्ध गराउँदै आएको प्रोत्साहन भत्ता साउन १ गतेदेखि खारेज गरिएको हो । यस्तै सार्वजनिक निकायका पदाधिकारीले कार्यालय समयमा हुने कुनै पनि सार्वजनिक निकायको बैठक वा कार्यक्रममा प्रतिनिधित्व गर्दा बैठक भत्ता वा अन्य कुनै सुविधा लिन नहुनेसमेत मार्गदर्शनमा उल्लेख छ ।

बजेटले समेत प्रोत्साहन भत्तालाई नसमेटेपछि कर्मचारीले अतिरिक्त समय काम नगर्ने भएका हुन्, जसकारण न्याय सेवाअन्तर्गतका सर्वोच्च अदालत, न्याय परिषद्, कानुन मन्त्रालय तथा अन्य कार्यपालिकी निकाय (न्यायतर्फ) र महान्यायाधिवक्ता कार्यालयअन्तर्गतका कार्यालयमा काम प्रभावित हुने देखिएको छ । सबैभन्दा ठूलो असर अदालतले खेप्नुपर्नेछ । अदालततर्फ मात्र मुख्य रजिस्ट्रारदेखि कार्यालय सहयोगीसम्म तीन हजार पाँच सय ४८ जना छन् । कानुन मन्त्रालयतर्फ सचिवदेखि सहायकसम्म दुई सय ४४ र महान्यायाधिवक्ताको कार्यालयअन्तर्गत नायव महान्यायाधिवक्तादेखि खरिदार र सहायक कर्मचारी गरी सात सय ६६ जनशक्ति छन् । न्याय सेवामा चार हजार पाँच सय २८ जनाको दरबन्दी छ । तर न्याय सेवामा अहिले पनि झन्डै पाँच सय दरबन्दी रिक्त छ ।

  1. कानुन र सरकारी वकिल समूह पनि प्रभावित
  2.  न्यायमा जटिलता आउने

यसै पनि जनशक्तिको चरम संकट झेलिरहेको अदालतमा अतिरिक्त समय काम नहुने भएपछि यसको प्रत्यक्ष असर न्यायसम्पादनमा पर्नेछ । अहिले मासिक ५० घण्टा काम गर्ने कर्मचारीलाई तलबको ५० प्रतिशत विशेष भत्ताको व्यवस्था थियो । सोहीअनुरूप घण्टाका हिसाबले थप भत्ता पाउने गरेका थिए । भ्रष्टाचारका मुद्दा हेर्ने विशेष अदालतमा कार्यबोझका आधारमा ७५ प्रतिशतसम्म विशेष भत्ताको व्यवस्था थियो ।

प्रोत्साहन भत्ता कटौतीले न्याय सेवामा काम प्रभावित हुने सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले बताए । ‘अहिले सर्वोच्चसहित मुलुकभरका अदालतमा मुद्दा संख्या बढेर झन्डै दुई लाख ५० हजारको संख्यामा पुगेको छ । अदालतमा दैनिक झन्डै दुई घण्टा अतिरिक्त समय काम गरेको अवस्था छ । प्रोत्साहन प्रणाली नहुँदा काम प्रभावित हुने अवस्था उत्पन्न भएको छ’, उनले भने ।

यतिबेला न्याय सेवामा कार्यबोझ बढी तर वृत्ति र नेतृत्व विकास न्यून भएका कारण भएको जनशक्तिलाई टिकाउनसमेत मुस्किल छ । न्याय सेवामा जनशक्तिको नियुक्ति पदस्थापनको सिफारिस न्याय सेवा आयोगबाट हुने भए पनि दरबन्दी संरचना निर्माण र सुविधाका सन्दर्भमा अर्थ र सामान्य प्रशासन मन्त्रालयको भूमिका रहन्छ । न्याय सेवामै विकर्षण भएका कारण अदालतमा मात्र तल्लो तहसम्म गरी झन्डै तीन सयको संख्यामा रिक्त रहेका दरबन्दी लामो समयदेखि पूर्ति हुन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.